कथा

रणनीति

‘अँ, भन त घनश्याम ।’
‘दाइ हजुरको शंका सहि ठहरियो है ।’
‘के भयो ? पक्का होनी ?’

‘हन्ड्रेड पर्सेन्ट, कोर टिमबाटै बुझेको दाइ । भाते भतुवाले नै पाउनेमा पक्का भएछ ।’
‘ठीक छ, यो खबर अहिले बिल्कुल कतै नचुहाउनु । अनि कहिले फर्किन्छौँ ?’
‘टिकट लिइसकेको छु दाइ भोलिको फ्लाइटमा आउँछु ।’
‘हुन्छ तिमी आएपछि अरु सल्लाह गरौँला ।’

गहिरो शंका त पहिल्यै थियो फोनको खबरले मनमा अरु छट्पटी बढायो । चुपचाप हात बाँधेर बस्न हुँदैन एउटा खेल खेल्नैपर्छ भन्ने लागेपछि मनमा अनेकन उपाय र विचारहरू पलाउन थाले । एउटा विचारले डो¥याएर पु¥यायो माधव पुरीको घरमा । हामी स्कुलसँगै पढे पनि कलेज छुट्टाछुट्टै भयो । मेरो र माधवको राजनैतिक सिद्धान्त विचार र धार फरक भएका कारण पहिलाकै जस्तो सम्बन्ध प्रगाढ हुन पाएको थिएन ।

‘राजनीतिक सिद्धान्त र विचार जे जस्तो भएपनि हाम्रो सम्बन्ध छुट्न र टुट्न हुन्न है बाबु ।’
‘सम्बन्ध आजको त होइननी भाउजु । बाबु बाजेकै पाला देखिको हो । अहिले बसाई तलमाथि भएपनि माधवजी र म त सँगै हुर्केका दौंतरी हौँ । हैन त माधवजी ?’

‘होनी । विचार फरक भएपनि व्यवहार त्यस्तो फरक छैन र भविष्यमा पनि हुनु हुँदैन ।’ पुरीका घर चिया पिउञ्जेल हामीले आफ्ना छोराछोरी पेशा व्यवसाय र घरव्यवहारका सुखदुःखमा बातचित ग¥यौँ । भाउजु आफ्नो घरधन्दामा लागेपछि मात्र हामीले खास वार्तालापको मेलो सार्‍यौँ ।

‘अलि गोप्य कुरा छ भन्दैहुनुहुन्थ्यो नी मदनजी । भन्नुस न के हो खास कुरा ?’
‘सांसदको टिकट तपाईंले पाउनुहुन्छ कि हुन्न ? मतलब तपाईंको पार्टीले दिन्छ कि दिन्न त्यो भन्नुस पहिला ?’
‘पाएर के गर्ने तपाईंहरूले पर्नखान दिनुहुन्न । गठबन्धन भन्ने सिन्डिकेट लगाउने धाँधली गर्ने । व्यवस्थाकै खिल्ली उडाउने । त्यस्तो पनि तरिका हुन्छ र कतै ?’

‘पुराना कुरा छोड्नुस साथी जे भो भैगयो । टिकट पाउने पक्का छ भने उम्मेदवारी दिनुस्, आफ्नो तयारीमा लाग्नुस् । आफ्नो जित सुनिश्चित बनाउने केही जिम्मा अब मलाई पनि दिनुस् भन्न खोजेको । म पुरानो हिसाबको भरपाई भर्छु ।’
‘भन्नाले ? के तपाईंको पार्टीले उम्मेदवारी दिन्न र ?’
‘उम्मेदवारी दिन्छ । चित्त नबुझ्ने साथी बागी उम्मेदवार पनि हुन सक्छन् ।’
‘त्यसो गर्दा पार्टीले कारबाही गर्दैन र ?’

