पहिलो महिला मेयरको अठोट, ‘महिला सक्छन्, प्रमाणित गर्नेछु’
सुर्खेत, १२ जेठ ।
कर्णालीको जुम्ला यतिबेला चर्चामा छ । जसले देशमा पहिलो महिला मेयर दिएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिकाबाट निर्वाचित भएपछि कान्तिका सेजुवाल पहिलो महिला मेयर बन्न सफल भएकी छन् । राजनीतिक पृष्ठभूमि लामो नभए पनि कान्तिका आफूमा भएको आत्मविश्वास र साहसका कारण मेयरमा विजयी भइन् । यतिबेला जुम्लाकी उनै कान्तिकाको चर्चा देशभर भइरहेको छ ।
४५ वर्षीया कान्तिका सहजै मेयर बनेकी भने होइनन् । जिल्ला पार्टीले उनलाई मेयरमा टिकट दिएन । उपमेयरमा उम्मेदवारी नदिने अडान लिएकी उनलाई केन्द्रले मेयरका लागि टिकट दियो । केन्द्रको निर्णयको विरोधमा जिल्लामा कार्यकर्ताले आन्दोलन नै गरे । जिल्लामा पार्टीभित्रको आन्तरिक विवादकाबीच पनि उनले चुनाव जित्न पुगिन् । कुनै पनि हालतमा मेयर जित्ने अठोट लिएकी उनलाई स्थानीयले मतदान गरे । नगरका अन्य सबै पदमा पार्टी पराजित हुँदासमेत कान्तिका भारी मत अन्तरले विजयी भइन् ।
कांग्रेसका तत्कालीन जिल्ला सभापति मानव सेजुवालको २०७० सालमा जहाज दुर्घटनामा मृत्यु भयो । श्रीमान्को मृत्युपछि मात्र कान्तिका सरकारी जागिर छोडेर राजनीतिमा होमिएकी हुन् । श्रीमान्को राजनीतिक लक्ष्य हासिल गर्नका लागि आफू राजनीतिमा होमिएको कान्तिका बताउँछिन् । चार सन्तानको पालन–पोषण गर्नुपर्ने बाध्यता, एकल महिलालाई हेर्ने कर्णालीको सामाजिक दृष्टिकोण र पार्टीभित्रको विवाद चिर्दै अन्ततः उनी प्रदेश नम्बर ६ को एकमात्र महिला मेयर बन्न सफल भएकी छन् । यो सफलता हात लाग्नुको एकमात्र हतियार उनको साहस नै भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार कान्तिका जहाँ जान्छिन्, त्यहाँ सफलता प्राप्त गर्छिन् । उनले हात हालेको ठाउँमा हालसम्म असफल नभएको उनका छिमेकी बताउँछन् ।
विद्यार्थीकालमा जुम्ला बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावमा उनले नेविसंघबाट सदस्यमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला सबै पदमा नेविसंघले हार्दा कान्तिकाले मात्र जितेकी थिइन् । केहीवर्ष पहिले उनले काम गर्ने कर्णाली माविमा प्रधानाध्यापक हुनबाट पनि उनलाई रोक्ने धेरै प्रयास भए । महिलाले काम गर्न सक्दिन भन्दै अवरोध गरियो । अन्ततः उनले हिम्मत हारिनन्, विद्यालयको प्रअ भएरै छोडिन् । जिल्लाको पहिलो महिला प्रअ बनेकी उनकै कार्यकालमा उक्त विद्यालय जिल्लाकै नमुना विद्यालय भएर पुरस्कृत भयो । कान्तिका भन्छिन्, ‘अवसर पाएर मात्र हुँदैन, त्यसलाई सही सदुपयोग गर्न सक्नुपर्दछ । मैले चुनाव त जिते, अब समृद्ध नगर बनाउने जिम्मेवारी पूरा गर्नेछु । महिलाले केही गर्न सक्दैनन् भन्ने सोच चिर्नका लागि आफू निरन्तर लाग्ने उनले बताइन् ।
कान्तिकामा रहेको काम गर्ने आँट र चुनौतीसँग जुध्ने यही साहसका कारण पनि मतदाताले उनलाई चुनेको विश्लेषण भइरहेको छ । कर्णालीमा विद्यमान सामाजिक संरचना र सोचका कारण महिलालाई राजनीतिमा सफलता पाउन सहज भने छैन । कान्तिका भन्छिन्, ‘महिलालाई पद लैजाउ कसैले भन्नेवाला छैनन्, कर्णाली जस्तो सामाजिक चेतनास्तर कमजोर भएको स्थानमा त झन् मुस्किल छ ।
तर महिलाले निराश हुनुपर्ने अवस्था छैन, म महिलाले पनि सक्छन् भन्ने प्रमाणित गर्न प्रयासरत रहनेछु ।’ चन्दननाथलाई देशकै नमुना नगरको रूपमा स्थापित गर्ने, युवालाई रोजगारी सिर्जना गर्ने, पर्यटन विकास र सहरीकरणको गुरुयोजना निर्माण गर्ने र महिला सशक्तीकरणका लागि काम गर्ने उनका योजना छन् ।
साथै अन्य दलहरूको सहयोग र समन्वयमा अगाडि बढ्ने भन्दै उनले जनताको भावना अनुसार काम गर्ने उल्लेख गरिन् ।
साझा बिसौनी ।