निर्वाचित जनप्रतिनिधि र प्रस्तावित राजधानी

लामो समयको अन्तरालपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनमार्फत् वीरेन्द्रनगरले पनि जनताले रोजेको गाउँनगर बनाउने, सिगार्ने र विकासको पथमा दौडाउने जनप्रतिनिधि पाएका छन् । वीरेन्द्रनगर नगरपालिका प्रस्तावित प्रादेशिक राजधानी भएको हुनाले पनि निकै चासो र महŒवपूर्ण रूपमा हेरिएको छ । चुनावमा विजय हासिल गरेसँगै नगरका नेतृत्व समाल्न पुगेका देवकुमार सुवेदीको काँधमा ठूलो जिम्मेवारी पनि थपिएको छ । चुनावमा विजयी हुनु र असल नेतृत्व प्रदान गर्नु फरक कुरा हुन् । चुनावमा जित्ने सबैले सही नेतृत्व गर्न सक्छन् भन्ने छैन । यदि त्यसो हुँदो हो त बुटवल नगरपालिका नेपालकै उत्कृष्ट घोषित भइरहँदा वीरेन्द्रनगरको हालत किन यस्तो हुँदो हो । त्यहाँका र यहाँका जनप्रतिनिधि एकै निर्वाचनबाट निर्वाचित भएर गएका थिए । वीरेन्द्रनगर समाल्ने नेतृत्व पनि जनताको नजरमा परीक्षण हुने पालो आएको छ, हेरौं कतिसम्म खरो उत्रन सक्नुहुन्छ त्यो त उहाँहरूको आगामी दिनहरूमा गर्ने कार्य सम्पादनले नै तय गर्नेछ ।

वीरेन्द्रनगरलाई प्रादेशिक राजधानी प्रस्ताव गरिए पनि त्यसको लागि चाहिने पूर्वाधारहरू अप्रर्याप्त छन् । नगरलाई विकास र समृद्घितर्फ उन्मुख गराउँदै राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू तयार गर्नु अहिलेको नेतृत्वको निकै ठूलो जिम्मेवारी रहेको छ । वीरेन्द्रनगरका राजनीतिक दलहरू जितको उन्माद र हारको नैराश्यता लिएर पख्लास् र देख्लास भनेर भन्नु भन्दा पनि वीरेन्द्रनगरलाई कसरी उकृष्ट प्रदेश राजधानी बनाउन सकिन्छ भन्ने कुरामा लाग्नु अहिलेको टड्कारो आवश्यकता हो । भर्खरै निर्वाचित मेयरले अब वीरेन्द्रनगरको गुरुयोजना बनाउँछु भनेर भनेको सञ्चार माध्यमबाट जान्न पाउँदा खुशीको लागेको छ । वुटवल, हेटौडा, इटहरी नेपालकै उत्कृष्ट नगरको रूपमा परिचय बनाइरहँदा हाम्रो वीरेन्द्रनगरको हालत त यहाँका भुक्तभोगी सबैलाई थाहा भएकै कुरा हो ।

राजनीतिक दलका चुनावी घोषणापत्र हेर्दा निकै हाँस उठ्दा र अपत्यारिला पनि थिए । अब धेरै ठूला–ठूला कुराहरू गरेर जनताले विश्वास मान्नेवाला छैनन् किनकी यस्ता आश्वासन सुन्दा–सुन्दा नेपाली जनता वाक्क दिक्क भएका छन्, अब काम चाहिएको छ । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुराहरू गरिबहरूको पहुँच भन्दा बाहिर जाँदैछ । महँगीले आकाश छोएको छ, बजार कालोबजारीहरूको कब्जामा छ । खुला बजार अर्थतन्त्रलाई आत्मसाथ गरे पनि सबैले स्वतन्त्रततापूर्वक प्रतिस्पर्धा गर्न पाउनुपर्नेमा जहाँतही सिन्डीकेटवालाहरूको दबदबा छ । यी समस्याबाट पिल्सिएका जनतालाई प्रशान्त महासागरमा पानी जहाज चलाउने, गाउँ–गाउँमा वाइफाइ पु¥याउने, प्रतिव्यक्ति आम्दानी पाँच हजार डलर पु¥याउने जस्ता वकमफुसे कुराले छँुदैनन् ।

