चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो ।

शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो ।

वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो ।

यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए । तर, मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय लिए ।

पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का व्यहोर्‍यो । उसका भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाए र टिम १० खेलाडीमा समेटियो ।

१० खेलाडीमा सिमित भएर पनि ७६ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरे । तर, तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र आर्सनलले उपाधि उचालेको छ । आर्सनलको यो एफए कपको १३ औं उपाधि हो भने वेङ्गरको कीर्तिमानी सातौं उपाधि समेत हो ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७४, आईतवार १०:५७