बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेनन् । ३३ औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काए ।

४५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । पहिलो हाफ सकिनु अघि नै पाको अलासरले गोल गरेपछि बार्सिलोना ३-१ ले अगाडि रहृयो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना ३-१ को जितसँगै उपाधिमा हृयाट्रिक गरेको छ ।

यो सिजन बार्सिलोनाका लागि निराशाजनक रहृयो । दोस्रो स्थानमा रहँदै ला लिगाको उपाधि रियल मड्रिडलाई सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो ।

तर, कोपा डेल रेको उपाधि जित्दै केही राहत पाएको छ ।

बार्सिलोनाले प्रशिक्षकले इनरिकेको पनि सुखद विदाइ गरेको छ । उनी ३ वर्ष बार्सिलोनाको प्रशिक्षक रहे । उनले डेब्यू सिजनमा नै बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७४, आईतवार १०:५४