कर्मचारी कटौतीको प्रभाव
संघीय सरकारले आर्थिक व्ययभार कम गर्न करार सेवाका कर्मचारी कटौती गर्ने योजना ल्यायो । जसअनुसार स्थानीय सरकारले धमाधम करार कर्मचारी कटौती गरे । तर यसको प्रत्यक्ष असर सेवा प्रवाहमा देखिन थालेको छ । स्थायी दरबन्दीअनुसारका कर्मचारी नहुँदा सार्वजनिक सेवा प्रभावित भएका छन् । प्राविधिक क्षेत्र बढी प्रभावित भएका छन् । कतिसम्म भने स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका १२ वटा स्वास्थ्य संस्था बन्द भएका हुन् । नगरपालिकाले साउन १ देखि करार सेवाका कर्मचारीको म्याद थपिदिएन । म्याद नथप्दा नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकाका कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐन अनुरुप करारका कर्मचारी हटाइएको छ । जसको प्रभावले नगरपालिकाका १२ वटा स्वास्थ्य सेवा केन्द्र बन्द भएका हुन् । कर्मचारी हटाउँदा कार्यसम्पादनमा निकै समस्या भएको पालिकाहरुले जनाएका छन् । शिक्षा र स्वास्थ्यतर्फका कर्मचारी नभएपछि कार्यसम्पादनमा निकै समस्या भइरहेको हो । गाउँ–गाउँमा स्वास्थ्य सेवा पू¥याउने उद्देश्यले खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकलेसास्ती खेप्नुपरेको छ । ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका छन् । नगरपालिकाको वडा नं. १, वडा नं. ३, वडा नं. ४, वडा नं. ६, वडा नं. ८ र वडा नं. १० मा रहेका आधारभूत स्वास्थ्य केन्द्र बन्द भएका छन् । यस्तै, वडा नं. ६, वडा नं. ८, वडा नं. ७, वडा नं. ९ र वडा नंं. १० मा रहेका सामुदायिक स्वास्थ्य इकाई पनि बन्द भएका छन् ।
कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाएका छन् । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारी पालिकाहरूले हटाएका हुन् । कर्मचारी हटाउँदा कार्यसम्पादनमा भने असर देखिन थालेको हो । पञ्चपुरी नगरपालिका प्रतिनिधि पालिका मात्र हो । यहाँको जस्तो समस्या कर्णालीका अन्य पालिकाहरूमा पनि देखिन थालेको छ । आन्तरिक आम्दानी न्यून हुँदा पालिकाहरुले आफ्नै श्रोतबाट कर्मचारी राख्न सकेका छैनन् । जसले सेवा प्रवाहमा समस्या देखिएको छ ।
प्रकाशित मितिः २ पुष २०८२, बुधबार ११:५४
सम्पादकीय ।