बालगृहको दुरूपयोग
कर्णालीमा दर्जन बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पुरा गरेका छैनन् । प्रक्रिया नै पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजाराँै बालबािलका आश्रित छन् । वीरेन्द्रनगर नगरपालिकाले मापदण्ड पूरा नगरेका बालगृह बन्द गर्ने जनाएको छ । अहिले त्यस्ता सञ्चालनमा रहेका बालगृहको खोजी भइरहेको छ । केही वर्षअघि नगरपालिकाले मापदण्ड पूरा नगरेका विभिन्न बालगृहबाट बालबालिका झिकेर केहीलाई अभिभावकको जिम्मा लगाएको थियो भने ४१ वटा बालबालिका काठमाडौंको बालगृहमा पठाएको थियो । बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८२ का अनुसार कर्णालीका दुईवटा बालगृहले मात्र नेपाल सरकारको बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ पुरा गरेको पाइएको छ ।
कर्णाली प्रदेशमा १२ वटा बालगृह छन् । तीमध्ये दुईवटाले मापदण्ड पूरा गरेका छन् भने राष्ट्रिय बाल अधिकार परिषद्बाट ६ वटा बालगृहले सञ्चालन अनुमति प्राप्त गरेका छन् । बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदनका अनुसार नेपालभर तीन सय ६६ बालगृह सञ्चालनमा रहेका छन् । ती मध्ये राष्ट्रिय बालअधिकार परिषद्बाट दुई सय सात बालगृहले सञ्चालन अनुमतिपत्र प्राप्त गरेका छन् । आठ वटा संस्थाले स्वयम् बालगृह बन्द गरेका छन् । बालगृहको दुरुपयोग भइरहेको पाइएको छ । अभिभावकविहीन बालबालिकाका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइन्छ । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रुपमा बालगृहमा राख्न सकिने व्यवस्था छ । तर पहुँचका भरमा बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको हो । हिमाली नविन समाजले सार्वजनिक गरेको विवरण अनुसार ६६ प्रतिशत बालगृहहरु पर्यटकीय गन्तव्य रहेका जिल्लाहरुमा रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र चिवतन जिल्लाहरुमा बालगृहहरु सञ्चालित रहेका छन् । ३३ प्रतिशत बालबालिका बालगृहमा रहेका छन् । एक हजार आठ सय ८२ बालबालिका ती बालगृहमा रहेको जनाइएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् कर्णाली प्रदेशले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदनअनुसार हाल बालगृहमा आश्रय लिएका बालबालिकामध्ये २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको उल्लेख गरेको छ । बाँकी ७८ प्रतिशत बालबालिकालाई बालगृहको आवश्यकता नपर्ने सोही प्रतिवेदनले जनाएको छ । कर्णालीमा रहेका विभिन्न बालगृहमा करिब ६० प्रतिशत बालबालिका आमा वा बाबु दुईमध्ये एक जना भएका बालबालिका बस्ने गरेको पाइएको छ । राज्यको नीतिविपरित बालबालिका बालगृहमा राख्ने गरिएको हो । आर्थिक विपन्न, अपाङ्गता भएका र दुर्गम क्षेत्रका आमाबाबुले छोराछोरीलाई सहरका राम्रा विद्यालयमा पढाउने रहरले बालगृहमा राखिदिने गरेका छन् । यो बालगृहको उद्देश्यभन्दा बाहिर गएर गरिएका काम हुन् ।
प्रकाशित मितिः ११ पुष २०८२, शुक्रबार ११:३९
सम्पादकीय ।