नसर्ने रोगको कहर
कर्णालीमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । अझ चुनौतीपूर्ण कुरा त के भइरहेको छ भने रोग पहिचान हुनै मुश्किल हुन्छ । भौगोलिक विकटता तथा आर्थिक अवस्था कमजोर हुँदा रोगले ग्रष्त हुँदा पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ । ग्रामीण भेगका नागरिक अझैपनि स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् । खानपानकै कारण नसर्ने रोगको प्रकोप बढिरहेको विभिन्न तथ्यांकहरुले देखाउने गरेका छन् । धूम्रपान, मदिरा सेवन, असन्तुलित खाना एवम् शारीरिक व्यायामजस्ता कारणबाट रोगको प्रकोप बढिरहेको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा महिलाहरुले बढी मात्रामा सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ ।
कर्णालीमा ४४ प्रतिशत महिलाहरुले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने ११ प्रतिशत पुरुषले सेवन गर्ने गरेको पाइएको छ । मदिराजन्य पदार्थ सेवन गर्नेमा मधेश प्रदेशपछि कर्णालीका महिलाहरु दोस्रोमा रहेका छन् । ३४ प्रतिशत महिलाहरुले मदिरा सेवन गर्ने गरेको पाइएको छ भने पुरुषले तीन प्रतिशतले सेवन गर्नेगरेका छन् । महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्दा जन्मिने बच्चाहरुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुनेगरेको विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेशका अधिकृत प्रदिप अधिकारीले बताए । उनका अनुसार मुटु तथा रक्तनलीसम्बन्धी रोगहरु ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत, सरुवारोग मातृस्वास्थ्य,(सुत्केरी अघि वा पछि) २५ प्रतिशत,श्वासप्रश्वास सम्बन्धी दिर्घ रोगहरू १० प्रतिशत, मधुमेह चार प्रतिशत अन्य नसर्ने रोगहरु १३ प्रतिशत जस्ता कारणबाट मृत्यु हुनेगरेको छ । नसर्ने रोगको असर दिन प्रतिदिन बढिराखेकामा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगकै कारणबाट भएको भन्दै उनीहरूले यसलाई नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् । मानवीय क्रियाकलापले नसर्ने रोगको जोखिम बढेको बताइन्छ । धूम्रपान, मदिरा सेवन, असन्तुलित खाना एवम् शारीरिक व्यायामजस्ता कारणबाट उत्पन्न हुने मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगले अकालमा धेरैको ज्यान जाने गरेको जनाइएको छ ।
सन् २०३० सम्म नेपालमा हुने मृत्युमध्ये ८६ प्रतिशत नसर्ने रोगका कारण हुने पनि प्रक्षेपण गरिएको छ । गरिबी, अशिक्षा, स्वास्थ्य सेवामा गरिब तथा विपन्न जनताको कम पहुँच आदिका कारण नसर्ने रोग लाग्नेबित्तिकै उपचार सेवा लिन समस्या भइरहेको बानीयाले बताए । सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता, मदिराको हानिकारक प्रयोग, अस्वस्थ आहार र वातावरण प्रदुषण प्रमुख कारक बनिरहेको छ । त्यसैले नागरिकलाई उनीहरुको खानपिनका बारेमा पनि सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रकाशित मितिः ४ माघ २०८२, आईतवार ०५:००
सम्पादकीय ।