उम्मेदवारका ५ एजेन्डा
नेपाली कांग्रेसका नेता नारायण कुमार कोइराला पहिलो पटक संसदीय निर्वाचन लड्दैछन् । प्रदेश राजधानी वीरेन्द्रनगरसहित पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिका समेटिने सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट उनी उम्मेदवार बनेका छन् ।
अघिल्लो पटक कांग्रेसले जितेको यो क्षेत्रमा पार्टीको विजयी विरासत जोगाउने र आफूलाई पहिलो पटक जनअनुमोदन गराउने योजनासहित उनी अहिले मतदातामाझ पुगिरहेका छन् । मतदाताको मत माग्न व्यस्त कोइरालालाई ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित रहेर उनका योजना, एजेन्डा र प्राथमिकता के छन् भनेर सोधेका छौँ । प्रस्तुत छ, कोइरालाको जवाफ जस्ताको त्यस्तैः

पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?
पहिलो कुरा त पश्चिम सुर्खेतको सडक पूर्वाधारको अवस्थालाई सुधार गर्छु । चार वटा स्थानीय तहलाई जोड्ने सडक निर्माणको खाका बनाएको छु । अहिले पनि एउटादेखि अर्को पालिकामा पुग्न सहज रूपमा सडक पूर्वाधार बनिसकेको छैन । सडक पुगे न अरु विकास पुग्ने हो, त्यसैले सडक पूर्वाधार प्राथमिकतामा राखेको छु ।
त्यसैगरी दुई वटा विद्युत सव–स्टेशन निर्माणको काम सम्पन्न गर्नेछु । रानीघाटको पुल निर्माणको कामलाई अघि बढाउने तथा सम्पन्न गर्ने, वीरेन्द्रनगर चक्रपथ निर्माण सम्पन्न गर्ने योजना बनाएको छु । प्रत्येक पालिकामा एक–एक वटा खेल मैदान निर्माण गर्ने, पश्चिम सुर्खेतका ग्रामीण भेगका जनताको सहज आवतजावतका निम्ती झोलुङ्गे पुल निर्माण गर्ने, सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेको छु । अहिले यी योजनाहरू जनतामाझ बुझाउन लागिपरेको छु ।
वीरेन्द्रनगरको दक्षिण भेगमा रहेको डुबानको समस्या समाधान गर्ने, भेरी करिडोर निर्माणको कामलाई निरन्ता दिने, देउती बज्यै मन्दिरदेखि त्रिवेणीधामसम्म पुग्ने पर्यटकीय सडक पूर्वाधार निर्माण गर्ने योजना छ । वीरेन्द्रनगरको गढीदेखि बराहताल, पञ्चपुरी, चौकुनेको सेती–कर्णाली दोभान, बेनीघाट जोड्ने सडक निर्माण योजनालाई प्राथमिकतामा राख्दै सोही योजना अनुरूप नै काम गर्नेछु । वीरेन्द्रनगरका भित्री सडक व्यवस्थित गर्ने योजना निर्माण गरेको छु । स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र विद्युतीय पूर्वाधार निर्माणमा विशेष जोड दिएर काम गर्नेछु ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?
विशेष गरेर सार्वजनिक शिक्षा सुधारमा मेरो जोडबल छ । सामुदायिक विद्यालयमा खस्कदो शैक्षिक गुणस्तरले निजी विद्यालय फस्टाएको देखिन्छ । गुणस्तरीय शिक्षा सुधारका लागि दरबन्दी अनुरूपका शिक्षकको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमुना विद्यालयको अवधारणालाई कार्यान्वयनमा लैजाने योजना बनाएको छु । प्राथमिक तहको शिक्षामा पोषण सवलीकरणका लागि आवश्यक नीति तय गर्ने, बालबालिकाको सिकाइ वृद्धिका लागि अतिरिक्त सिकाइ योजनालाई प्रभावकारी बनाउने योजना मैले निर्माण गरेको छु । डिजिटल शिक्षामा जोड दिने, भइरहेको शिक्षालाई सबैको पहुँचयुक्त बनाउने योजना निर्माण गर्नेगरी खाका निर्माण गरेको छु ।
प्रदेश अस्पताल सुर्खेतलाई ट्रमा सेन्टरको रूपमा विकास तथा विस्तार गर्ने, ‘रेफरल केन्द्र’ को रूपमा विकास गर्ने योजना छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य सेवा केन्द्रलाई थप व्यवस्थित र नागरिकको पहुँचयुक्त बनाउने योजना बुनेको छु । सोही अनुरूपको दरबन्दी कायम गर्नुपर्नेछ । दूरचिकित्सा सेवालाई अझै भरपर्दो बनाउन मोबाइल स्वास्थ्य सेवामार्फत विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाएको छु । कुपोषण न्यूनीकरण, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने योजनामा ध्यान दिएर काम गर्नेछु । पोषणका योजनालाई नीतिगत रूपमै व्यवस्थित र प्रभावकारी बनाउन मेरो जोड रहेनछ ।
रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?
कृषि र जडिबुटीमार्फत नागरिकलाई रोजगारी सिर्जना गर्ने योजना छ । पश्चिम सुर्खेतमा कृषि क्षेत्रबाट धेरै आम्दानी गर्न सकिने सम्भावनालई ध्यानमा राख्दै सोही अनुरूपको योजना अघि बढाउँछु । खानेपानीको अभाव र आवश्यक कृषि उपकरण नहुँदा खेती हुन सकिरहेको छैन । मैले प्रविधिमैत्री कृषिमार्फत रोजगारी सिर्जना गर्नेगरी योजना बनाएको छु । जसबाट साना कृषक पनि लाभान्वित हुनेछन् भने बाँझो जमिनको पनि उपयोग हुनेछ । उद्योग स्थापना गरेर जडिबुटी प्रशोधन गर्ने तथा स्थानीयस्तरमै रोजगारी दिनेगरी उद्यमशीलताका योजनालाई अघि बढाउनुपर्नेछ ।
सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?
भष्ट्राचार अन्त्यका लागि शून्य सहनशीलताको नीति अबलम्वन गर्नु अपरिहार्य छ । मेरो जोड पनि त्यसैमा रहन्छ । सुशासन कायम गरेर मात्र सरकारी सेवा प्रवाहका काम प्रभावकारी हुने भएकाले नीतिगत सुधारमा जोड दिन्छु । कागजी कामलाई कम गर्ने तथा पेपर लेस बनाउने, नागरिक खबरदारीलाई ध्यानमा राखेर काम गर्नेछु । सुशासन कायम हुन नसक्दा देशमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नीतिगत रूपमा हुने भष्ट्राचार न्यनीकरणमा मैले विशेष ध्यान दिनेछु ।
आम नागरिकको जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?
राज्यका नीतिबारे नागरिकलाई विश्वास दिलाउने गरी योजना निर्माण गर्ने योजना छ । नागरिक स्वतन्त्रतालाई कायम राखेर मात्र राज्यका संरचनागत काम अघि बढाउने काम गर्नुपर्छ । नागरिकको जीवनस्तर सुधारका लागि राज्यले अनुभूति हुनेखालका काम गर्नुपर्छ । जो नागरिकले चाहेका छन् ।
प्रकाशित मितिः ३ फाल्गुन २०८२, आईतवार १०:१४
साझा बिसौनी ।