चुनावी माहोल
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन अब एक महिनाभन्दा पनि कम समय मात्रै बाँकी छ । मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल थप रोचक बनिरहेको छ । उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । त्यसो निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी प्रचारका लागि फागुन ४ गतेदेखि मात्रै समय तोकेको छ । यद्यपि, ठूला आमसभा नगरे पनि उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्रता दिइसकेका छन् । यतिबेला हरेकजसो बस्ती र टोलहरूमा उम्मेदवारहरूले मतदाता भेट्न, आफ्नो योजना सुनाउने र मत माग्ने गतिविधि गरिरहेको देख्न सकिन्छ, जसले चुनावी माहोलमा रौनककता थपेको छ । कर्णाली प्रदेशमा पनि चुनावी गतिविधिले तीव्रता पाएका छन् । गाउँदेखि सहरसम्म चुनावकै चर्चा चल्न थालेका छन् ।
दश जिल्ला र १२ निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा यसपटक कसको पल्ला भारी होला ? निर्वाचनको नतिजालाई लिएर आम चासो देखिएको छ । १२ सिटमा एक सय ३१ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । विगतका चुनावी नतिजालाई हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) कर्णालीका तीन प्रमुख राजनीतिक शक्ति हुन् । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो पटक २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र तत्कालिन माओवादीले समान चार/चार सिटमा जित हात पार्दा तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको थियो । त्यतिबेला यि तीन दलले गठबन्धन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेका थियो । एमाले भने नतिजाशून्य हुन पुगेको थियो ।
आगामी निर्वाचनका लागि ठूला दलहरूबीच गठबन्धन छैन । त्यसैले पनि यसपटक कर्णालीमा सक्रिय राजनीतिक दलहरूको शक्ति परीक्षण हुने आँकलन गरिएको छ । ठूला दलहरूले नै गठबन्धन गर्दा चुनावी नतिजा उनीहरूकै अनुकूल हुने गरेको थियो । यसले दलहरूको आफ्नो एकल शक्ति वा जनविश्वास कति छ भनेर मूल्यांकन गर्न सकिने अवस्था थिएन । गठबन्धन नगरेर चुनाव लड्दा कुन दलप्रति जनताको विश्वास र भरोसा कति छ भनेर नतिजाले नै देखाउनेछ । त्यसैले पनि यसपटक उम्मेदवारहरू थप सक्रिय भएको देखिन्छ । नयाँ राजनीतिक दलहरू उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि कर्णालीमा उम्मेदवारी दिएका छन् । यसले कर्णाली प्रदेशको चुनावी माहोल थप रोचक बनेको छ ।
प्रकाशित मितिः २५ माघ २०८२, आईतवार ०५:०३
सम्पादकीय ।