उपाधिका लागि एबीसी र वीरेन्द्रनगर भिड्ने

वीरेन्द्रनगरमा सञ्चालित जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिको लागि एबीसी युवा क्लब र वीरेन्द्रनगर स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरेन्द्रनगर स्पोर्टस् क्लबले  विहीवार भएको सेमिफाइनलमा शिद्धपाइला स्पोर्टस् क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै एबीसीसँगको उपाधि भिडन्त पक्का गरेको हो । एबीसी भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

पहिलो हाफको १५ औं मिनेटमा कमल गुरुङको गोलबाट अग्रता लिएको वीरेन्द्रनगरका लागि गुरुङले नै ५४ औं मिनेटमा दोस्रो गोल थपे । निरज रानाले ५७ औं मिनेटमा एक गोल गर्दै शिद्धपाइलालाई खेलमा फर्काउने कोसिस गरेपनि त्यो सम्भव भएन ।

साथी खोर्के युवा क्लबलाई पराजित गर्दै एबीसीले बुधवार नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ । विजेता टिमले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । उपविजेताले भने २५ हजार पाउने छ ।