जोगिएला कांग्रेसको विरासत ?

 

सुर्खेत: २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा माओवादीसहितका दलहरूसँग गठबन्धन गरेर चार सिट हात पा¥यो । फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ ।

अघिल्ला निर्वाचनहरूको नतिजाका आधारमा कर्णाली प्रदेशमा कांग्रेससहित एमाले र माओवादी (अहिलेको नेपाली कम्युनिष्ट पार्टी) मुख्य प्रतिस्पर्धी दल हुन् । अघिल्ला दुवै निर्वाचनको नतिजा गठबन्धनमा निर्भर रह्यो । यसपटक तीनवटै दल अलग–अलग चुनाव लड्दैछन् । त्यसैले पनि कर्णालीमा दलहरूको शक्ति परीक्षण हुने भएको छ ।

२०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा कांग्रेस दोस्रो ठूला दल हो । पहिलो स्थानमा रहेको एमालेभन्दा केही हजार मतले मात्रै कांग्रेसपछि परेको थियो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो । माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार पाँच सय ५५ मत थियो । समाजवादी अहिले माओवादीसँग एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

यसपटक दलहरू एक्ला–एक्लै चुनाव लड्दा कांग्रेसलाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ । उक्त चुनावमा सुर्खेतको दुईवटै क्षेत्र कांग्रेसले जितेको थियो । क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट हृदयराम थानी निर्वाचित भएका थिए । तर यसपटक उनीहरू दुवैजना उम्मेदवार छैनन् । नयाँ उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएको कांग्रेसका लागि विगतको विजयी विरासत जोगाउनुपर्ने चुनौती देखिएको हो । एमाले र नेपाली कम्युनिष्ट पार्टीजस्ता पुराना प्रतिस्पर्धीका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी पनि बलियो शक्ति बनेर उदाएको छ । त्यसैले सुर्खेतमा यसपटकको चुनावी प्रतिस्पर्धा थप रोचक हुन सक्ने आंकलन भइरहेको छ । यद्यपि, कांग्रेसले भने सुर्खेतका दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ । क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्काकै सहोदर भाइ विष्णु खड्का र क्षेत्र नं. २ बाट नारायण कोइरालालाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनीहरू दुवैजना पहिलो पटक संसदीय चुनाव लड्दैछन् ।

गत चुनावमा क्षेत्र नं. १ बाट कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा धेरै ३३ हजार ६ सय आठ मत पाएको थियो । यो दोस्रो स्थानमा रहेको एमालेको भन्दा तीन हजार नौ सय २१ ले बढी हो । यसअघि कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार भइसकेका टेकबहादुर सिंह अहिले रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । जसले कांग्रेसलाई क्षति हुन सक्ने आंकलन पनि गरिएको छ । सुर्खेतको क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ कांग्रेसले जिते पनि समानुपातिक मतमा एमाले अगाडि छ । अघिल्लो पटक एमालेले २५ हजार ८६ मत पाउँदा कांग्रेसले २३ हजार १० मत पाएको थियो ।

यसैगरी अघिल्लो पटक कांग्रेसले दैलेखको निर्वाचनमा क्षेत्र नं. २ पनि जितेको थियो । यो क्षेत्रबाट कांग्रेसका दिक्पाल शाही २० हजार एक सय ८३ मतका साथ विजयी भएका थिए । कांग्रेसले आगामी चुनावका लागि पनि शाहीलाई नै उम्मेदवार बनाएको छ । क्षेत्र नं. १ बाट बासना थापा उम्मेदवार छिन् । कांग्रेसले कर्णालीबाट जित निकाल्ने क्षेत्रको रूपमा दैलेखका दुवै क्षेत्रलाई समावेश गरेको छ । तथापी अघिल्लो चुनावको समानुपातिक मत हेर्दा दैलेखका दुवै क्षेत्रमा एमाले पहिलो दल हो ।

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार सात सय ६ मत पाएर निर्वाचित भएका थिए । उनको स्थानमा यसपटक खड्ग शाहीलाई उम्मेदवार बनाइएको छ । गत चुनावमा मुगुबाट कांग्रेसले आठ हजार चार सय ४० समानुपातिक मत पाएको थियो । एमालेले कांग्रेसको भन्दा धेरै आठ हजार ६ सय ४३ मत पाएको थियो ।

अघिल्लो पटक जितेका चारवटै क्षेत्रको नतिजा दोहो¥याउनुपर्ने चुनौतीकाबीच अन्य क्षेत्रमा पनि आफ्नो अनुकूल नतिजा ल्याउने ध्याउन्नमा कांग्रेस छ । कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका लागि १२ वटा निर्वाचन क्षेत्र छन् । कांग्रेसले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ । १२ सिटका लागि एक सय ३१ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

विगतका चुनावी नतिजालाई हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) कर्णालीका तीन प्रमुख राजनीतिक शक्ति हुन् । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । नयाँ राजनीतिक दलहरू उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि कर्णालीमा उम्मेदवारी दिएका छन् । यसले कर्णाली प्रदेशको चुनावी माहोल थप रोचक बनेको छ ।

पछिल्लो पटक २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र तत्कालिन माओवादीले समान चार/चार सिटमा जित हात पार्दा तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको थियो । त्यतिबेला यि तीन दलले गठबन्धन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको थियो । एमाले भने नतिजाशून्य हुन पुगेको थियो ।

प्रकाशित मितिः   २९ माघ २०८२, बिहीबार ०५:०५