‘सरकार चुनाव गराउन चाहँदैन’

सुर्खेत: नेकपा (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले नै चुनाव गराउन नचाहेको बताएका छन् । वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप उनले लगाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए । उनले भने, ‘पहिला दल देखाइयो तर अहिले सरकार आफै अन्यौलमा छ ।’ सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ । ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसार गर्न वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ ?’ उनले प्रश्न गरे । चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको टिप्पणी थियो ।
मुख्यमन्त्री कँडेलले एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधैँ सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे । तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले संविधानको रक्षा, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे। ‘नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ’ उनले भने ।
प्रकाशित मितिः २० पुष २०८२, आईतवार ११:२२
साझा बिसौनी ।