चुनावी मैदानमा कर्णालीका ‘जेन–जी’

सुर्खेत: गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुँदा सुर्खेतका रवि हमाल ठकुरी पनि आन्दोलन सफल बनाउन सडकमा उत्रिएका थिए । आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उनले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहे । कहिले लेखेर, कहिले बोलेर त कहिले सडकमै उत्रिएर उनले राजनीतिक दलहरूदेखि सुशीला कार्की नेतृत्वको सरकारलाई समेत जेन–जी विद्रोह नभुल्न र त्यसले उठाएका मुद्दाको उचित सम्बोधन गर्न सचेत गराइरहे । उनै हमाल अहिले पनि तिनै मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

२८ वर्षीय हमाल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हमाल अहिले आफ्ना एजेन्डा लिएर मतदाता भेटघाटमा व्यस्त छन् । पूर्वी सुर्खेतका गाउँ–गाउँमा डुलिरहेका छन् । सुर्खेतका जनताको मागलाई सम्बोधन गर्नुका साथै जेन–जीले उठाएका मुद्दालाई पनि आफ्नो एजेन्डा बनाएको हमालले बताए ।

आफू उम्मेदवार भएको क्षेत्रको समृद्धि र विकाससँग जोडिएका विषय त प्राथमिकतामा हुने नै भए, संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिने उनी बताउँछन् । निर्वाचन क्षेत्रभित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उनको योजना छ । विकास, सुशासन र स्वरोजगारलाई नै प्राथमिकता राखेको देखिन्छ । साथसाथै युवा पुस्तालाई समेट्ने गरी नीति निर्माण र योजना कार्यान्वयनमा पनि जोड दिएका छन् ।

सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि जेन–जी पुस्ताका कृष्ण खत्री उम्मेदवार बनेका छन् । उनी भने कुनै राजनीतिक दलबाट नभइ स्वतन्त्र उम्मेदवार हुन् । राजनीतिसहित राज्यका सबै निकायहरूमा युवा पुस्ताको प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले प्रतिनिधिसभाको चुनाव लड्ने निर्णय लिएका हुन् ।

खत्रीको चुनावी एजेन्डमा प्रविधिलाई विशेष जोड दिएको देखिन्छ । आजको समयमा प्रविधिको उपयोगले नै समृद्ध मुलुक बनाउन सकिने उनको विश्वास छ । विकासमा पछि परेको सुर्खेत र त्यसमा पनि पश्चिम सुर्खेतलाई समृद्ध बनाउन प्रविधिको भरपूर प्रयोग गर्नुपर्ने र जडिबुटीको सदुपयोग गर्नुपर्नेमा खत्रीले जोड दिए । यसका लागि आफूले योगदान दिन सक्ने उनी बताउँछन् ।

चरम राजनीतिकरणका लागि विकासको गति सुस्त भएको भन्दै २७ वर्षीय खत्रीले आफू निर्वाचित भएमा नागरिकलाई आवश्यक पर्ने कानुन निर्माणमा योगदान दिनसक्ने बताए । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि उद्यम विकास, औद्योगिकरणकमा पनि उनले जोड दिएका छन् ।

रवि र कृष्णजस्तै यसपटक कर्णाली प्रदेशबाट ११ जना जेन–जी पुस्ताका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कर्णालीका दश जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँबाट १३ जना जेन–जी पुस्ताका उम्मेदवार छन् । १३ जना नै साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हुन् । तर ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने कर्णालीमा जेन–जी उमेर समूहका कसैलाई पनि उम्मेदवार बनाएका छैनन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले डोल्पाबाट २६ वर्षीय विकास बुढालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मुगुमा २५ वर्षीय भुवन टमटा र हुम्लामा २६ वर्षीय टासी ल्हान्जोमलाई उठाएको छ ।

यस्तै नेपाल जनता पार्टीले जुम्लामा २६ वर्षीय रनिल विक्रम शाही, मंगोल नेसनल अर्गनाइजेसनले जाजरकोटमा २५ वर्षीय कमान बुढा मगर, गतिशील लोकतान्त्रिक पार्टीले सुर्खेत–२ मा २८ वर्षीय पवन थापा मगरलाई उम्मेदवार बनाएको छ ।

आम जनता पार्टीले पनि दैलेख–२ मा २७ वर्षीया तिर्थाकुमारी बंशीमगर विकलाई उम्मेदवार बनाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा २८ वर्षीय रवि हमाल ठकुरीलाई उठाएको छ । बाँकी चार जना स्वतन्त्र उम्मेदवार हुन् । कालीकोटमा २७ वर्षीय अस्मिनकुमार विष्ट र २६ वर्षीय मानबहादुर तिरुवा, दैलेख–२ बाट २६ वर्षीय हिमबहादुर शाही र सुर्खेत–२ बाट २७ वर्षीय कृष्ण खत्री गरी ४ जेन–जीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मितिः   १३ माघ २०८२, मंगलवार ११:२०