‘कारबाही गरे पनि खुकुरीले हान्दैननी । चोरी डकैतीजस्तो जेल जान पनि पर्दैन । बागी उम्मेदवारी र प्रचारप्रसारका लागि तपाईंले खर्चपानी पु¥याउनु पर्छ होला माधवजी ।’
‘त्यताको खर्च मैले किन पु¥याउने यार ? यदि मेरो जीत हुन सकेन भने बर्बाद भएन ? मेरो त दोब्बर पैसा खर्च भइसकेको हुन्छ नी ।’

‘तपाईंको जीत सुनिश्चित । यदि हार्नुभयो भने यतातिर खर्च गरेको पैसा र त्यसको ब्याजसमेत चुक्ता गर्ने जिम्मेवारी मेरो । म छातीमा हात राखेर भन्छु, छोराछोरीको कसम खान्छु । जसरी पनि पैसा चुक्ता गरिदिन्छु ।’
‘ओहो ! त्यस्तो विघ्न के परेको छ तपाईंको पार्टीमा भन्नुस् न यार ?’
‘अहिले केही परेको छैन तर पर्नेवाला छ । परेपछि थाहा पाइहाल्नुहुन्छ । अनि अर्को कुरा हामी घरीघरी भेट्नेछैनौँ र फोनमा पनि कुनै कुरा गर्ने छैनौँ है ।’
‘अनि कुरै हुन नसकेपछि कसरी बनाउने त रणनीति ?’

‘मेरो एउटा विश्वासिलो भाइ छ भोलि आउँछ, तपाईंले पनि पकेटको कोही एकजना तय गर्नुस् । तिनीहरूमार्फत हुनेछन् हाम्रा कुराकानी । कसैलाई शंका गर्ने ठाउँ राख्नै हुन्न ।’

माधवसँग सल्लाह मिले पनि मन अझै धैर्य हुन सकिरहेको थिएन । नारायण दाइसँग भेटेर उनको मनपेट बुझ्नु थियो । त्यसकारण साँझको खाना खान उनलाई घर बोलाएको थिएँ । त्यसकारण पुरीका घर खाना खाने भाउजुको आग्रहलाई नाइँ नास्तीमा टारेर फर्केको थिएँ । धूर्तेको खाप्चो मथिङ्गल वरिपरि नाचेर आक्रोश थपिरहेको थियो । धूर्ते भन्नाले हाम्रो पार्टीको जिल्ला कमिटी मुखिया । नाम थियो आत्माराम स्वभाव थियो काउलो धस्ने र काम थियो खुट्टा तान्ने पछार्ने । स्वभाव र काम अनुसार पार्टीका साथीले थपिदिएका थिए उपनाम धूर्ते । प्रतिद्वन्द्वी पार्टीको एउटा प्रभावशाली नेता थियोे गोकर्ण मल्ल । आफ्नोमा अवसर नपाएपछि उसलाई हाम्रो पार्टी प्रवेश गराइ केन्द्रीय समितिमा सदस्यसम्मको हैसियत दिएर व्यवस्थापन गरिएको थियो । मल्ललाई पार्टी प्रवेश गराएको भन्ने जस थापेर मखलेल भैरहेको थियो धूर्ते । पार्टीका साथीहरूबाट मल्लले पनि भाते र भतुवाको उपनाम पाइसकेको थियो ।

खाना खाइरहँदा नारायण दाइसँग घरायसी अनौपचारिक गफगाफ मात्रै भयो । खाना खाएपछि बैठक कोठामा गयौँ र शोफामा आमनेसामने भयौँ ।
‘मदन भाइले मसँग बुझ्न चाहेको के कुरा हो त ?’
‘चुनाव नजिक आउँदै छ । उम्मेदनारी दिने नदिनेमा के छ दाइको धारणा ? हामी खट्नु पर्ने हुन्छ, केही रणनीति पनि तय गर्नुपर्लानी दाइ ।’
‘अहिले पहिलाको जस्तो कठिन हुँदैन कि भन्ने लागेको छ किनभने मल्लजी हाम्रो पार्टीमा प्रवेश गरेका छन् …।’

‘त्यो कुरा ठीक छ दाइ । तर तपाईंले टिकट पाउनुहुन्छ कि हुन्न भन्ने पहिलो प्रश्न बनेको छ पार्टीमा ।’
‘पार्टीले मेरो नाम सिफारिस गरिसकेको अवस्थामा फेरि तलमाथि होला र ?’
‘सिफारिसमा त गोकर्ण मल्लको नाम पनि त परेको छ ?’
‘त्यो त औपचारिकता हो, एउटा मान मनितो । त्यसले त खास फरक पार्दैन ।’
‘फरक पारेमा के गर्ने त दाइ ?’

