बाचा पूरा गर
प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले मतदातामाझ गर्ने प्रतिबद्धता कार्यकारी नेतृत्वले गर्ने बाचाजस्ता हुने गरेका छन् । जसले गर्दा निर्वाचित प्रतिनिधिले आफ्नो कार्यकालमा ति सबै प्रतिबद्धता पूरा गर्न सक्दैनन् । अर्को निर्वाचनमा मतदाताहरू रुष्ट बनिसकेका हुन्छन् । यद्यपि, उम्मेदवारहरू चुनाव जित्नका लागि यस्तो महत्वाकांक्षी बाचा गर्न भने छोड्दैनन् । यो प्रवृत्तिले एकातर्फ मतदाताहरूलाई निराश बनाउने गरेको छ भने अर्कोतर्फ राजनीतिक दल र नेताहरूप्रतिको आम जनविश्वास पनि कमजोर बन्दै गएको छ । कुनै पनि तहका जनप्रतिनिधि नागरिकप्रति उत्तरदायि हुनुपर्दछ । चुनावी बाचालाई मतदाता रिझाउन उपयोग गर्ने मात्रै होइन त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारी पनि पूरा गर्नुपर्दछ । आफ्ना बाचा पूरा नगर्ने नेतृत्वकै कारण राजनीतिप्रतिको वितृष्णा र असन्तुष्टि चुलिदै गएको छ ।
आउने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनका लागि पनि राजनीतिक दल र उम्मेदवारहरू चुनावी गतिविधिमा सक्रिय भइसकेका छन् । मतदाता रिझाउन आफ्नो योजना र प्रतिबद्धता सुनाइरहेका छन् । यतिबेला उम्मेदवारहरू के कुरामा सचेत हुन जरुरी छ भने नागरिकसामू उनीहरूका अत्यावश्यक कुराहरूको सम्बोधनलाई एजेन्डा बनाउनुपर्दछ र निर्वाचित जनप्रतिनिधिले त्यसलाई पूरा गराउने सुनिश्चितता मतदाताले पनि खोज्नुपर्दछ । नागरिकहरू आधारभूत कुराहरूबाटै वञ्चित भइरहँदा उम्मेदवारहरूले महत्वाकांक्षी योजनाहरूको आश्वासन बाड्नु उपयुक्त होइन । जस्तो कि वीरेन्द्रनगर–४ मित्रनगर टोलका नागरिकले जग्गाधनी पुर्जा दिनेलाई मात्र मत दिने बताएका छन् । बस्तीका करिब ७७ घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका हुन् । पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा मत माग्न आउने उम्मेदारहरूसँग लालपुर्जाको माग गरेका हुन् । २०४३ सालमा पाएको सेतोपुर्जा मात्र उनीहरूको हातमा छ । आफूहरूले पुस्तादेखि बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा छैन । त्यसैले उनीहरूका लागि स्थायी बसोबासको सुनिश्चितता प्रमुख मुद्दा बनेको छ ।
लालपुर्जा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आवद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको छ । विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी स्वामित्व अभावकै कारण अवसरबाट वञ्चित हुँदै आएका छन् । प्रत्येकजसो चुनावमा पुर्जा दिन्छौँ भनेर बाँचा गरेका नेताले झुटो आश्वासन मात्र दिएको अनुभव उनीहरूसँग छ । राजनीतक दलका झुटा आश्वासनले यो बस्तीका नागरिक आक्रोशित बनेका हुन् । यो पटक मत माग्न आउने जो कोहीलाई उनीहरूले प्रश्न नै प्रश्न गर्ने गरेका छन् ।
प्रकाशित मितिः २८ माघ २०८२, बुधबार ०९:५०
सम्पादकीय ।