भेरी पुल पुनर्निर्माण
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पूर्वी प्रवेशद्वारको रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा गाडी गुड्ने क्षमतालगायतका हिसाबले पुलको आयु घटिरहेको छ । तर पुलको पुनर्निर्माण हुन सकेको छैन । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल प्रदेश राजधानीको प्रवेशद्धार हो । पुल जीर्ण भइरहँदा पुल बनाउने योजना भने बन्न सकेको छैन । सरकारले यस विषयमा ठोस योजना निर्माण गर्न सकेको छैन । प्रत्येक वर्ष पुलको मर्मतका लागि बजेट भने विनियोजन हुने गरेको छ । अबको दुई–चार वर्षमा पुल नयाँ निर्माण नभए जोखिम थप बढ्ने जनाइएको छ ।
भेरी पुल निर्माण गर्ने विषयमा चर्चा भने भइरहेको छ । सडक विभागमा समेत पुल निर्माणको विषय उठाइएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अबको तीन–चार वर्षमा पुल निर्माण नभए जोखिम हुनसक्छ । अहिले सामान्य मर्मतबाहेक अन्य काम भएको छैन । सरोकारवालाहरूले समेत जीर्ण बन्दै गइरहेको पुलको विषयमा चिन्ता व्यक्त गर्न थालेका छन् । पूर्वाधार केन्द्रित कार्यक्रममा बोल्ने अधिकांशले भेरी पुलको बारेमा चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भेरी नदीमा बाढीको खतरा पनि रहेको छ । जलसतहले सतर्कता तह पार गर्दा पुललाई नै धक्का पुग्ने गरेको छ । कतिपय अवस्थामा वर्षा याममा आउजाउ गर्न समेत जोखिम हुने गरेको छ । तत्काल नै सरकारले योजना निर्माण गरेर पुल निर्माणमा चासो दिनसके आगामी दिनमा पश्चाताप गर्नुपर्ने छैन । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ल्याएको खण्डमा कार्यान्वयन गर्ने गरी योजना बनाइराखिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अहिले माथिल्लो तहमा यस विषयमा कुरा पू¥याउने काम भइरहेको छ ।
पुल बनेको ४५ वर्ष पुग्यो । यसको क्षमता ५० देखि ६५ वर्षसम्म हो । यस हिसाबले पनि भेरी नदीमाथिको पुलको विकल्प खोज्नुपर्ने समय भइसकेको छ । राजनीतिक दलका प्रतिनिधिहरूले पनि यस विषयमा चासो दिएको पाइदैन । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार भइरहँदा यस्ता विषयले प्राथमिकता पाएका छैनन् । भेरी पुलमा अहिले दैनिक सयाँै गाडी गुड्छन् । संरचना दिनप्रतिदिन जीर्ण बनिरहेको छ । त्यसैले समयमै ध्यान दिनु जरुरी देखिन्छ ।
प्रकाशित मितिः ७ माघ २०८२, बुधबार ११:३५
सम्पादकीय ।