‘किन यस्तो प्रश्न गरेको मदन ? केही नयाँ जानकारी छ ?’
‘छैन दाइ पटक्कै छैन । मल्ल राजधानी गएको धेरै भयो । पछि धूर्ते पनि गए । भित्र केही खिचडी पाकिरहेको त छैन भन्ने एउटा शंका ।’
‘मल्लको केहि थाहा भएन, धूर्ते त श्रीमतीलाई उपचार गर्न गएका हुन क्यारे ।’
‘उपचार एउटा बहाना पनि हुन सक्छ कि ? मेरो मनले किन किन शंका मात्रै गर्छ दाइ ।’
‘शंकामा टेकेर धारणा बनाइहाल्न हुन्न भाइ । यदि त्यसो भयो भने त बिद्रोह हुन्छनी भाइ पार्टीमा ।’

वार्ताकै सिलसिलामा मैले केही दृष्टान्त दिएँ । पार्टीका लागि त्याग संघर्ष र निष्ठाको पर्याय बनेका एउटा व्यक्तित्व हुन अग्निधर खनाल । पार्टी प्रमुख गोविन्द जङ्गको कार्यकाल पूरा हुँदै गर्दा पार्टी प्रमुखमा खनाललाई लैजाने र नगरको मेयर पदमा पनि चुनाव लडाउने भनी पार्टीले निर्णय गर्‍यो ।

कुनै वडामा वडाअध्यक्षले चालीस प्रतिशत मत प्राप्त गर्दा मेयरले बीस प्रतिशत पनि ल्याउन सकेनन् । त्यो षड्यन्त्र थियो किनकि मेयरमा हारेको व्यक्ति नैतिकताको आधारमा अब पार्टी प्रमुख वा सांसदको उमेदवार हुन सक्दैन । त्यसरी छेकिएको थियो अग्निधरको बाटो । काम न काजको वरिष्ठ नेता बनाएर थन्काइएको थियो खनाललाई । हामीले पार्टीको नीति पद्धतिका बारेमा लामो चिन्तन गर्दा पार्टीका मुखियाहरु राजा बन्दै गएको चर्चा गरेर घृणा पनि पोख्यौँ । नारायण दाइ बाटो लागेपछि अब अगाडि कसरी बढ्ने भन्ने बारे मनमा कुरा खेलिरह्यो ।

‘किन कलेटी परेका छन ओंठमुख आजभोलि ? यस्तो जोगि हुने राजनीति गर्नु पर्दैन के हजुर ।’

दुईदिनका लागि बाहिर गएको चार दिनपछि घर फर्कंदा श्रीमती मसँग बेखुस थिइन् । आफ्ना कार्यकर्ताको कान फुक्दै माहोल बनाउन व्यस्त थिएँ भनेर श्रीमतीलाई खुलस्त भन्न सकिरहेको थिएन । धुर्तेले लगाएको वचन मेरो मनमा सुल बनेर गढेको छ भन्न पनि मैले कसैसँग सकिरहेको छैन ।

पार्टीको नाममा चन्दा उठाएर आफ्नो घडेरी जोड्न थालेको बुझेपछि त्यस्तो मनपरि रोक्नका लागि कार्यकर्ताको भावना अनुरुप सामुहिक निर्णय चाहिन्छ भनेको थिएँ । यो हिसाब किताब खोज्ने भए पार्टी छोडेर जानू भन्ने दुर्वाच्य बोल्यो । पार्टी त कसैको बाबुको पेवा होइननी, मैले पनि रिस खटाउन सकिन । म पार्टी प्रमुख हुँ मेरो इच्छाले चल्छ पार्टी । सबैका अगाडि उसले त्यसरी मेरो अपमान गरेको थियो ।

‘किन हो र केही नबोल्ने ?’ श्रीमती अलि साह्रो बोलिन् ।
‘यतिका वर्ष पार्टीमा समय लगानी गरियो गौरी…।’
‘समय लगानी गरेर के पाइयो त ? त्यो बाफती आत्माराम ले कसैलाई पनि अगाडि जान दिन्न, बुझ्नुभो ?’

