‘लालपुर्जा दिनेलाई भोट’
सुर्खेत: वीरेन्द्रनगर–४ मित्रनगर टोलका नागरिकले जग्गाधनी पुर्जा दिनेलाई मात्र मत दिने बताएका छन् । बस्तीका करिब ७७ घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका हुन् । पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा मत माग्न आउने उम्मेदारहरूसँग लालपुर्जाको माग गरेका हुन् ।
अहिले २०४३ सालमा पाएको सेतोपुर्जा मात्र उनीहरूको हातमा छ । आफुहरूले पुस्तादेखि बसोबास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको बस्तीका दलबहादुर विश्वकर्माले बताए । २०४३ सालमा उनले सेतो पुर्जा पाएका हुन् । रातो पुर्जा पाउने आशैआशमा ३९ वर्ष पुगेको उनले सुनाए । प्रत्येक जसो चुनावमा पुर्जा दिन्छौँ भनेर बाँचा गरेका नेताले झुटो आश्वासन मात्र दिएकाले यो पटक पुर्जा दिनेलाई मात्र मत दिने योजना बनाइएको उनले बताए । ‘न त भूमिहीनको सूचीमा समावेश हुन सकेका छाँै, न त जग्गाधनीको अधिकार पाएका नै छौँ’ उनले भने, ‘पटक–पटक सरकारी कार्यालय धायौँ तर समस्या समाधान भएन, अब आश्वासनले पेट भरिँदैन, जसले लालपुर्जा दिन्छ उसैलाई फागुन २१ मा मत दिन्छौँ ।’
लालपुर्जा नहुँदा बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आवद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको बस्तीकी टिकादेवि विकले बताइन् । उनले भनिन्, ‘कपाल सेतो भइसक्यो, आशैआशमा दिन बिते, तर हातमा जग्गाधनी पुर्जा छैन, स–सानो काम गर्न पनि सकिएको छैन ।’ विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी स्वामित्व अभावकै कारण अवसरबाट वञ्चित हुँदै आएका छन् । राजनीतक दलका झुटा आश्वासनले यो बस्तीका नागरिक आक्रोशित बनेका हुन् । यो पटक मत माग्न आउने जो कोहीलाई उनीहरूले प्रश्न नै प्रश्न गर्ने गरेका छन् ।
कर्णाली प्रदेशको राजधानीभित्रकै बासिन्दाले वर्षाैंदेखि समस्या झेलिरहेका छन् । मित्रनगरका बासिन्दाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उनीहरूले अब नाराभन्दा काम महŒवपूर्ण भएकाले लालपुर्जा सुनिश्चित गर्ने स्पष्ट योजना र प्रतिवद्धता प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय सामूहिक रूपमा गरिएको स्थानीय धनबहादुर दमाइले बताए ।
सरकारले विभिन्न समयमा भूमिहीन दलित तथा सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन गरे पनि ती आयोगहरूले सक्रिय भएर कामहरू गर्न नसक्दा समस्या भएको छ । वीरेन्द्रनगर–४ मा भूमिहीनहरूको एउटा बस्ती छ । मित्रनगर टोल भनेर चिनिने यो बस्तीमा करिब ७७ घरधुरी छन् । त्यसमध्ये ९५ प्रतिशत दलित समुदायको बसोबास छ । प्रदेश आयुर्वेद औषधालयको उत्तर–पूर्वमा रहेको मित्रनगरमा रातदिन लालपुर्जाकै पिरलो छ । वर्षाैंदेखि घरबास बनाएर बसेका बासिन्दासँग जमिनको स्वामित्व छैन । प्रदेश राजधानीकै बस्ती भएपनि यहाँ पुग्दा जोकोहीलाई कतै विकट गाउँमा पुगेको अनुभूति हुन्छ । हरेक चुनावमा राजनीतिक दल र तीनका उम्मेदवारले लगाउने ‘लालपुर्जा वितरण’ को नाराले मित्रनगरमा आश पलाउँछ । चुनाव सकिएसँगै मित्रनगरको मुख्य समस्या लालपुर्जाको मुद्दा सेलाउँछ । हरेक चुनावमा यही अवस्था भोग्दै आएको मित्रनगर यसपालि पनि आशमा छ । तर यो पटक लालपुर्जा दिने योजना बनाएका उम्मेदवारलाई मात्र मत दिने बस्तीका नागरिकले बताएका छन् । गरिबी र अशिक्षाका कारण आश्वासन बाँडेर भोट प्रभावित पार्न सकिने देखेर नेताहरूले मित्रनगर बस्तीलाई ‘भोट बैंक’ का रूपमा मात्रै हेर्ने गरेको बस्तीका बाबुराम श्रेष्ठले बताए । ‘अहिले त साह्रै दिक्क लाग्छ, वर्षाैंदेखि नेताका एजेन्डा उही छन्,’ उनले भने, ‘न लालपुर्जा मिल्छ न त अरु केही सुविधा पाइन्छ, नेताहरूले यो बस्तीलाई प्रयोग गरिरहेका छन् ।’
प्रकाशित मितिः २७ माघ २०८२, मंगलवार ११:०७

रजनी याेगी ।