विकास बजेट खर्च सुस्त

चालु आर्थिक वर्षको सात महिना पूरा भइसकेको छ । तर यो अवधिमा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन भने सन्तोषजनक देखिएको छैन । पहिलो अर्धवार्षिक समीक्षा पार गरिसक्दा पनि कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा प्रगति गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म १६.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो भनेको पाँच अर्ब ३२ करोड ४० लाख ५६ हजार बराबर हो । आर्थिक वर्षको आधा अवधि सकिदासम्म पनि बजेट खर्च निकै न्यून छ । यो वर्षका लागि सरकारले कूल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट विनियोजन गरेको छ । तर खर्च हुन नसक्दा सरकारसँग अझै २७ अर्ब ६७ करोड बराबर बजेट मौज्दात छ ।

सरकारले अर्धवार्षिक समीक्षा अवधि अर्थात् पुस मसान्तसम्म चार अर्ब ५३ करोड ३४ लाख ३३ हजार रूपैयाँ अर्थात् कुल बजेटको १३.७४ प्रतिशत खर्च गरेको थियो । माघ महिनाभर जम्मा २.४ प्रतिशत खर्च बढाएको छ । कर्णालीमा यो वर्ष विकास (पुँजीगत) बजेट कार्यान्वयनको गति अझ दयनीय छ । सात महिनासम्म कुल पुँजीगत बजेटको ९.४४ प्रतिशत अर्थात् एक अर्ब ८८ करोडमात्रै कार्यान्वयनमा आएको छ, जुन विगत दुई आर्थिक वर्ष यताकै कमजोर हो । पुस मसान्त अर्थात् अर्धवार्षिक समीक्षा अवधिससम्म ७.९० प्रतिशत अर्थात् एक अर्ब ५७ करोड बजेट कार्यान्वयन गरेको सरकारले माघ महिनाभर जम्मा १.४४ प्रतिशत अर्थात् ३१ करोडमात्रै कार्यान्वयन गर्न सकेको छ । चालु आर्थिक वर्ष विकास अर्थात् पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख बजेट विनियोजन गरिएको छ । सात महिनासम्म दुई अर्ब पनि विकास बजेट कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी मात्रै होइन, विकास बजेट कार्यान्वयनप्रतिको लापरबाही पनि हो ।

यही अवधिमा चालु खर्च भने बढेर २७.२४ प्रतिशत पुगेको छ । तीन अर्ब २९ करोड चालु खर्च भएको छ । पुस मसान्तसम्म २३ प्रतिशत प्रशासनिक खर्च रहेकोमा माघ महिनाभर बढेर २७ प्रतिशतमा पुगेको हो । यसले पनि पुँजीगत बजेट कार्यान्वयमा सरकारको ध्यान नपुगेको देखाउँछ । हुन त बजेट कार्यान्वयनको अवस्था विगतका वर्षभन्दा पनि कमजोर नै रहँदै आएको छ । हरेक वर्ष सरकारले विभिन्न बहाना देखाउने गरेको छ । तर बजेट कार्यान्वयनको गति बढाउन कुनै नीतिगत निर्णय र योजना र कार्यक्रम बनाउन सकेको छैन । यसले बजेट प्रदेशको विकास बजेट कार्यान्वयन निकै कमजोर हुने गरेको छ । यसमा सुधार गर्नका लागि ध्यान दिनु जरुरी भइसकेको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०८२, मंगलवार ११:३९