ग्यास उत्पादनको सम्भावना

चीनको जिओलोजिकल सर्वे कम्पनीले चार हजार मिटरभन्दा बढी गहिराइमा ड्रिलिङ गरेर दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा प्राकृतिक ग्यास रहेको पत्ता लगायो । प्रारम्भिक अध्ययनले एउटै भण्डारणमा एक खर्ब १२ अर्ब घनमिटर (११२ क्युबिक किलोमिटर) प्राकृतिक ग्यास रहेको बताइएको थियो । यो परिमाण करिब ३९ लाख ५५ हजार मिलियन क्युबिक फिट बराबर हो । यद्यपि, ग्यासको भण्डारण यसअघि पूर्वानुमान गरिएको भन्दा कम रहेको पाइएको छ । थप परीक्षणले प्रारम्भिक आकलनभन्दा केही कम मात्रामा खनिज ग्यास रहेको पाइएको हो । अध्ययन टोलीले ८० अर्ब ७० करोड घनमिटर मात्रै ग्यास रहेको जानकारी नेपालको खानी तथा भूगर्भ विभागलाई गराएको छ ।

अर्कोतिर फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनमा समेत सरकारले विलम्ब गरेको छ । तदारुकता देखाएको छैन । उत्पादन प्रक्रिया अघि बढाएको छैन । विभागका अनुसार अन्वेषणकै दोस्रो चरणअन्तर्गत राखिएको ‘वेल टेस्टिङ’ भनिने ‘परीक्षण उत्पादन’ पछि मात्रै उक्त ग्यासमध्ये कति परिमाण व्यावसायिक रूपमा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ । वेल टेस्टिङबाट मात्रै यसको यसको व्यावसायिक उत्पादनको सम्भावनाबारे थाहा हुन्छ, त्यो चरणमा अझै पुगिसकेको अवस्था छैन । जसले गर्दा व्यावसायिक उत्पादनको थप प्रक्रिया अघि बढेको छैन । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार ‘वेल टेस्टिङ’ वा ‘परीक्षण उत्पादन’ बाट मात्रै त्यहाँको भण्डारणबाट निकाल्न सकिने ग्यासको मात्राबारे आकलन गर्न सकिन्छ । उत्पादन परीक्षणमा यसअघि ड्रिल गरिएका ठाउँमा अन्य उपकरण छिराएर चट्टानलाई फुटाउनुपर्ने हो कि अथवा त्यहाँ भएको प्राकृतिक ग्यासलाई केही चिजले विस्थापित गर्नुपर्ने हो भन्ने लगायतका भण्डारको वास्तविक विशेषता कस्तो छ भनेर परीक्षण गरिन्छ ।

चट्टानयुक्त भूगर्भमा रहेका कारण उक्त स्थानमा रहेको भण्डारणमध्ये १५ देखि २० प्रतिशतसम्म मात्रै ग्यास व्यावसायिक प्रयोजनका लागि उत्खनन् गरेर प्रशोधन गर्न सकिने विभागका विज्ञहरूले बताएका छन् । विदेशी अभ्यासहरू हेर्दा २०–२२ प्रतिशतसम्म निकालिएको छ । कडा चट्टानभित्र भएको फरक खालको ग्यास भएका कारण सबै निकाल्न सकिँदैन । भण्डारबाट चट्टान फुटाएर निकाल्नुपर्ने भएकोले एउटै प्रविधिले काम गर्दैन, विभिन्न प्रविधि प्रयोग गर्नुपर्छ । यसले पनि थप अलमल सिर्जना गरेको छ । नेपालमा भेटिएको ग्यास साउदी अरबजस्ता देशमा उत्पादन हुने प्रशोधित ग्यास नभइ फरक किसिमको ग्यास हो । स्रोत फेला परेपनि त्यसको उत्पादन कार्य अघि बढ्न सकेको छैन । परीक्षण तथा उत्पादनका लागि कुनै पनि काम अघि बढेको छैन । फेला परेको महङ्खवपूर्ण स्रोतको उपयोगका लागि सरकारले ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   ३ फाल्गुन २०८२, आईतवार १०:१५