विरासत जोगाउने चुनौती
यसअघि प्रतिनिधिसभा सदस्यका लागि भएका दुईवटै निर्वाचनको नतिजा गठबन्धनमा निर्भर रहे । २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस नतिजाविहीन भएको थियो । २०७९ मा भने माओवादीसहितका दलहरूसँग गठबन्धन गरेर कांग्रेसले कर्णालीका चार सिट हात पा¥यो, यो चुनावमा एमाले नतिजाविहीन भयो । फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ । अघिल्ला निर्वाचनहरूको नतिजाका आधारमा कर्णाली प्रदेशमा कांग्रेससहित एमाले र माओवादी (अहिलेको नेपाली कम्युनिष्ट पार्टी) मुख्य प्रतिस्पर्धी दल हुन् ।
२०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा कांग्रेस दोस्रो ठूला दल हो । पहिलो स्थानमा रहेको एमालेभन्दा केही हजार मतले मात्रै कांग्रेस पछि परेको थियो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो । माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी)को २५ हजार पाँच सय ५५ मत थियो । समाजवादी अहिले माओवादीसँग एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यसपटक दलहरू एक्ला–एक्लै चुनाव लड्दा कांग्रेसलाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ । उक्त चुनावमा सुर्खेतको दुईवटै क्षेत्र कांग्रेसले जितेको थियो । क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट हृदयराम थानी निर्वाचित भएका थिए । तर यसपटक उनीहरू दुवैजना उम्मेदवार छैनन् । नयाँ उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएको कांग्रेसका लागि विगतको विजयी विरासत जोगाउनुपर्ने चुनौती देखिएको हो ।
यसैगरी अघिल्लो पटक कांग्रेसले दैलेखको निर्वाचनमा क्षेत्र नं. २ पनि जितेको थियो । यो क्षेत्रबाट कांग्रेसका दिक्पाल शाही विजयी भएका थिए । कांग्रेसले कर्णालीबाट जित निकाल्ने क्षेत्रको रूपमा दैलेखका दुवै क्षेत्रलाई समावेश गरेको छ । तथापी अघिल्लो चुनावको समानुपातिक मत हेर्दा दैलेखका दुवै क्षेत्रमा एमाले पहिलो दल हो । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका थिए । गत चुनावमा मुगुबाट कांग्रेसले आठ हजार चार सय ४० समानुपातिक मत पाएको थियो । एमालेले कांग्रेसको भन्दा धेरै आठ हजार ६ सय ४३ मत पाएको थियो । अघिल्लो पटक जितेका चारवटै क्षेत्रको नतिजा दोहो¥याउनुपर्ने चुनौतीकाबीच अन्य क्षेत्रमा पनि आफ्नो अनुकूल नतिजा ल्याउने ध्याउन्नमा कांग्रेस छ । एमाले र नेपाली कम्युनिष्ट पार्टीजस्ता पुराना प्रतिस्पर्धीका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी पनि बलियो शक्ति बनेर उदाएको छ । त्यसैले यसपटकको चुनावी प्रतिस्पर्धा थप रोचक हुन सक्ने आँकलन भइरहेको छ ।
प्रकाशित मितिः १ फाल्गुन २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।