एमालेको पुनरागमन योजना
सुर्खेत: २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णालीका १२ सिटमध्ये ६ सिट नेकपा (एमाले)ले जितेको थियो । तर त्यसको ठीक पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फ कर्णालीबाट एमाले नतिजाशून्य भयो, कुनै सिट जित्न सकेन ।
फागुन २१ गते हुन लागेको निर्वाचनबाट एमाले २०७९ भुलेर २०७४ दोहो¥याउने दाउमा छ । एमालेले यो चुनावबाट कर्णालीका कम्तीमा पनि पाँच वटा निर्वाचन क्षोत्रमा जित सुनिश्चित गर्ने योजना बनाएको छ । एमाले केन्द्रिय सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पनि कम्तीमा पाँच सिट एमालेले सुरक्षित गर्ने बताएका छन् । एमालेको पक्षमा माहोल बन्दै गएकाले धेरै स्थानमा सहज जित निकाल्ने उनको दाबी छ ।
एमाले कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहितको प्रतिस्पर्धी शक्ति हो । गत चुनावमा तत्कालीन माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धनका कारण प्रत्यक्षतर्फ प्रतिनिधिसभामा शून्य भएको एमालेले समानुपातिकतर्फ भने पहिलो बनेको थियो । समानुपातिकमा एमालेले सबैभन्दा धेरै एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८० हजार नौ सय नौ र माओवादी केन्द्रले एक लाख ३५ हजार चार सय ९६ मत पाएका थिए । यो नतिजाले कर्णालीमा एमाले बलियो राजनीतिक शक्ति भएको देखाउँछ ।
त्यसमाथि आगामी चुनावका लागि ठूला दलहरूबीच गठबन्धन भएको छैन । त्यसैले आफ्नो बलियो सांगठनिक प्रभावलाई उपयोग गरेर एमालेले कर्णालीबाट तीन वर्षपछि पुनरागमन गर्ने लक्ष्य राखेको छ । एमाले नेताहरूका अनुसार विशेष गरेर सुर्खेत र दैलेखका दुई÷दुई वटै निर्वाचन क्षेत्रसहित पाँच ठाउँमा सहज जित हुने आँकलन गरेको छ ।
अघिल्लो पटक सुर्खेतबाट प्रतिनिधिसभाका दुवै सिट कांग्रेसले जितेको थियो । सुर्खेत कांग्रेसका दुई प्रभावशाली नेता पूर्णबहादुर खड्का र हृदयराम थानी यसपटक चुनावी मैदानमा छैनन् । जसको फाइदा उठाउने योजना एमालेको छ ।
सुर्खेत क्षेत्र नं. १ बाट कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले चुनावी मैदान छाड्दा एमालेले सहज महशुस गरेको देखिन्छ । उनको स्थानमा कांग्रेसबाट खड्काका आफ्नै भाइ विष्णु खड्का चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा निर्वाचित पूर्णबहादुरले ४२ हजार ६ सय सात मत पाएका थिए । एमालेका ध्रुव शाहीले ३० हजार नौ सय ८८ मत पाएका थिए । शाही यसपटक पनि उम्मेदवार छन् ।
यसैगरी सुर्खेत–२ मा चुनाव लड्दै आएका थानीको स्थानमा यसपटक कांग्रेसबाट नारायण कोइराला उम्मेदवार बनेका छन् । एमालेले जिल्ला कमिटी अध्यक्ष कुलमणि देवटालाई उठाएको छ । सुर्खेतका दुईवटै क्षेत्रमा सहज जित निकाल्ने दाबी एमालेको छ ।
कम्तीमा पाँच सिट सुरक्षित गर्ने दाउमा रहेको एमालेका लागि कर्णालीका थप पाँच जिल्ला भने कठिनाइ हुने देखिएको छ । २०६४ यता एमालेले जाजरकोट, रुकुमपश्चिम, कालीकोट, जुम्ला र हुम्लामा चुनाव जित्न सकेको छैन ।
जुम्लामा २०५६ सालमा एमालेका देवीलाल थापाले चुनाव जितेका थिए । त्यसयता एमालेले जित्न सकेको छैन । २६ वर्षअघिको नतिजा पुनरागमन गराउने लक्ष्यसहित एमालेले यसपटक शान्तिलाल महतलाई उम्मेदवार बनाएको छ । उनले २०७९ मा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीसहित नेकपाका नरेश भण्डारी, कांग्रेसका दिपबहादुर शाही र रास्वपाका विनिता कठायतसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
कर्णालीको हिमाली जिल्ला हुम्लामा पनि २०५६ सालमा एमालेका गोरख बोगटीले जितेका थिए । त्यसयता एमाले कमजोर बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि २०५६ को नतिजा पुनरागमन गराउने जिम्मेवारीसहित एमालेले दल फडेरालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपाबाट दीपेन्द्र रोकाया, कांग्रेसबाट जयपती रोकाया, रास्वपाबाट टासी ल्हान्जोमलगायतका उम्मेदवार छन् । यसैगरी जाजरकोट, कालीकोट, सल्यान र रुकुमपश्चिममा पनि एमाले कमजोर देखिएको छ ।
प्रकाशित मितिः २६ माघ २०८२, सोमबार ११:००

रजनी याेगी ।