महिला नेतृत्व बढाउन सम्मेलन

सुर्खेत: कर्णालीमा महिला सम्मेलन गरिएको छ । नेतृत्वमा महिलाहरूको सहभागिता बढाउने उद्देश्यले सम्मेलन गरिएको हो ।
कर्णाली प्रदेशका दश वटा जिल्लाका महिलालाई क्षमता विकास गरी नेतृत्वमा पु¥याउन सम्मेलनको आयोजना गरिएको सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतले जनाएको छ । देशमा व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको र महिलाको अस्तित्व र क्षमतालाई अझै पनि विभिन्न बाहानाबाट पछाडि पार्ने काम भएको जनाउँदै नेतृत्वमा महिला अभियान सुरु गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको वामका अध्यक्ष देवि पौडेलले बताइन् । उनले भनिन्, ‘पितृसतात्मक सामाजिक संरचनाले व्यवस्था बदलियो, तर महिलाप्रतिको धारणा र अवस्था भने बदलिन सकेन अब नेतृत्वमा महिला पु¥याउनका लागि यो अभियाना सुरु गरेका हौँ ।’
सम्मेलन सोमवार र मंगलवार दुई दिन चल्नेछ । सम्मेलनमा विभिन्न सवालमा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसमाथि खुला छलफल गरिएको छ । लैङ्गिक उत्तरदायी शासन प्रणाली, विकासमा लैङ्गिक समावेशिता विषयमा अधिकारकर्मी माया सापकोटाले सहजीकरण गरेकी थिइन् । नीति निर्माण तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता र न्यायमा पहुँच विषयमा अधिवक्ता विवेचना खनालले सहजीकरण गरिन् ।
महिलामाथि हुने लैङ्गिक हिंसा, भेदभाव र कर्णालीको अवस्थाका विषयमा प्रतिमा परियारले समूहमा छलफल तथा प्रस्तुतीकरण गरेकी थिइन् । सम्मेलनले कर्णाली घोषणापत्र जारी गर्ने वामका कार्याकारी निर्देशक मधुरानी ढकालले बताइन् । लैङ्गिक उत्तरदायी शासन प्रणाली, विकासमा लैङ्गिक समावेशिताबारे जानकारी दिने, नीति निर्माण तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउन सामुहिक प्रयासको थालनी गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा, भेदभाव न्यूनिरकणका लागि स्पष्ट मार्गनिर्देशन तय गर्ने जनाइएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा लैङ्गिक समानता कायम गर्न र नेतृत्व तहमा अर्थपूर्ण सहभागिता प्रर्वद्धन गर्न पहल र पैरवीका लागि ‘लैङ्गिक समानता तथा नेतृत्व प्रर्वद्धन सञ्जाल’ गरिने, सम्मेलनमा भएका छलफलका विषयहरू दस्तावेजको रूपमा प्रदेश सरकार तथा सरोकारवाला निकायहरूमा पेस गरिने जनाइएको छ । लैङ्गिक समानता, महिला सशक्तिकरणको क्षेत्रमा सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश हुनेगरी सरकारलाई ध्यानाकषर्ण गराइनेछ ।
प्रकाशित मितिः ८ पुष २०८२, मंगलवार १०:०४
साझा बिसौनी ।