एजेन्डा देखाऊ
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यताका लागि निर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूको मनोनयन दर्तासमेत भइसकेको छ । उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएर चुनाव चिन्ह प्रदान पनि भइसकेको छ । चुनाव चिन्ह पाएसँगै उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय भएका छन् । मतदाता भेटघाटमा व्यस्त बनेका छन् । मत माग्दै हिँडेका धेरैजसो उम्मेदवारले आफ्नो घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् । उम्मेदवारहरूले के–कस्ता एजेन्डा र प्रतिबद्धता लिएर जनतासामू जान्छन्, त्यसको मूल्यांकन गरेर नागरिकले मतदान गर्ने गर्दछन् । तर अहिलेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना मुख्य एजेण्डा नै तयार पारेका छैनन् ।
चुनावका बेला उम्मेदवारका एजेन्डा प्रमुख हुन्छन् । जसका आधारमा नागरिकलाई आफूलाई उचित लागेको उम्मेदवार छनोट गर्न सक्दछन् । तर अहिले एजेन्डाभन्दा पनि आश्वासन बाँडेर मतदाता रिझाउन दल र उम्मेदवार कस्सिएका छन् । मतदाताले चुनावी एजेन्डाका आधारमा प्रतिनिधि चुन्ने बताइरहेका बेला उम्मेदवारहरू भने खाली हात मतदाताको घरदैलोमा पुगेका छन् । चुनावी प्रतिबद्धताविनै अधिकांश उम्मेदवारले घरदैलो गरिरहेका छन् । मौखिक रूपमा प्रतिबद्धता जनाएर उनीहरूले भोट माग्ने गरेका हुन् । लिखित रूपमा प्रतिबद्धता पत्र ल्याएर वचन दिए मात्रै विश्वास गर्न सकिने आधार रहेको मतदाताहरू बताउँछन् । खासगरी प्रमुख राजनीतिक दलका उम्मेदवारले अहिलेसम्म आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छैनन् । विगतमा पनि आश्वासन दिएर पूरा नभएपछि मतदाता यसपटक थप सचेत भएका छन् । एजेन्डा हेरेर भोट दिने बताइरहेका छन् । चुुनावमा दल नहेरी उम्मेदवारका एजेन्डाका आधारमा मत दिने मनसायमा छन् ।
निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । यसबाट नागरिकले आफ्नो मतमार्फत आफ्नो जनप्रतिनिधि छनोट गर्दछन् । यसरी आफ्नो जनप्रतिनिधिको छनोट उनीहरूको योजना र एजेन्डाका आधारमा हुनु पर्दछ । योजनाविहीन र एजेन्डाविहीन जनप्रतिनिधिको छनोटले व्यवस्थापिका र कार्यकालिकाको भूमिका प्रभावकारी बनाउन सक्दैन । त्यसैले उम्मेदवारहरू आफ्ना एजेन्डामा प्रष्ट हुन जरुरी हुन्छ । र, ति एजेन्डालिएर मतदातमा पुग्नुपर्दछ । उम्मेदवारहरूका एजेन्डा हेरेरै मतदाताले आफ्नो मत व्यक्त गर्न सक्दछन् । निर्वाचन व्यक्ति छनोटका प्रक्रिया मात्रै नभएर एजेन्डाको परीक्षण र छनोट पनि हो । तर अहिलेका राजनीतिक दल र उम्मेदवारहरूले यो पक्षलाई ध्यान दिएका छैनन् । मत माग्न नागरिकको घरदैलोमा पुग्दा उम्मेदवारसँग उनीहरूका प्राथमिकतामा पर्ने एजेन्डासहितको घोषणापत्र हुनुपर्दछ । जसलाई मतदाताहरूले अध्ययन गर्न र आफ्नो मतको निर्णय गर्न सक्दछन् । वस्तुनिष्ठ योजना र एजेन्डाभन्दा पनि लोकप्रिय हुने घोषणाले मतदाता रिझाउने प्रयास निर्वाचनको मर्मअनुसार हुन सक्दैछ ।
प्रकाशित मितिः १३ माघ २०८२, मंगलवार ११:२१
सम्पादकीय ।