चुनावी चुनौती

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धमाधम तयारी चलिरहेको छ । तर कर्णाली प्रदेशका हिमाली क्षेत्रका कतिपय बस्तीहरूमा भने निर्वाचनका लागि चुनौती देखिएको छ । हिमपातका कारण हिमाली जिल्लाका माथिल्ला बस्तीहरू रित्तिन थालेका छन् । हुम्लाको लिमीका बस्ती यतिबेला सुनसान भइसकेका छन् । जाङ गाउँका घरहरूमा ताला लागेको छ । मान्छे भेटिदैनन् । तील गाउँमा पनि बस्ती हेरचाहका लागि बसेका कुरुवा मात्रै छन् । हल्जी गाउँको अवस्था पनि तीलकै जस्तो छ । मानिसहरूको आउजाउ भइरहेन हिल्सा क्षेत्रमा केही दिनयता मानिस भेट्नै मुश्किल पर्छ । होटलहरूसमेत बन्द भइसकेका छन् । हिमपात सुरु भएपछि हुम्लाको उच्च हिमाली बस्ती मानवविहीन बनेका छन् ।

यसरी स्थानीय नागरिक नै गाउँमा नभएपछि आगामी फागुन २१ गते चुनाव गराउन निकै चुनौती हुने देखिन्छ । लिमीमा तीनवटा मतदान केन्द्र छन्, जहाँ ६ सय ७२ मतदाता छन् । हिल्सामा एउटा मतदान केन्द्र छ । ती मतदान केन्द्रमा पुग्न र मतदान सामग्री पु¥याउन नै सकस हुने देखिन्छ । सिमकोट–हिल्सा सडक कार्तिक दोस्रो सातादेखि नै बन्द छ । हुम्लामा मात्रै होइन कर्णालीको अर्को जिल्लाको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तिलगायत गाउँका अधिकांश मानिसले गाउँ छोडिसकेका छन् । ठूलो संख्यामा स्थानीयहरू चिसो छल्नका लागि गाउँ छोडेर बाहिरिएको अवस्था छ । यसरी गाउँ छोडेकाहरूमध्ये कतिपय आसपासका गाउँमा बसिरहेका छन् । कोही सदरमुकाम गमगढीमा छन् । उनीहरू चिसो कम भएपछि गाउँ फर्किने बताइएको छ । तर जिल्लाभन्दा बाहिर गएकाहरू तत्कालै फर्किने अवस्था छैन । त्यसैले चुनावमा निकै न्यून मतदाताको उपस्थिति हुन सक्ने देखिएको छ ।

गतसातादेखि कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हिमपातसँगै माथिल्लो क्षेत्रका स्थानीयहरू बसाइँ सर्ने गर्दछन् । अत्यधिक चिसो हुने हुँदा जाडो छल्नका लागि कतिपय जिल्ला सदरमुकाम आउँछन् भने कतिपय सुर्खेत, नेपालगञ्ज र काठमाडौं झर्ने गर्दछन् । उनीहरू नफर्किएमा फागुन २१ को चुनावमा मतदान गर्न पाउने छैनन् । हिमाली बस्तीमा चुनावको तयारी गर्न समेत सकस भइरहेको छ । हिमपात बढी हुने मतदान केन्द्रहरूमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री पु¥याउने बारेमा छलफल भइरहेको छ । यद्यपि, मतदान हुने दिन आउन अझै एक महिना समय बाँकी रहेकाले त्यतिबेला सम्म मौसम पनि केही सुधार हुन सक्ने अपेक्षा सरोकारवालाहरूको छ । यदी हिमपातको क्रम घटेमा फागुन दोस्रो सातासम्म अधिकांश मतदाता फर्किनसक्ने आँकलन गरिएको छ । तर थप हिमपात भएमा भने झन कठिनाइ हुनसक्नेछ ।

प्रकाशित मितिः   १९ माघ २०८२, सोमबार ०५:०३