‘राजनीति गर्न पार्टीहरू चाहिन्छन् तर यति फोहोरी …।’
‘एउटा असफल मान्छे पाखुरा र पैसाको भरमा २५÷३० वर्ष सम्म निरन्तर दोहोरी रहँदा जनतामा कति वितृष्णा भरिन्छ थाहा छ ?’
‘पार्टी पÞmोहोर भएका छन्, अनिवार्य सफा फेर्नुपर्ने छ । यो लोकतन्त्रका लागि देशमा पार्टी नभै हुन्न फेरि ।’

‘म हजुरलाई एउटा कुरा सोध्छु नढाँटी जवाफ दिनुस है ?
देश ठूलो हुन्छ कि पार्टी ?’

‘तिम्रो कुरा बुझें । बदनाम पार्टीहरुले देश बर्बाद पारिरहेका छन् । हामीजस्ता दुईचार जनाले जति कोशिस गर्दा पनि यो विकृति रोक्न सकिँदैन …।’
‘अनि किन मरिहत्ते गरेको त बदनामी पार्टीको लागि ?’
‘अब छोडिन्छ । हाँडी फुटाले झैं चकनाचुर पारेर छोडिन्छ ।’
‘कहिले फुटाल्ने ?’

‘आउँदै छ समय ।’ गौरीले मेरा आँखामा हेरिरहिन् । त्यस्तो कुरा मैले गर्न हुँदैनथ्यो । तर आक्रोशले मनमा अडिनै दिएन र मुखबाट फुत्किहाल्यो । हामी सयन कक्षमा गएपछि गौरीले फेरि पार्टीको बारेमा जिज्ञासा राखिन् । देशमा व्यवस्था चल्ने संविधानले हो । तर ठूला पार्टीका राजाहरूले संविधान आफू अनुकूलताको बनाएर यो बिग्रहको भुमरीमा जाके । विधि र विधानलाई कुल्चेर आफ्ना भाइ भतिजा छोराछोरी बुहारी र नातागोतालाई पदमा पुर्‍याए । त्यसकारण नेता र व्यवस्थाप्रति जनतामा घृणा जागेको छ । अब पार्टीले काखी च्यापेको मान्छे मात्रै भन्दा पनि इमानदार असल र योग्य व्यक्ति छनोट गर्नुपर्ने हुन्छ तब देशको प्रगति हुन्छ । आधा रातसम्म हामीले लामै बात मार्‍यौँ ।

त्यो दिन आउनु नै थियो आयो । गोकर्ण मल्लले चुनावको टिकट लिएर आएपछि खैलाबैला भयो । सबको आक्रोश मत्थर पार्न हतारमा कार्य समितिको बैठक पनि बोलाइयो । विद्रोह गरेर कार्यकर्तासमेत ल्याएको हुँदा आफूलाई केन्द्रीय समितिमा बोलाएर यो पार्टी संगठनलाई सुदृढ गर्न र बलियो पार्न जिम्मेवारी स्वरुप टिकट दिइ पठाएको भन्ने काइते कुरा राख्यो भाते मल्लले । पार्टीमा कुनै छलफल नगरी एक्कासी टिकट लिएर आएको भनी निकै बम्किए शालीन स्वभावका नारायण दाइ ।

‘मैले भनेकै हो पार्टीमा छलफल हुन पाएको छैन । साथी हरुको चित्त दुखाइ हुन्छ्की भनिरहँदा हामीले पार्टीको हित विपरीत केही सोच्दैनौँ, पार्टीमा व्यक्ति गौण हुन्छ । हामीले पछि साथीहरूको चित्त बुझाउँला । अहिले त मल्लजीले टिकट पाउँदा नै न्यायीक हुन्छ भन्ने कुरा भयो । केन्द्रीय समितिको अगाडि केही बोल्ने कुरै भएन ।’ पानीमाथिको ओभानो हुँदै पार्टी प्रमुख धुर्तेले भन्यो । मैले पुलुक्क हेर्दा नारायण दाइको अनुहारमा रिसले रातो पोतिएको थियो ।

