तयार हुँदै दलका घोषणापत्र

सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवारहरू घोषणापत्र निर्माणमा जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न उम्मेदवारसहित सम्बन्धित राजनीतिक दल र कमिटीहरू घोषणापत्र निर्माणमा लागेका हुन् । विषयविज्ञसमेत राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका छन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने तयारी गरेका छन् । पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल यसअघिका निर्वाचनमा भन्दा फरक खालको घोषणापत्र ल्याउनुपर्ने चुनौतीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीलगायत नयाँ दल पुराना दलभन्दा फरक देखिने गरी घोषणापत्र ल्याउनै पर्ने दबाबमा छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न आकर्षक नारासहित घोषणापत्र लेखनमा नेताहरू धमाधम लागेका छन् ।
नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रचार विभाग सचिव सुवर्ण शाहीले हप्ता दिनभित्रै घोषणापत्र तयार गरेर जनताका बीचमा जाने बताए । ‘अहिले नियमित बैठक बसेर छलफल गरेका छौँ । विगतका घोषणापत्र, पार्टीका नेता र विषयविज्ञ राखेर घोषणपत्र ल्याउँदै छौँ’ उनले भने, ‘कतिपय कुरा नीतिगत हुने भएकाले दस्ताबेजका रूपमा आएपछि मात्र बोल्दा राम्रो हुन्छ ।’ शुक्रवार केन्द्रिय कार्यसमितिको बैठक बस्ने र त्यसै अनुरूप योजना निर्माण गरेर अघि बढ्ने पनि उनले जनाए । सचिव शाहीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह सहज बनाउने एजेन्डा केन्द्रमा राखेर घोषणापत्र तयार गरिने बताए ।
नेकपा एमालेले पनि चुनावी प्रक्रियालाई तीव्र पारेको छ । जनजीविकासँग जोडिएका सवाललाई घोषणापत्रमा ल्याउनेगरी तयारी भइरहेको एमाले सुर्खेत जिल्ला प्रचार विभाग प्रमुख गंगाराम तिमल्सेनाले बताए । ‘जनताले राजनीतिबाट के पाए ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने छ, राजनीति भनेको सत्ताका लागि मात्र होइन, जनताका लागि हो । राजनीतिमा मूल्य स्थापित हुनुपर्छ र जनतामा आशा जगाउनु पर्छ, निराशा बाँड्ने होइन । यसैलाई व्यवहारमा कसरी उतार्ने भनेर हामी खोजिरहेका छौँ’, उनले भने, ‘देशको आर्थिक समृद्धिको चित्र स्पष्ट देखिने गरी घोषणापत्र तयार हुनेछ ।’ सुखी नेपाली, समृद्ध नेपालको नारालाई आधार बनाएर घोषणापत्र लेखन समिति गठन गरिएकाले अन्तिम रूप दिएपछि मात्रै सबै भन्न सकिने उनले जानकारी दिए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेदवार बनाएको छ । दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेका र कठिन राजनीतिक यात्रा पार गरेका मल्लले अहिले पश्चिम सुर्खेतलाई समृद्धिको बाटोमा डो¥याउने बृहत् सपना बुनेका छन् । उनले गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा ‘आइटी कलेज’ स्थापना गरी प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी शिक्षामा पहुँच पु¥याउनेदेखि कर्णाली प्रदेश अस्पताललाई अत्याधुनिक र राष्ट्रियस्तरमा स्तरोन्नति गरेर सुर्खेतका नागरिकलाई सुलभ, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्नेसम्मका एजेण्डा अघि सारेका छन् ।
पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना गर्ने जनाइएको छ । उज्यालो सुर्खेत र समृद्ध भविष्य’ का लागि टोल–टोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा, स्थानीय पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास र औधोगिक क्रान्तिमार्फत आर्थिक समृद्धि र स्वदेशमै सम्मानजनक रोजगारीको ग्यारेन्टी गरिनेलगायतका विषय आफ्नो घोषणापत्रमा समेट्ने मल्लले जानकारी दिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूले पनि यतिबेला घोषणापत्र निर्माणको तयारी गरिरहेका छन् ।
प्रकाशित मितिः ९ माघ २०८२, शुक्रबार १८:०९
रजनी याेगी ।