लामो समयसम्म नगर नेतृत्वबिहीन हुन पुग्दा यहाँको सम्पूर्ण काम कारबाही कर्मचारीहरूको हातमा पुग्न गयो । जसले गर्दा उत्तरदायित्व, जिम्मेवारीबहन कसैले गरेन । निर्वाचित जनप्रतिनिधि नभएकै कारण सर्वदलीय संयन्त्रमार्फत् स्थानीय निकायका कामकारबाही सञ्चालन गर्ने भनिए पनि सबै आ–आफ्ना स्वार्थपूर्ति गर्न मात्र लागे, जनताले अनुभव गर्ने खालको काम कसैले गरेन वा गर्न चाहेन । नेतृत्व सफल हुन कर्मचारीतन्त्र पनि त्यस्तै चुस्त दुरुस्त हुन जरुरी रहन्छ । कर्मचारीतन्त्रले नीतिगत निर्णयमा सहयोग गर्ने, राजनीतिक तहबाट भएका निर्णय कार्यान्वयन गर्ने, सबै जनतालाई विकासको समान पहुँच र प्रतिफल वितरणमा सहयोग गर्ने हो तर यहाँ त आफै राजनीतिमा संलग्न हुने, दलाली गर्ने, विचौलिया हुने, भ्रष्टाचारमा लुप्त केही कर्मचारीहरूले गर्दा नै सिंगो कर्मचारीतन्त्रप्रति नै नकारात्मक सोचले जरा गाडेको छ, यो कुरामा पनि अबको नेतृत्वले ध्यान दिनु जरुरी देखिन्छ ।

स्थानीय जनताका चाहना र आवश्यकतालाई उनीहरूकै सहभागिता र जिम्मेवारीमा संचालित कार्यक्रमबाट पूरा गर्न सकिन्छ भन्ने अवधारणामा आधारित रहेको हुन्छ स्थानीय शासन । स्थानीय जनतालाई नै विकास कार्यको छनौट गर्ने अधिकार, उनीहरूलाई नै त्यसमा सहभागी गराउने र लाभको उपभोग गर्न पाउने अवस्था सिर्जना गर्नु स्थानीय शासनको उद्देश्य रहेको हुन्छ । जनताले सधंै परिवर्तन चाहने हुँदा जनताको इच्छा र चाहना अनुसार नेतृत्व चल्न सक्नुपर्छ र आफूलाई परिर्वतन गर्न सक्नुपर्छ । नेपालको संविधानले स्थानीय तहलाई निकै शक्तिशाली बनाएको
छ । नेताहरूकै भाषामा भन्नुपर्दा सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको छ । अब गाउँपालिका र नगरपालिकाले आफ्नो गाउँ–ठाउँका विकासको लागि केन्द्रको मुख ताक्नुपर्ने अवस्था छैन ।