धुर्ते र भातेले स्यालभाका मिलाएर आएको कुरा नारायण दाइले अवश्य चाल पाए होलान् ।
‘मल्लजीसँग मेरो भेटघाट भएकै छैन म श्रीमतीको उपचार मा व्यस्त छु भन्नुभएको होइन ? किन ढाँट्नुभयो त ?’
‘कतिपय कुरा परिस्थिति अनुसार बोल्नुपर्छ के मदनजी ।
तपाईं जत्तिको कटिबद्ध पार्टी सदस्यले त बुझिदिनु पर्छ नि यस्ता कुरा ।’
‘भो भो धेरै मूर्ख बनाउने काम नगर्नुस् । तपाईंसँग हामी पनि भुक्तभोगी छौँ ।’

बैठक छोडेर हामी बाहिर निस्कियौँ । तातो रिस सेलाएपछि फेरि आउँछन् भन्ने धुर्तेको भाव थियो । मल्ललाई उसले आँखा सन्काउँदै त्यही संकेतबाट आश्वस्त पारिरहेको थियो ।

नारायण दाइले विद्रोहको नेतृत्व लिने दृढता गरेपछि मेरो रणनीतिले सिंढिको अर्को खुड्किला चढ्यो । केही दिएर फकाउनका लागि बैठकमा घरीघरी बोलाए पनि हामी गएनौँ । निर्वाचनमा नारायण दाइको बागी उम्मेदवारी परेपछि धुर्ते निकै आत्तिएको थियो, किनकि उ आफैं आएर सम्झाउन खोजिरहेको थियो । उसले मल्ललाई जिताउन केन्द्रसँग मात्रै प्रतिबद्धता गरेको थिएन मल्लसँग पनि कसम खाएको थियो । चुनाव नजितेमा पार्टीले मात्र हार्ने छैन उसले खाए पाएको नगद जिन्सी पनि फिर्ता गर्नुपर्ने अवस्था आउन सक्थ्यो तब त निकै तनावमा थियो ।

‘पार्टीलाई हजुरले यसरी टुहुरो बनाउन पाउनुहुन्न नारायण दाइ । तपाईं बिना हामी र पार्टीका कार्यकर्ताको अवस्था के होला एक पटक सोच्नुस त दाइ ।’
‘मलाई धेरै चिल्लो घस्नु पर्दैन । मैले त्यस्ता धुर्त कुरा बुझ्ने ल्याकत राख्छु । म स्वतन्त्रपूर्वक आफ्नो बाटो हिँड्छु । अब चाहिँदैन मलाई कसैको पार्टी सार्टी ।’
‘म जे कसम पनि खान सक्छु दाइ त्यहाँ मेरो हात छैन । नत्र म आफ्नै नाममा टिकट लिएर आउन पनि त सक्थें…।’
‘कसरी सक्थ्यो तिमी ? अदालतमा मुद्दा चलेर तारेख थामी रहेका छौँ । निर्वाचनले उम्मेदवारी रद्ध गरिदिन्छ । हामीलाई मूर्ख बनाउने ?’

आफूलाई चोख्याउनमा एकछिन बहस ग¥यो । हामी अडिग भएपछि उ निराश हुँदै फर्कियो । उसको घमण्ड तोडेर जसरी पनि शेखी झार्नु थियो । तब त नारायण दाइको मनोनयन दर्ता प्रक्रियाको लागि सरकारी धरौटी राजश्व र प्रचारप्रसार मा रकमको प्रबन्ध मिलाइएको थियो । यसको दाता माधव पुरी हुन भन्ने सुइँको पनि कसैलाई थिएन । राजनीतिमा जे देखिन्छ त्यो हुँदैन जे हुन्छ त्यो देखिँदैन ।

