पैसा नहुँदा उपचार नपाएरै विरामी घर फिर्ता

आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि स्वास्थ्य उपचारमा राज्यले सहुलियतको घोषणा गरेको छ । तर कर्णालीका नागरिकका लागि राज्यले घोषणा गरेको यो सहुलियत केवल कागजमा सीमित हुन पुगेको छ । अहिले पनि कर्णालीका बिरामीले आर्थिक अभावकै कारण अस्पतालबाट उपचार नपाइ फर्कनुपर्ने बाध्यता छ ।

सामान्यदेखि गम्भीर प्रकृतिका बिरामीहरू आर्थिक अभावका कारण उपचार गर्नबाट वञ्चित भइरहेका छन् । अर्कोतर्फ सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधिकोसमेत मूल्य तिर्नुपर्ने भएपछि बिरामीलाई उपचारमा मुस्किल भएको हो । आर्थिक अभावकै कारण बिरामीहरू भर्ना नभएर फर्किनुपर्ने बाध्यता छ । कर्णालीको सबैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्यून आर्थिक अवस्था भएका परिवारहरूले अहिले सहुलियतमा स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।

घरमा दुई छाक जोहो गर्न नसक्नेका लागि जिल्ला अस्पतालको विस्थापनपछि उपचार गर्न पाउने अवसर पनि गुम्दै गएको छ । सामान्य उपचार गर्न आउँदासमेत शुल्क महँगो भएकोले कतिपय अवस्थामा उपचार नगरेरै फर्किने गरेको सर्वसाधारणहरूको गुनासो छ । जिल्ला अस्पतालमा निःशुल्कमा उपचार हुने रोगहरूको अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महँगो पर्ने भएका कारण उपचारमा समस्या भएको स्थानीयको भनाइ छ । गोठीचौरका धनमल सुनार बुधवार बिहानै आफ्नी नातिनीको उपचारका लागि खल्तीमा दुई सय रूपैयाँ बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगे । एक हप्तादेखि गाला सुनिएकी दुई वर्षीया नातिनीको नाम दर्ता गरेर उपचारका लागि बेडमा पु¥याउँदा त्यहाँका कर्मचारीको जवाफले सुनारको सातो गयो ।

रगत र पिसाब जाँच, भिडियो एक्सेरे, बेड चार्ज, सलाइन पानीको चार्ज लगायतको करिब तीन हजार बढी तत्कालीन उपचार खर्चको हिसाब सुनाएपछि उनी छाँगाबाट खसे जस्तै भए । राम्रोसँग कान पनि सुन्न नसक्ने धनमलले खल्तीमा भएको दुई सय रूपैयाँले उपचार नहुने भएपछि डाक्टरसँग हारगुहार गरे । डाक्टरले पैसा बिना उपचार हुन नसक्ने बताएपछि एक हप्तादेखि सिकिस्त बिरामी नातिनी विनिता सुनारलाई अस्पतालबाट फर्काउन उनी बाध्य भए । गाउँमा रोपाइँको काम चलेकाले नातिनी ल्याएर आएका उनको सदरमुकाममा चिनजानको कोही नभएपछि उपचार बिना नै फर्किए । ‘प्रतिष्ठानमा आर्थिक अवस्था राम्रो नभएकाले उपचार पाउनै मुस्किल छ, यसअघि पनि मैले धेरै बिरामीहरू ल्याउँदा देखेको छु,’ स्थानीय होटल व्यवसायी खड्कजीत रोकायाले भने ।

स्थानीयस्तरमै उपचार गराउने आशा बोकेर प्रतिष्ठानमा आउने न्यून आय भएका बिरामीहरूले धेरै सास्ती भोग्नुपरेको सर्वसाधारणहरू बताउँछन् । ‘पहिले जिल्ला अस्पताल हुँदा समान्य खालका रोगको उपचार सस्तोमै हुन्थ्यो,’ रोकायाले भने, ‘तर जिल्ला अस्पताललाई विस्थापित गरेर सिंजामा राखिएको छ, अहिले सामान्य उपचारका लागि पनि निकै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि जिल्ला अस्पतालाई पनि कुनै ठाउँमा नयाँ व्यवस्थापनका साथमा राख्न सकिने जिल्लाका जानकारहरूको भनाइ छ । यस्तै अस्पतालमा उपचारका लागि आउने नर्सहरूको व्यवहार पनि राम्रो नभएको उपचार गर्न आउने बिरामीहरूको भनाइ छ । बिरामीहरूलाई रुखो व्यवहार गर्नुका साथै सेवा भन्दा पनि बोझ माने जस्तो व्यवहार गर्ने गरेको बिरामीको गुनासो छ ।

यता स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आफूहरूले आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहुलियतमा उपचार गर्दै आएको दाबी गरेको छ । उपचारका लागि आउने बिरामीको आर्थिक अवस्था हेरि सिफारिस अनुसार सहुलियत र केहीलाई निःशुल्कसमेत उपचार गराउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीका अनुसार अस्पतालमा चिकित्सकहरूलाई आर्थिक अवस्थाको बारेमा जानकारी नहुने भएका कारण कहिलेकाहीँ बिरामी फर्किनु परेको बताए । अस्पताललाई जानकारी भएसम्म सहुलियत र निःशुल्करूपमा उपचार गर्दै आएको दाबी उनले गरे । अन्यत्र जिल्लाका भन्दा सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको प्रतिष्ठानको दावी छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७४, शुक्रबार ११:२३