वीरेन्द्रनगरलाई स्मार्ट सिटीको रूपमा विस्तार गर्न सीसी क्यामेरा जडान गरेको कुरा पढ्न पाएको थिए त्यो खुशीको कुरा हो तर त्यतिमात्र प्रयाप्त छैन । नयाँ सूचना प्रविधिको प्रयोग गरी अब विस्तारै सरकार÷नगरबाट प्राप्त हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लैजानु जरुरी छ । जुनसुकै काम गर्दा पनि लाइन बस्ने चलनलाई प्रतिस्थापन गर्नुपर्छ । एउटा मात्र वाणिज्य बैंक हुँदा त्यहाँबाट सेवा लिन कम्तीमा ३–४ घण्टा लाग्ने गरेको छ । वाणिज्य बैंकको एटीएम पनि कहिल्यै राम्रोसँग चलेको पाइएको छैन, त्यसमा पनि ध्यान जाओस् । वीरेन्द्रनगरलाई अब वाईफाई जोनको रूपमा विकास गर्दै लानु जरुरी छ । अब घरमै बसी–बसी पानी बिजुली, टेलिफोन, राजश्व, छोराछोरीका विद्यालयका शुल्क जस्ता महशुल÷बील÷करहरू तिर्न सक्ने व्यवस्था गरिनुपर्छ । प्रस्तावित राजधानी भनिए पनि अहिलेसम्म व्यवस्थित बसपार्क पनि बन्न सकेको छैन । प्रादेशिक राजधानी भएकाले देशैभरका लागि सवारी छुट्ने स्थान भएकाले अहिले जहाँ बसपार्क बन्दै गरेको छ त्यो निकै साँघुरो हुने देखिन्छ त्यसको लागि बेलैमा उचित स्थान खोजी व्यवस्थापन गर्नमा नयाँ नेतृत्वको ध्यान जाओस् ।

नेपालकै प्रमुख सहरहरूमध्ये पर्ने वीरेन्द्रनगर नगरपालिकाको शाखा सडकको त कुरै छोडौं बीच बजार तथा धुलियाविट–बाङ्गेसिमलसम्मको हाइवेको अवस्था यति दयालाग्दो छ भनि साध्य छैन । फोहोर व्यवस्थापनको समस्या त्यस्तै छ, जहाँतही फोहरको डंगुर देख्न पाइन्छ । सवारीसाधन अनुसारको सडक विस्तार नहुँदा पनि होला जहाँतही ट्राफिक जाम, आजभोलि झन् यो ईरिक्सा (अटोरिक्सा) ले झनै ट्राफिक जाम गरेको छ यसलाई पनि व्यवस्थापन गर्न जरुरी छ । स्वास्थ्य, शिक्षा, खानेपानीको उचित व्यवस्था हुन जरुरी छ । अव्यवस्थित सहरीकरणले गर्दा वीरेन्द्रनगर उपत्यकाको अनुहार नै कुरूप देखिन थालेको छ । गुरुयोजना बनाएर व्यवस्थित सहरीकरणमा जोड दिनुपर्दछ । धान फल्ने खेतहरूमा धमाधम कंक्रिटका घरहरू फल्दैछन् यसले गर्दा खाद्यान्न उत्पादन गर्ने जग्गामा कमी आउन गइपछि खाद्यान्नको समस्या आउन सक्ने हुँदा बेलैमा यस विषयमा पनि सोच्न जरुरी देखिन्छ ।

अन्तमा संसारकै सफा सहर ओस्लो (नर्वे) भनेर पढिरहँदा (कान्तिपुर, १० जेठ) अहिले नै त्यहाँसम्मको कल्पना गर्नु त दिवास्वप्न नै होला । तर आर्थिक स्रोत साधनको व्यवस्थापन, समुदाय परिचालन गर्दै वीरेन्द्रनगरलाई सेवा र प्रशासनका दृष्टिले स्वच्छ, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित भएको, आकर्षक सहरका साथै सबै जनताले आफ्नौ दैनिक जीवनमा आइपर्ने धेरै काम मोबाइलबाटै गर्न पाएको खुशी केही समयमा नै देख्न पाइने आशा गरौं । जनताले आफ्नो मतको कदर गर्दै नेतृत्व चल्न सक्यो भने अर्कोपटकलाई पनि मौका दिनेछन् नत्र फेरी नयाँ खोज्ने त जनताको विशेषता नै हो । हामी सबैले परिकल्पना गरेको नगर र प्रादेशिक राजधानी बनाउन सबै निर्वाचित पदाधिकारीहरू लागि परुन् सफल कार्यकालको शुभकामना ।