ट्राफिक व्यवस्थापन योजना

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जनसंख्या बढ्दो छ । सवारी साधनको चाप पनि दिनप्रति दिन बढिरहेको छ । यही चापका कारण ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ । ट्राफिक व्यवस्थापन चुस्त नहुँदा सडक दुर्घटना पनि बढेका छन् । वीरेन्द्रनगरमा दैनिकजसो साना तथा ठूला दुर्घटना भइरहेका छन् । बढ्दो चाप र दुर्घटना न्यूनीकरणका लागि मंगलगढी चोकमा आकाशे पुल निर्माण थालिएको छ । यात्रुहरूको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण गर्न लागिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नगर गौरवका आयोजनाअन्तर्गत आकाशे पुल निर्माण योजना अघि बढाएको छ ।

यो वर्ष पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । ठेक्का सम्झौता भइ काम अघि बढाइएको छ । २०८२ पुस २६ देखि २०८३ जेठ ३१ गतेसम्म निर्माण गरिसक्नेगरी सम्झौता गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र अर्जुन कन्स्ट्रक्सन काठमाडौंबीच ठेक्का सम्झौता गरिएको हो । भ्याटबाहेक ९९ लाख ९३ हजारमा आयोजनाको ठेक्का सम्झौता गरिएको हो । यसको सफल रूपमा प्रयोग भएको खण्डमा अन्य स्थानमा पनि निर्माण गरिने जनाइएको छ । दोस्रो चरणमा यरीचोक, एयरपोर्ट चोकलगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिने योजना नगरपालिकाको छ । व्यस्त रहने मंगलगढीमा आकाशे पुल निर्माण आवश्यक योजनामध्ये एक हो । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनेछ । यात्रुहरूलाई सडक पार गर्न पनि सहज हुनेछ । वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती पनि जडान गरेको छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरू अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आईटी जोन जस्ता शहरी पूर्वाधार निर्माणका काम धमाधम रूपमा अघि बढाइएको छ । वीरेन्द्रनगरले ‘स्मार्ट सिटी’ को लक्ष्य पछ्याउँदै गएको छ । यहाँको भौतिक तथा प्राविधिक विकासले गति लिन थालेको छ । स्मार्ट सिटीका रूपमा विकास गर्न वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग जोड्न थालिएको छ । स्मार्ट सिटीका लागि सहरका क्रियाकलाप तथा गतिविधिीहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जसअन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्न थालिएको छ । यस्तै नगर क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ । स्मार्ट सिटीका लागि आवश्यक पर्ने अन्य आधारभूत पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढेको छ, यसले प्रदेश राजधानीलाई विकसित सहरको रूपमा स्थापित गर्नेछ ।

प्रकाशित मितिः   २९ पुष २०८२, मंगलवार ०५:०३