आयोजना अघि बढ्ने अपेक्षा

पूर्वाधार विकासमा हुने ढिलासुस्ती नौलो होइन । त्यसमाथि ठूला आयोजनाहरू निर्माण प्रक्रियामै वर्षौ अल्झिने गरेका अनेक उदाहरण छन् । जलविद्युत आयोजनाहरूको अवस्था अझ जटिल हुने गरेको छ । विवाद र स्रोत सुनिश्चिततामा अल्झिएर अलपत्र पर्दै आएका छन् । यद्यपि, चार सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको छ । पीपीएको टुँगो लागेसँगै आयोजनाको टेण्डर प्रक्रिया अघि बढाइनेछ । पीपीए नभएसम्म वित्तीय व्यवस्थापन नहुने भएकाले लगानीका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको जनाइएको छ । पीपीए भएपछि वित्तीय व्यवस्थापनको काम अघि बढ्नेछ ।

अनुमति पत्रका लागि बेतन कर्णालीले २०७८ फागुन १० मा विद्युत विकास विभागमा निवेदन दिएको थियो । तर २०८२ असार १५ मा मात्रै अनुमति पत्र पाएको हो । विभागका तत्कालीन महानिर्देशक नवीनराज सिंहले आयोजनाले कागजात नबुझाउँदा लाइसेन्स प्रक्रियामा ढिलाइ भएको बताएका थिए । २०८० पुस १७ मा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत भएको र बेतनको नेटवर्थसम्बन्धी कागजातसमेत २०८१ साउनमा मात्रै विभागमा पेस गरिएको विभागले जनाएको छ । बेतन कर्णालीको बाँधप्रति भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले आपत्ति जनाएपछि उत्पादन अनुमति पत्रमा ढिलाइ भएको थियो । माथिल्लो कर्णालीबाट उत्पादनपछि पानी पुनः कर्णाली नदीमा खसाल्ने टेलरेसलाई बेतन कर्णालीको जलाशयले डुबाउने भन्दै जीएमआरले चासो राख्दै वन तथा वातावरण मन्त्रालयमा निवेदन दिएपछि दुई परियोजनाबीच विवाद देखिएको थियो । बेतनको जलाशयको पानीको उच्चतम सतह (फुल सप्लाई लेभल–एफएसएल) र माथिल्लो कर्णालीको टेलरेसको अन्तिम बिन्दु एक आपसमा जुध्ने भन्दै जीएमआरले लगानी बोर्ड, विद्युत विकास विभाग तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बोधार्थसहित वन तथा वातावरण मन्त्रालयमा २०८० मंसिर ५ मा निवेदन दिएको थियो । यसबाट माथिल्लो कर्णालीको विद्युत उत्पादनसहित अन्य प्राविधिक पक्षमा पनि असर पुग्ने भन्दै जीएमआरले मन्त्रालयलाई पत्र लेखेको थियो ।

अछाम र सुर्खेतमा पर्ने बेतन कर्णाली परियोजनामा एक सय ४० मिटर अग्लो बाँध प्रस्ताव गरिएको छ । बाँध निर्माणपछि माथिल्लो क्षेत्रमा १६.१६९ करोड घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको जलाशय निर्माण हुनेछ । यो जलाशय पुरै भरिँदा एफएसएल समुद्री सतहबाट चार सय ७३.३० मिटर हुनेछ । माथिल्लो कर्णालीको टेलरेसको तल्लो बिन्दुलाई समुद्री सतहबाट ४७३.३० मिटर आधार मानी डिजाइन गरिएकाले माथिल्लो कर्णालीको टेलरेस डुबानमा नपर्ने बेतन कर्णालीको दाबी थियो । तर माथिल्लो कर्णालीले बेतन कर्णालीको जलाशयका कारण आफ्नो टेलरेस डुब्ने दाबी गर्दै सरकारी निकायमा पत्राचार गरेको थियो । लगानी बोर्डको समन्वयमा उक्त मुद्दा समाधान भएको छ । योसँगै आयोजना अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १८ पुष २०८२, शुक्रबार १०:५१