निर्वाचनले बिथोलिँदै पढाइ

सुर्खेत: हरेकजसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीहरूको नियमित पढाइ प्रभावित हुने गरेको छ । आगामी निर्वाचनले पनि पढाइ प्रभावित हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरिरहेका छन् ।
सबै तहको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा तोकिँदा वार्षिक पढाइ तालिका प्रभावित हुने गरेको सुर्खेतस्थित जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनका अनुसार विद्यालयको विकल्प खोजेर चुनाव गर्न सकिने थुप्रै आधार भएपनि सरकारले ध्यान दिन सकेको छैन । बन्द–हड्ताल, पार्टीका आमसभा तथा मेला महोत्सव समेत विद्यालयमा गरिँदा पढाइ प्रभावित बन्ने गरेको हो ।
एक दशक अघिसम्म स्थानीयस्तरमा कुनै पनि तहका निर्वाचन सम्पन्न गराउन सहज थिएन । यातायातका साधन, सडकको पहुँच, सुरक्षा व्यवस्था, खटिएका कर्मचारीको खाने–बस्ने व्यवस्थालगायत मतदानस्थलको व्यवस्थापन गर्न हम्मे पथ्र्यो । जसका कारण अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयमा राखिन्थे । तर अहिले ठूला–ठूला सरकारी संरचना निर्माण गरिएका छन् । तर पनि बालबालिकाको निर्वाध रूपमा पठनपाठन गर्ने अधिकारलाई वञ्चित गराउँदै विद्यालयमा नै मतदान केन्द्र राख्ने गरिएको गुनासो सरोकारवालाहरूको छ । जसले गर्दा आउँदै गरेको एसईई र तथा सम्पूर्ण वार्षिक परीक्षा प्रभावित बन्नेछन् । केही सरकारी भवन प्रयोगविहीन बनिरहँदा अहिले पनि खोजीखोजी विद्यालयमा मतदान केन्द्र राख्ने गरिएको छ ।
विद्यालयमा मतदान केन्द्र बनाइँदा पठनपाठनको वातावरण कम्तीमा एक साता बिग्रिने शिक्षकहरूको गुनासो छ । निर्वाचनको बेला झन्डै एक साता विद्यार्थीको पठनपाठन अवरुद्ध हुने वीरेन्द्रनगरस्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । थापाले विद्यालयमा मतदानस्थल कायम गर्दा दुई÷तीन दिन बिदा हुने भए पनि अरू व्यवस्थापनका कामले कम्तीमा एक साता पठनपाठन अवरुद्ध हुने गरेको बताए । ‘पहिला पो विद्यालयबाहेक अरू सार्वजनिक ठाउँ खासै थिएनन्,’ उनले भने, ‘अब त स्थानीय सरकार र वडा कार्यालयका भवनहरू पनि मतदानस्थलको रूपमा प्रयोग गर्न सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिनपर्यो ।’
श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका प्रधानाध्यापक भक्त सोमै पनि मतदान केन्द्रका लागि सामुदायिक विद्यालयहरूको विकल्प खोज्नुपर्ने बताउँछन् । ‘मतदान केन्द्र विद्यालयमा राखिँदा बालबालिकाको पढाइमा सामान्य असर परिनै हाल्छ’ उनले भने, ‘अहिले त विभिन्न भौतिक संरचना बनेका छन्, ती सार्वजनिक स्थान भएपनि मतदान केन्द्र राख्न सकिन्छ ।’
यद्यपि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि अधिकांश विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिने भएको छ । अन्य क्षेत्रभन्दा विद्यालय नै सुरक्षित हुने गरेकाले मतदानस्थलमा विद्यालयलाई नै प्राथमिकता दिने गरिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । ‘एक दशकअघिसम्म मतदानस्थलमा कर्मचारीलाई खान, बस्न र अन्य व्यवस्थापन गर्न कठिन हुन्थ्यो, विद्यालयहरूमा मतदान केन्द्र राख्दा विद्यालयका बेञ्चमै पनि सुत्न सकिन्थ्यो,’ प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले भने, ‘अबका दिनमा कर्मचारीले खटनपटनमा पनि भनसुन गर्नुपर्दैन, तर अन्य ठाउँमा सुरक्षाका लागि मतदानस्थलको घेराबार, अस्थायी शौचालय निर्माण, सुरक्षाकर्मीहरूको व्यवस्थापन, महिला कर्मचारीको व्यवस्थापनलगायत काम गर्नुपर्ने भएकाले विद्यालयमा नै मतदान स्थल कायम गरेका छौँ ।’ अबका चुनावहरूमा यस्ता सवाललाई ध्यान दिएर अघि बढ्ने उनको भनाइ छ ।
सकेसम्म विकल्प भएको खण्डमा विद्यालयमा मतदान केन्द्र राख्न उचित नभएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेल बताउँछन् । आउँदा निर्वाचनमा सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने उनले जनाए । विगतमा स्थानीयस्तरमा भरपर्दो संरचना नभएको अवस्था भए पनि अहिले वडा कार्यालयदेखि ठूला–ठूला संरचना बनिसकेको अवस्थामा विद्यालय नै खोजीखोजी मतदान केन्द्र राखिनु उचित नभएको उनको तर्क छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि थुप्रै विकल्प छन् । वडा नं. ७ मा प्रदेशसभा, वडा नंं. ६ मा सभाहल, वडा नं. ८ मा प्रदेश रंगशालाजस्ता क्षेत्र छन्, जहाँ मतदान गराउन सकिन्छ । तर ति क्षेत्रमा पनि विद्यालय नै प्रयोग गर्ने गरिएको छ ।
सरकारले अन्य सरकारी संरचनाको भरपूर प्रयोग गरी विद्यालयलाई शान्ती क्षेत्रको रूपमा कायम गर्न एनसीईले अपिल गरेको कँडेलले बताए । निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) लेप्रेस विज्ञप्तिसमेत जारी गरेको छ । मतदान केन्द्र राख्न सकिने धेरै आधार भएपनि सरकारले विद्यालय नै छान्नु उपयुक्त नहुने उल्लेख गरिएको छ ।
प्रकाशित मितिः १९ माघ २०८२, सोमबार ०५:०५
साझा बिसौनी ।