मनोनयन फिर्ताको लागि केन्द्रबाट बराबर दबाब आइरहेको मात्र होइन फिर्ता नगरे कारबाही गर्न पार्टी बाध्य हुनेछ भनी धुर्तेले पनि धम्कि पठायो । जवाफमा नारायणले राजिनामा लेखेर दिएपछि निकै कोहोलो मच्चिएछ । बैठक बसेर हामी लाई फकाउने जिम्मा अग्निधर खनाललाई दिइएछ । आँखा ले नदेखिए पनि कतिपय कुरा छर्लङ्ग बुझिन्छन । बैठकमा खनाल बुढा तात्तिएछन, गल्ती तिमीहरूले गर्ने मैले फकाउनु पर्ने, अपमान तिमीहरू दिने भारी मैले बोक्ने ? आत्माराम र गोकर्णको मिलोमतोबाट समस्या आएको पार्टीमा कसलाई थाहा छैन ? पछाडि आउने माझमा सुत्ने, पैसाको बलमा पार्टी कब्जा गर्ने ? नारायण थापा र मदन शर्मा यो पार्टीमा फर्किएनन् भने आफु पनि बसिन्न कसैको थिचोमिचो सहेर लात् मारिन्छ पार्टी, जे पर्ला पर्ला ।

खनालको त्यस्तो चेतावनीले मल्ल आत्तिदै अनुनय विनय गर्न आइपुग्यो । हामीलाई अनुमान थियो टिकट प्राप्तिमा मल्लको लगानी सानो छैन । सायद उनीहरुको बुझाइ हुँदोहो हामीले केही मोलमोलाइका लागि मात्रै घुर्की लगाएका हौँ ।
‘मल्लले पैसाको बलमा पार्टीको टिकट फुत्कायो मैले केही गर्न सकिन त्यस्तो पो भन्दै थिए त आत्मारामजी ।’ काल्पनिक कुरा कथेर मैले त्यसो भनेपछि मल्ल आवेगमा बोल्यो ।
‘कति हरामी रहेछ त्यो आत्माराम ! उसले होनी पार्टीलाई अलि मोटो रकम चन्दा दिनुपर्छ भनेको । उसैले हो जिल्लामा म मिलाइहाल्छु चिन्ता गर्नु पर्दैन भनेको । कस्तो दोहोरो कुरा गर्न सकेको लिच्चडले…. !’

‘उसलाई भाग पुगेन होलानी त ?’ मेरो समर्थन गर्दै दाइले पनि अँध्यारोमा अर्को तिर हाने ।
‘उसले पनि त घिचेकै छ । यसरी पनि पार्टी चल्छ…?’ सबै कुरा मल्लको आक्रोशबाट छरपस्ट भयो । धुर्तेले सांसदमा जसरी पनि जिताउने कसम खाएको समेत बुझियो । त्यस्तो कचिंगलमा हार्ने चुनाव नलड्ने बरु खर्च भएको पूरापूर रकम फिर्ता चाहिने भन्ने आसयमा एकोहोरिंदै थियो मल्ल ।

बिहान चिया खान सिंढी झर्दै थिएँ रिङटोन बजेको सुनेर फोनको स्क्रिनमा हेर्दा आत्माराम खड्काको नाम देखियो । मोबाइल स्वीचअफ गरेर नारायण दाइ आफ्नो प्रचारप्रसार मा खटेका थिए । त्यसर्थ मलाई फोन गरेको पनि हुनसक्छ भन्ने अड्कल थियो ।
‘हेलो नमस्कार !’
‘नमस्कार मदनजी । नारायण दाइको फोन स्वीचअफ रहेछ । एउटा भ्रम चिर्नका लागि आज हामी अवश्य भेट्नुपर्छ है । कता भेटौं साथी ?’
‘कस्तो भ्रम हो र ?’

‘मेरो विरुद्ध हुने नहुने कुरा गर्नुभएको रहेछ मल्लजीसँग । किन खेदो खन्नुहुन्छ यार । नमिलेका कुरा पार्टीमा बसेर मिलाउँ म जे त्याग गर्न पनि तयार छु । कान समाएर मुर्गा बन्न तयार छु । म हजुरहरूको जसरी पनि चित्त बुझाउँछु ।बागी उमेदवार भएर न तपाईंहरु जित्नुहुन्छ न त पार्टीले नै जित्छौं । हामी आपसमा लडेर हारेर के मजा हुन्छ भन्नुस त मदनजी ?’

