पूर्वानुमानभन्दा कम ग्यास रहेको पुष्टि
सुर्खेत: दैलेखमा ग्यासको भण्डारण यसअघि पूर्वानुमान गरिएको भन्दा कम रहेको पाइएको छ । चीनको चाइना जिअलजिकल सर्भेले गरेको प्रारम्भिक अन्वेषणमा भैरवी गाउँपालिकास्थित जलजलेमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको थियो । तर प्रारम्भिक प्रतिवेदनमा उक्त स्थानमा एक अर्ब १२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण भएको हुन सक्ने उल्लेख थियो । तर थप परीक्षणले प्रारम्भिक आकलनभन्दा केही कम मात्रामा खनिज ग्यास रहेको पाइएको हो । अध्ययन टोलीले ८० अर्ब ७० करोड घनमिटर मात्रै ग्यास रहेको जानकारी नेपालको खानी तथा भूगर्भ विभागलाई गराएको छ ।
विभागका अनुसार अन्वेषणकै दोस्रो चरणअन्तर्गत राखिएको ‘वेल टेस्टिङ’ भनिने ‘परीक्षण उत्पादन’ पछि मात्रै उक्त ग्यासमध्ये कति परिमाण व्यावसायिक रूपमा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ । ‘वेल टेस्टिङबाट मात्रै यसको यसको व्यावसायिक उत्पादनको सम्भावनाबारे थाहा हुन्छ, हामी त्यो चरणमा अझै पुगिसकेका छैनौँ’ खानी तथा भूगर्भ विभागस्थित पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले भने ।
पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार ‘वेल टेस्टिङ’ वा ‘परीक्षण उत्पादन’ बाट मात्रै त्यहाँको भण्डारणबाट निकाल्न सकिने ग्यासको मात्राबारे आकलन गर्न सकिन्छ । ‘उत्पादन परीक्षणमा यसअघि ड्रिल गरिएका ठाउँमा अन्य उपकरण छिराएर चट्टानलाई फुटाउनुपर्ने हो कि अथवा त्यहाँ भएको प्राकृतिक ग्यासलाई केही चिजले विस्थापित गर्नुपर्ने हो भन्ने लगायतका भण्डारको वास्तविक विशेषता कस्तो छ भनेर परीक्षण गरिन्छ’ उनी भन्छन् ।
चट्टानयुक्त भूगर्भमा रहेका कारण उक्त स्थानमा रहेको भण्डारणमध्ये १५ देखि २० प्रतिशतसम्म मात्रै ग्यास व्यावसायिक प्रयोजनका लागि उत्खनन् गरेर प्रशोधन गर्न सकिने विभागका विज्ञहरूले बताएका छन् । ‘विदेशी अभ्यासहरू हेर्दा २०–२२ प्रतिशतसम्म निकालिएको छ । कडा चट्टानभित्र भएको फरक खालको ग्यास भएका कारण सबै निकाल्न सकिँदैन,’ विभागका एक प्रतिनिधिले भने, ‘भण्डारबाट चट्टान फुटाएर निकाल्नुपर्ने भएकोले एउटै प्रविधिले काम गर्दैन, विभिन्न प्रविधि प्रयोग गर्नुपर्छ ।’
विभागका अधिकारीहरूका अनुसार नेपालमा भेटिएको ग्यास साउदी अरबजस्ता देशमा उत्पादन हुने प्रशोधित ग्यास नभइ फरक किसिमको ग्यास हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जलजलेमा ‘ड्रिलिङ’ सहितका अन्वेषण कार्य सञ्चालन गरिएको थियो । नेपालको खानी विभाग र ‘चिनियाँ जिअलजिकल सर्भे, छेन्दु केन्द्र’ बीच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति ‘सिबु ड्रिलिङ इन्जिनियरिङ’ नामक चिनियाँ कम्पनीलाई खटाइएको थियो ।
प्रकाशित मितिः १ फाल्गुन २०८२, शुक्रबार ०५:०१
साझा बिसौनी ।