सकियो पर्यटन महोत्सवः दश करोडको कारोबार

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ माघ । 
वीरेन्द्रनगरमा सञ्चालन भएको राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव सम्पन्न भएको छ । पर्यटन विकास मञ्च सुर्खेतले आयोजना गरेको महोत्सव आइतवार सम्पन्न भएको हो । पुस २३ गतेदेखि सञ्चालन भएको महोत्सवमा करिब १० करोड रूपैयाँ बराबरको आर्थिक करोबार भएको आयोजकले जानकारी दिएका छन् । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक हरिप्रसाद अधिकारीले यसपालीको महोत्सव आफूहरूले अपेक्षा गरे बमोजिम सफल भएको बताए । 
११ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गरेका छन् । विभिन्न घरेलु तथा लघुउद्यम सम्बन्धी साढे तीन सय स्टल रहेको महोत्सवमा १० करोडभन्दा बढीको कारोबार भएको बताइएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न मनोरञ्जन प्रदान गरेको महोत्सवमा यसपाली थारु भिलेज मुख्य आकर्षकका रूपमा रहेको थियो । 
हरेक वर्ष महोत्सव गर्दै आएको मञ्चले यसपटक करोबार भएको महोत्सवको आय–व्यय अबको एक साताभित्र सार्वजनिक गर्ने जनाएको छ । संयोजक अधिकारीले भने, ‘महोत्सव हामीले अपेक्षा गरे अनुसार नै सफल भएको छ, महोत्सवको सबै हिसाबकिताब अबको एक साताभित्र सार्वजनिक गर्नेछौं ।’ साथै उनले विगतका महोत्सवको तुलनामा यस पटकको महोत्सव भिन्न रहेको भन्दै आम्दानीको रकम पर्यटन विकासमा लगानी गर्ने बताए । उनका अनुसार तत्काल सरोकारवालासँग समन्वय गरेर जिल्लाको पर्यटन गुरु योजना निर्माण गरिनेछ । यस्तै पर्यटन मञ्चका अध्यक्ष चिन्तामणि शर्माले सबैको सहयोगका कारण महोत्सव सफल भएको प्रतिक्रिया दिए । 
महोत्सव समापन समारोहमा बोल्दै सांसद सीता नेपालीले महोत्सवले जिल्लाको आर्थिक अवस्थालाई चलायमान बनाएको बताइन् । मेला र महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न टेवा पु¥याउने भन्दै उनले पर्यटन महोत्सवले त्यसलाई सहयोग पु¥याएको उल्लेख गरिन् । साथै उनले आउँदा दिनमा समेत यस्ता मेला र महोत्सवहरू सञ्चालन गर्नुपर्ने बताइन् । 
महोत्सव आयोजक मूल समितिका संयोजक हरिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक प्रमोद खरेलले आफ्नो प्रस्तुतीमार्फत् दर्शकलाई नचाएका थिए । खरेलले गीत गायपछि दर्शकहरूको भीड थाम्न सुरक्षाकर्मी र स्वयम्– सेवकहरूलाई हम्मेहम्मे परेको थियो । 
यस्तै महोत्सवको अन्तिम दिन स्थानीय कलाकारहरूले समेत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । समापन समारोहमा महोत्सवलाई सहयोग पु¥याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान गरिएको थियो । सो 
अवसरमा सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतीले जिल्लाको पर्यटन विकासमा महोत्सवले महŒवपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
प्रकाशित मितिः   ४ माघ २०७२, सोमबार ११:४०