दीर्घरोगीलाई उपचारमा सहुलियत

सुर्खेत: दीर्घरोगीहरूलाई उपचारमा सहुलियत दिने कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीहरूलाई सहुलियत दिने गरिएको छ ।

सरकारले विपन्न नागरिक उपचार निर्देशिका २०८१ जारी गरेर उपचारमा सहुलियत दिइरहेको छ । कार्यक्रम निकै प्रभावकारी भएको भएपनि बजेट न्यूँन हुँदा अपेक्षित रूपमा नागरिक समेटिन सकेका छैनन् । प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरेको उक्त कार्यक्रम गतवर्षबाट थप प्रभावकारी बनेको हो । उपचार सहुलियतबारे नागरिकलाई जानकारी हुन थालेपछि कार्यक्रमको प्रभावकारिता बढेको छ । अहिले सेवा लिन आउने नागरिकको संख्या दिनप्रतिदिन बढ्दो छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि बिरामीहरूलाई उपचारमा सहुलियत योजना अघि सारिएको प्रदेश सरकारले जनाएको छ । दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई मेजर अप्रेसन गर्दा मात्र उपचार सहुलियत दिने गरिएको छ । सरकारले वास्तविक र मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई मात्र केन्द्रित गरेर उपचारमा सहुलियत दिने गरेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई मात्र उपचार सहुलियत दिने गरिएको शाहीको भनाइ छ । उनका अनुसार गत वर्षहरूमा जिल्लागत रूपमा उपचार सहुलियत दिने गरिएको थियो । जिल्ला–जिल्ला अनुसार फरक–फरक रकम दिइएको हो । दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रूकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीलाई ३० हजारका दरले यातायात सहुलियत दिने गरिएको उनले बताए । गतवर्षबाट उपचार सहुलियत निर्देशिका जारी गरेर उपचार सहुलियत वितरण प्रर्णालीलाई प्रभावकारी बनाइएको हो ।

पछिल्लो समय क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका हुन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । चालु आर्थिक वर्षमा क्यान्सर रोगीका बिरामीलाई उपचारमा सहुलियतका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेट निर्देशनालयले कार्यान्वयन गर्नेछ । अन्य मुटु, मृगौला प्रत्यारोपण, स्पाइनल इन्जुरी, (प्यारालाइसिस) का बिरामीहरूलाई उपचारमा सहुलियतका लागि पनि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त रोगका बिरामीले समेत मेजर अप्रेसन गर्नका लागि मात्र सहुलियत पाउनेछन् । अघिल्ला वर्षहरूमा सामान्य यातायात खर्च मात्र व्यवस्थापन गर्ने गरेको प्रदेश सरकारले उपचारको प्रकृति अनुरूप बजेट बढाएर कार्यान्वयन गर्न लागेको छ ।

कर्णालीमा क्यान्सर रोग बढ्दो

कर्णालीमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा दैनिक तीन÷चार जनामा क्यान्सर रोग देखा पर्ने गरेको छ । दैनिक चेकजाँचका क्रममा १०÷१२ जना क्यान्सर रोगका बिरामी फेला पर्ने गरेको प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले बताए । सामान्य लक्षण देखिएका बिरामीलाई सम्बन्धित स्थानमा पु¥याउने काम भइरहेको उनको भनाइ छ । अन्य दिर्घ रोगको तुलनामा यो रोगल बढी नै देखिएको उनको भनाइ छ । खानपानकै कारण क्यान्सर रोग बढिरहेको उनले जनाए ।

विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर रोग धेरै फैलिने गरेको छ । ‘यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन्,’ पौडेलले भने, ‘होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन ।’ उनले अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने उल्लेख गरे । ६५ प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको र ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको डा. पौडेलले जानकारी दिए । ६० वर्षभन्दा माथिकामा क्यान्सर रोग देखिने गरेको छ । यसबाहेक सुर्तीजन्य, मादक पदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता कारणले पनि रोग देखिने गरेको छ । सरकारले अहिलेसम्म यसबारे ठोस योजना निर्माण गरेर कार्यान्वयन गर्न सकेको छैन ।

प्रकाशित मितिः   २० पुष २०८२, आईतवार ११:१९