दुर्गममा दूर चिकित्सा सेवा
सुर्खेत: जाजरकोटकी कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो । उपचारका लागि परिवारले उनलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पु¥याए । अस्पतालका चिकित्सकले कल्पनाको अवस्था सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे । विशेषज्ञको सल्लाहअनुसार एक हप्तासम्म निगरानीमा राखी औषधोपचार गरेपछि कल्पनाले अहिले पूर्ण स्वास्थ्य लाभ प्राप्त गरेकी छन् ।
यस्तै, कालीकोटका धर्मराज शाहीलाई पनि छालामा देखिएको रोगले लामो समयदेखि हैरान बनाएको थियो । उपचारका लागि परिवारले उनलाई जिल्ला बाहिर लैजाने तयारी गरिरहेका थिए । त्यसभन्दा पहिला उनी जिल्ला अस्पताल पुगे, अस्पतालका चिकित्सकले धर्मराजको अवस्था सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे । विशेषज्ञको सल्लाहअनुसार उनी १५ दिनमै औषधोपचार गरेपछि निको भए ।
प्रदेश अस्पताल सुर्खेतले थालेको यो सेवा प्रभावकारी बन्दै गइरहेको छ । दुर्गममा विशेषज्ञ सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा सुरु गरिएको छ । कर्णालीका पाँच जिल्लामा दूर चिकित्सा सेवा सुरु गरेको हो ।
भौगोलिक रूपमा विकट रहेको कर्णालीमा यो सेवा प्रभावकारी बन्दै गइरहेको छ । दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्ने काम भइरहेको प्रदेश अस्पतालले जनाएको छ । मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुँदै गइरहेको प्रदेश अस्पतालका दूर चिकित्सा फोकल पर्सन नरेन्द्र चन्दले बताए । उनले कर्णालीका पाँच वटा जिल्ला अस्पतालहरूलाई यो सेवामा जोडिएको जानकारी दिए । सरकारी अस्पतालबीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न दूर चिकित्सा सेवा सञ्चालन गरिएको हो ।
प्रदेश अस्पताल सुर्खेतले २०७७ वैशाख ७ गतेबाट दूर चिकित्सा सेवा सुरु ग¥यो । गत आर्थिक वर्षबाट कर्णालीका पाँचवटा जिल्ला अस्पतालमा पनि यो सेवा विस्तार गरिएको छ । दूर चिकित्सा विस्तार भएसँगै प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । अहिलेसम्म कर्णालीका एक हजार आठ सय जनाले यो सेवा लिएको चन्दले जानकारी दिएका छन् ।
कर्णालीका दुर्गम भूभाग, अदक्ष जनशक्ति र औषधिको अभावले विगतमा लाखौँ खर्च गरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौंहुँदै भारतका लखनउजस्ता सहर पुगेर उपचार गर्न बाध्य भएका नागरिक अहिले भने आफ्नै जिल्लामा राहत अनुभव गरिरहेका छन् । कर्णालीका दुर्गम जिल्लामै बसेर उनीहरूले विशेषज्ञ सेवा पाइरहेका हुन् । यो सेवाबाट सबैभन्दाबढी छालारोगीले लाभ लिएको प्रदेश अस्पतालले जनाएको छ । कर्णाली प्रदेशका पाँच जिल्ला मुगु, हुम्ला, डोल्पा, जाजरकोट र कालीकोटमा जिल्ला अस्पतालबाट नागरिकले यो सेवा लिइरहेका छन् ।
चालु आर्थिक वर्षबाट यो सेवालाई थप व्यवस्थित गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । स्थानीय तहहरूले धमाधम रूपमा करारका कर्मचारी हटाएका छन् । नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन यो सेवा प्रभावकारी हुने जनाइएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र छाँया नेपालको साझेदारीमा विभिन्न उपकरणमार्फत यो सेवा दिने काम भइरहेको छ ।
प्रकाशित मितिः ९ पुष २०८२, बुधबार ११:०३

साझा बिसौनी ।