कहिलेसम्म टहरामा ?
जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको तीन वर्ष बित्यो । तर भूकम्पका कारण घरबास गुमाएकाहरु तीन वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुमपश्चिममा एक सय ५४ जनाको ज्यान गएको थियो । अहिले भूकम्पबाट बाँचेकाको पनि बिचल्ली भएको छ । पुनर्निर्माणमा सरकारले ध्यान नदिँदा यस्तो अवस्था आएको हो । सुरुमा उद्धार, राहत र अस्थायी आवास निर्माणमा तीव्रता दिएको सरकारले पुनस्र्थापना र पुनर्निर्माणमा गरेको ढिलाइले अझै पनि कतिपय नागरिकले अस्थायी आवासबापतको दोस्रो किस्ताको रकमसम्म पाउन नसकेको गुनासो गरिरहेका छन् ।
पीडित परिवारहरु सरकारले दिएको अस्थायी आवासबापतको रकमबाट बनेको एक कोठे टिनको छानोमा कठ्याग्रिँदा रात काट्न बाध्य छन् । अझ धेरैले त अहिलेसम्म राहतको दोस्रो किस्ता पाएका छैनन् । अस्थायी आवासका लागि पहिलो किस्ता पाएको भएपनि दोस्रो किस्ता नपाएको गुनासो उनीहरुको छ । नलगाड नगरपालिका वडा नं. १ मात्र ८७ घरपरिवारले दोस्रो किस्तावापतको राहत रकम पनि पाएका छैनन् । संघीय सरकारले अझै पालिकाका करिब नौ सय परिवारलाई दोस्रो किस्ताको रकम दिन बाँकी छ । व्यक्तिका घर निर्माणमा विलम्ब हुँदा नागरिक अझैपनि टहरामा बस्न बाध्य बनेका हुन् । हिउँद लागेसँगै यस वर्षको चिसोयाम कसरी काट्ने भन्ने गाउँभरि चिन्ता बढ्न थालेको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक संरचना निर्माण गरिएपनि नागरिकका बासस्थान बनिसकेका छ्रैनन् ।
आर्थिक वर्ष २०८०/०८१ मा गएको भूकम्पबाट धेरैले ज्यान गुमाए भने बाँचेकाहरु पनि तीनवर्ष बितिसक्दा पनि टहरामा बस्न बाध्य हुनु परिरहेको छ । २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको तथ्यांक छ । जाजरकोटमा मात्रै एक सय एक र रुकुममा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको हो । घाइते हुनेहरुमा जाजरकोटका एक सय ५८, रुकुमपश्चिमका दुई सय दुई, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी तीन सय ७२ घाइते भएका छन् । पुनर्निर्माणमा ढिलाइ हुँदा नागरिकलाई सास्ती भइरहेको छ ।
प्रकाशित मितिः ७ पुष २०८२, सोमबार ०५:०३
सम्पादकीय ।