चुनावमय कर्णाली
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्तासँगै कर्णाली प्रदेशमा चुनावी रौनक छाएको छ । चुनावमा सहभागी हुन विभिन्न राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारले समेत मंगलवार उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा मुख्यतया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति पनि बलियो देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू पनि चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेसले सुर्खेत–१ बाट विष्णुबहादुर खड्का र क्षेत्र नं. २ बाट नारायण कोइरालालाई उम्मेदवार बनाएको छ । त्यसैगरी दैलेख–१ मा बासना थापा र २ मा दीक्पालकुमार शाहीले उम्मेदवारी दिएका छन् । मुगुमा ऐनबहादुर शाही, हुम्लामा जयपती रोकाया, जुम्लामा दिपबहादुर शाही र रूकुमपश्चिममा राजु केसी कांग्रेसबाट उम्मेदवार बनेका छन् । जाजरकोटबाट खड्गबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् भने डोल्पामा कर्णबहादुर बुढा, कालीकोटमा हर्षबहादुर बम र सल्यानमा केशबहादुर विष्टले कांग्रेसबाट टिकट पाएर उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट अधिकांश पुरानै अनुहार उम्मेदवार बनेका छन् । जसमा सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट ध्रुवकुमार शाही, क्षेत्र नं. २ बाट कुलमणि देवकोटा, दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट रविन्द्रराज शर्मा र क्षेत्र नं. २ बाट लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार भएका छन् । त्यसबाहेक रूकुमपश्चिममा नन्दराम देवकोटा, हुम्लामा दल फडेरा, सल्यानमा गुलवजंग शाह, कालीकोटमा नगेन्द्र शाही छन् । जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, डोल्पामा लङ्ग रोकाया र जाजरकोटमा डम्मरबहादुर सिंहको उम्मेदवारी परेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीकोटबाट महेन्द्रबहादुर शाही, सल्यानबाट रमेश मल्ल, रूकुमपश्चिमबाट गोपाल शर्मा र जुम्लाबाट नरेश भण्डारीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी दैलेख–१ मा अम्बरबहादुर थापा, दैलेख–२ मा योगेन्द्रबहादुर शाही, सुर्खेत–१ मा जीतबहादुर राना, सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार बनेका छन् । डोल्पामा धनबहादुर बुढा, हुम्लामा डा. दीपेन्द्र रोकाय र मुगुबाट चन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि १२ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । सुर्खेत–१ मा टेकबहादुर सिंह, सुर्खेत–२ मा रमेश सापकोटा, दैलेख–१ मा नन्दकिशोर बस्नेत र दैलेख–२ मा बखतबहादुर शाहीलाई रास्वपाले टिकट दिएको छ । सल्यानमा ललित चन्द, रूकुमपश्चिममा मानबहादुर शाही, जुम्लामा विनिता कठायत, मुगुमा भुवन टमटा, कालीकोटमा प्रकाश न्यौपाने, जाजरकोटमा राघव कार्की, डोल्पामा देवसिंह ऐडी र हुम्लामा टास लाजोमले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चुनावमा कर्णालीबाट प्रतिनिधिसभातर्फ एउटा सिट जितेको थियो । अघिल्लो पटक निर्वाचित ज्ञानेन्द्र शाहीले यसपटक पनि जुम्लाबाट मनोनयन दर्ता गराएका छन् । त्यसैगरी सल्यानमा अनिशा नेपाली, डोल्पामा हरिप्रसाद डाँगी, मुगुमा बलबहादुर मल्ल उम्मेदवार बनेका छन् ।
राप्रपाले कालीकोटमा सूर्यबहादुर शाह, जाजरकोटमा कृष्ण विक्रम शाह र दैलेख–२ मा बविता शाही, सुर्खेत–१ मा रवि किरण हमाल र सुर्खेत–२ मा कविराम पुरी तथा रूकुमपश्चिममा गोपाल खड्कालाई राप्रपाबाट उम्मेदवारी दिएका छन् ।
यसबाहेक अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले पनि फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
सुर्खेतमा ३० उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतमा तीन जना स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दिएका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नं. १ मा १३ जना र क्षेत्र नं. २ मा १७ जनाले उम्मेद्ववार दर्ता गराएका हुन् ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विष्णुबहादुर खड्का, एमालेबाट ध्रुवकुमार शाही र नेकपाबाट जीतबहादुर रानाले उम्मेद्वारी दर्ता गराएका छन् । रास्वपाबाट टेकबहादुर सिंह, नेमकिपाबाट गजबहादुर खप्तडी मगर, नेकपा माओवादीबाट हिरू शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, राप्रपाबाट रवि हमाल ठकुरी र श्रम संस्कृति पार्टीबाट वीरबहादुर रानाले उम्मेदवारी दिएका छन् । आम जनता पार्टीबाट रमेश सेन्चुरी, जसपा नेपालबाट धनसिंह सार्की, उज्यालो पार्टी नेपालबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपाल पार्टीबाट प्रकाश बुढामगरले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झकबहादुर मल्ल र रास्वपाबाट रमेशकुमार सापकोटाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादीबाट धर्मराज देवकोटा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामी मगर, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रायमाझी, नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारी, राप्रपाबाट कविराम पुरी, उज्यालो पार्टी नेपालबाट गम्भीर सिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दिपबहादुर नेपालीले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं. २ बाटै उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दुई लाख बढी मतदाता
सुर्खेतमा मतदाता संख्या बढेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुर्खेत जिल्लामा कुल मतदाताको संख्या दुई लाख ४८ हजार नौ सय ३४ पुगेका छन् ।
अन्तिम मतदाता नामावलीमा एक लाख २१ हजार आठ सय ८९ जना पुरुष मतदाता छन् भने महिला मतदाता एक लाख २७ हजार ४५ जना रहेका छन् । पालिका अनुसार वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा धेरै मतदाता छन् । वीरेन्द्रनगरमा ७१ हजार आठ सय ८० मतदाता रहेका छन् ।
त्यस्तै, गुर्भाकोट नगरपालिकामा ३५ हजार ६ सय ९० जना, पञ्चपुरी नगरपालिकामा २३ हजार दुई सय पाँच जना, लेकवेशी नगरपालिकामा २२ हजार एक सय ४० जना र भेरीगंगा नगरपालिकामा ३२ हजार सात सय ९४ मतदाता रहेका छन् । चिङ्गाड गाउँपालिकामा १० हजार आठ सय २५ जना, चौकुने गाउँपालिकामा १५ हजार नौ सय ५८ जना, सिम्ता गाउँपालिकामा १८ हजार ६ सय ७५ जना र बराहताल गाउँपालिकामा १७ हजार आठ सय १६ जना मतदाता रहेको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मितिः ७ माघ २०८२, बुधबार ११:३२

साझा बिसौनी ।