‘त्यो मजा तपाईंलाई थाहा होला कि नारायण दाइलाई थाह होला । हामीले कसैलाई हुने र नहुने केही कुरा गरेका छैनौं । बरु मल्लजीसँग तपाईंले नै भन्दै हुनुहुन्थ्यो रे तिनिहरुलाई घिसारेर पनि ठेगानमा ल्याइन्छ भनेर ।’ यो मेरो भनाइ पनि नितान्त बनावटी थियो आगोमा घिउ थप्नको लागि ।

‘कसले कहाँबाट गर्छ यस्तो काल्पनिक कुराको खेती ? मैले कतै भन्नू त के मनमा सोच्ने फुर्सद पनि छैन त्यस्ता घटिया कुरा । ल मदनजी तपाईं आउनुस् आमनेसामने गरौं यसको छिनोफानो ।’
‘माफ गर्नुस् अब पार्टीका लागि आइँदैन । हामी साथीभाइ छदैछौँ तर यस्ता कुराका लागि फोन गरेर समय बर्बाद पनि नपार्नुहोला ।’

‘मदनजी सुन्नुस न…।’ उसको बाँकी केही नसुनी सम्पर्क काटेर फोन स्वीचअफ गरिदिएँ । अब खालास् खुदो !
‘नारायण दाइ पनि भिडेरै जाने आँट गर्नुभएछ कि के हो ? पार्टीले सकेन छ त फकाउन ।’ मलाई चिया थमाउँदै गौरीले भनिन् ।
‘हामीले फकिनै दिएनौँ । कार्यकर्तामा त्यत्रो उर्जा छ । पैसा उठाएर सरकारी दस्तुर र प्रचारप्रसारमा सबै पु¥याएका छन । हाम्रो मायाले जितिरहेको छ उनलाई ।’
‘कार्यकर्ताको मायाले जितेर मात्रै नहुने । चुनाव पो जित्छन कि जित्दैनन् ? कि माधव पुरीले उछिट्याउँछन यो जित ?’

गौरीको शंका बिल्कुल जायज थियो । गोकर्ण मल्लले छोडे पछि उताको पार्टी विखण्डित भएको थियो । यतातिर पनि नारायण दाइले बिद्रोह गरेपछि पार्टी दुई टुक्रा भएको थियो । अघिल्लो निर्वाचनमा पनि गठबन्धनका बाबजुद अत्यन्त झिनो मतले मात्रै हारेका थिए पुरीले । त्यस्तो अवस्थामा पुरीको जितलाई कुनै शक्तिले छेक्न सक्दैन । तर निर्वाचन आयोगको सबै विधि प्रक्रिया पु¥याउनका लागि समयको प्रतीक्षा गर्नु बाहेकको विकल्प थिएन ।

‘माधव पुरीले जिते केही बिग्रन्छ र ?’ मैले सोधेँ ।
‘गजब हुन्छनी । त्यत्तिको ईमानदार कोही छैनन् अरु ।खासमा तिनले नै जित्नुपर्छ ।’
‘त्यसोभए गोप्य मतदानबाट जिताउनु प¥यो माधवलाई ।’

‘अनि हजुरले नी ?’ मेरा आँखामा नजर गाढेर सोधिन् ।
‘मेरो पनि इच्छा र चाहना त्यही नै हो ।’

‘अनि बाहिर फेरको यो तमासा के हो त ?’ यो प्रश्नसँग उनको अनुहारमा हैरानी मात्र होइन जिज्ञासा र कौतुहलता पनि थियो ।
‘यो रणनीति हो गौरी । म सुनाउँला कुनै दिन यसको पूरा कथा तिमीलाई ।’
उनले मेरो आँखामा अद्भुत हेरिरहिन् म मुसुक्क मुस्काइरहें ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २४ माघ २०८२, शनिबार ११:५३