सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन

 

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–११ की आशिका ढकाललाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उनलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो ।

धर्मा कार्कीको पीडा पनि उनको जस्तै थियो । उनी पनि दृष्टिविहीन छन् । कहीँकतै बाहिर जानु परे उनलाई परिवार वा साथीभाइको सहारा लिनुपर्ने बाध्यता रहेको थियो । आफन्त, परिवार तथा घरभित्र हुने सामान्य काममा समेत उनीहरूलाई सहभागी हुन समस्या रहेको थियो । पछिल्लो पटक दृष्टिविहीनका लागि आयोजना गरिएको तीनदिने सेतो छडी प्रयोगसम्बन्धी तालिमपछि भने आशिका र धर्माजस्ता दृष्टिविहीनमा उत्साह सिर्जना भएको छ । अब सेतो छडीको माध्यमबाट हिँड्डूल गर्न र बाटो काट्न सहज भएको छ ।

वीरेन्द्रनगरमा आयोजित तीनदिने तालिम लिएपछि जीवनमा धेरै सहज भएको उनीहरूको भनाइ छ । सो तालिममा दृष्टिविहीनलाई सेतो छडीको माध्यमबाट बाटो काट्न सडकमै लगेर प्रयोगात्मक अभ्यास गराइएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले दृष्टिविहीनको जीवन वास्तवमै पीडादायक रहेको बताउँदै तालिमपछि वितरण गरिएको सेतो छडीले जीवनलाई सहज बनाउन सहयोग पुग्ने बताइन् । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका यज्ञप्रसाद देवकोटाले तालिमबाट दृष्टिविहीनको दैनिक जीवनमा गर्नुपर्ने घरायसी काम तथा सडक यात्रामा सेतो छडी प्रयोग फलदायी भएको बताए ।

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको थियो । तीनदिने तालिम समापनको दिन प्रशिक्षार्थीलाई वितरण गरिएको सहायक सामग्री सेतो छडी प्रयोग गरी बाटो कसरी काट्ने भन्ने विषयमा सडकमा ल्याएरै अभ्यास गराइएको थियो । तालिममा करिब २० जनालाई सहायक सामग्री छेतो छडी वितरण गरिएको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मीले बताइन् ।

प्रकाशित मितिः   ८ पुष २०८२, मंगलवार १०:०६