पर्यटकको पर्खाइमा गिद्धेडाँडा

सुर्खेत: एक हजार सिँढी उक्लिएर पुगिने अग्लो चुचुरो । डाँडैमा सिद्धेश्वर महादेवको मन्दिर । उत्तरतर्फ हेर्दा देखिने सेताम्मे हिमाल अनि दक्षिणतर्फ बाँके र बर्दियाका विशाल फाँटको मनोरम दृश्यावलोकन । मनै लोभ्याउने यो ठाउँ हो, भेरीगंगा नगरपालिका–५ लेकभ्यालीस्थित गिद्धेडाँडा ।

सरकारले नै नेपालका एक सय वटा पर्यटकीय गन्तव्यमा समावेश गरेको गिद्धेडाँडा पर्यटकहरूको पर्खाइमा बसेको छ । उचित प्रवद्र्धन र प्रचारप्रसार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ ।

गिद्धेडाँडा सुर्खेतको सुन्दर प्राकृतिक गन्तव्य हो । डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । उत्तरतर्फ सिस्ने हिमाल तथा दक्षिण क्षेत्रबाट बाँके र बर्दियाका फाँट हेर्न सकिन्छ । हिमश्रृंखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न सक्दछ । गिद्धेडाँडाबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको स्थानीय राधा रावतले बताइन् । प्राकृतिक रूपमा जति सुन्दर छ, धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

डाँडामा रहेको सिद्धेश्वर महादेवको मन्दिरमा पुग्नेहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यद्यपि, पर्याप्त पूर्वाधारको विकास र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

गिद्धेडाँडासम्म पुग्नको लागि व्यवस्थित सडक आवश्यक देखिन्छ । त्यसका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको वडाध्यक्ष प्रेमबहादुर सारुले बताए । कच्ची सडक पुगेको छ । त्यो पनि अव्यवस्थित छ । गिद्धेडाँडासम्म पुग्नका लागि पदमार्ग निर्माणको काम भने भइरहेको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर काम भइरहेको वडाध्यक्ष सारुको भनाइ छ ।

आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख खर्चेर सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा साढे तीन लाखमा घरेबार गरिएको थियो भने २०८०/०८१ मा प्रतिक्षालय निर्माण गरेको थियो । संघीय र प्रदेश सरकारले समेत गिद्धेडाँडा संरक्षणका लागि पूर्वाधार निर्माण गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पदमार्गका लागि करिब एक करोड लागतमा एक हजार सिढी निर्माण गरिएको छ । तीन तहकै सरकारको प्राथमिकतामा गिद्धेडाँडा संरक्षणको योजना परेपनि पर्याप्त पूर्वाधार भने बन्न सकेका छैनन् ।

सडकसहित अन्य पूर्वाधार निर्माण गरेको खण्डमा पर्यटकहरूको रोजाइ बन्न सक्ने अर्का स्थानीय धर्मजीत थापाले बताए । उनले व्यवस्थित सडक बन्न सकेको खण्डमा यात्रुलाई सहज हुने जनाए । दुरीका हिसाबले छिञ्चुबाट करिब १५ किलोमिटर मात्र छ । तर कच्ची र कठिन सडकका कारण नागरिकले त्यहाँसम्म पुग्न हैरानी खेप्नु परिरहेको छ ।

यो वर्ष पनि संघीय सरकारले उक्त पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । स्थानीय पूर्वाधार कार्यालयले तीन करोड र सहरी विकास तथा भवन डिभिजन कार्यालयमा तीन करोड बजेट रहेको भेरीगंगा नगरपालिकाले जनाएको छ । जेन–जी आन्दोलनका कारण बजेट भने यथावत रहेको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । उक्त बजेटबाट भौतिक संरचना निर्माण, गिद्धेडाँडासम्म पुग्नका लागि सडक निर्माणका लागि बजेट विनियोजन भएको हो । गिद्धेडाँडासम्म बाह्य तथा आन्तरिक पर्यटकलाई जोड्न सडक सञ्जालको पहुँच विस्तारको योजना राखिएको नगरप्रमुख ढकालले जानकारी दिए । गिद्धेडाँडा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न भन्दै उनले प्रदेश सरकार र पालिकाको साझेदारीमा सडक निर्माण गर्न लागिएको जनाए । यो वर्ष प्रदेश र स्थानीय सरकारको एक करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले देशभरका एकसय ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेकोमध्ये गिद्धेडाँडा पनि एक हो । तर सोही अनुरूपको प्रचारप्रसार र पूर्वाधार नहुँदा पर्यटक भिœयाउने लक्ष्य हासिल हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा सूचि सार्वजनिक गरेको थियो ।

प्रकाशित मितिः   १८ पुष २०८२, शुक्रबार १०:४९