बेलगाम कर्मचारी
सरकारी कर्मचारी जनताका सेवक हुन् । राज्यले दिएको जिम्मेवारी र जनताप्रति उनीहरू उत्तरदायी हुनै पर्दछ । सरकारले बनाएका ऐन नियम तथा आचारसंहिताको पालना गर्नु पनि उनीहरूको कर्तव्य हुन आउँछ । तर सुर्खेतमा रहेका थुप्रै सरकारी कार्यालय र त्यहाँ कार्यरत कर्मचारीहरूले यसलाई पालना नगरेको पाइएको छ । कार्यालयहरूको अस्तव्यस्तता, कर्मचारीहरूको मनपरी र गैरजिम्मेवारीपूर्ण कार्य सार्वजनिक भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमन र निरीक्षणका क्रममा सरकारी निकायभित्र हुने गरेका गलत कार्यहरू फेला परेका हुन् । जुन विडम्बनापूर्ण हो । अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइयो । कार्यालय समयमा अधिकांश कर्मचारी कार्यालय बाहिर घाम तापेर बसेको दृश्यले उनीहरूको कामप्रतिको वेवास्तापन प्रष्ट हुन्छ । कर्मचारीहरूले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने गरेको, सरकारी पोशाक विना नै कार्यालयमा आउने गरेको र अनावश्यक रूपमा काजमा जिल्ला बाहिर जाने गरेको गुनासोका आधारमा राष्ट्रिय सतर्कता केन्द्रको टोलीले मंगलवार जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा छापा मारेको थियो । एकाएक टोली कार्यालयमा पुगेपछि अधिकांश कार्यालयका कर्मचारीहरूलाई आफैलाई सम्हाल्न हम्मेहम्मे परेको थियो । अधिकांश कार्यालयका कर्मचारीहरू समयमा नै हाजिर भएका थिएनन् भने कतिपय कर्मचारीहरू हाजिर लगाएर बाहिर निस्केका थिए । टोलीले कार्यालयमा उपस्थित नभएका कर्मचारीहरूको हाजिरमा रातो चिन्ह लगाइदिएको छ भने सरकारी कर्मचारीको पोशाक नलगाएर कार्यालयमा आएका कर्मचारीहरूलाई सचेत गराएको छ ।
सतर्कता केन्द्रले जिल्लामा रहेका विभिन्न २० वटा सरकारी कार्यालयमा छापा मारेको थियो । टोलीले क्षेत्रीय स्तरका कार्यालयहरू शिक्षा, सडक, पशु रोग अन्वेषण, अनुगमन तथा सुपरीवेक्षण कार्यालय, सिँचाइ, पशु सेवा, स्वास्थ्य, कृषि र वन निर्देशनालयमा छापा मारेको हो । यस्तै जिल्लास्तरका कार्यालयहरू मालपोत, नापी, जिविस, नगरपालिका, विद्युत प्राधिकरण, जिल्ला प्रशासन, स्वास्थ्य, वन, टेलिकम र पशु सेवा कार्यालयमा समेत टोलीले छापा मारिएको थियो । सो क्रममा ती कार्यालयमा रहेका ४१ जना कर्मचारी अनुपस्थित रहेको पाइयो । यस्तै अधिकांश कर्मचारीले सरकारी पोशाक नलगाएको, हाजिर खाली छोडेको, हाजिर लगाएर बाहिर गएको, विना कारण काजमा गएको र कार्यालयमा ढिला आएको फेला प¥यो । त्यतिमात्र होइन कार्यालयका उच्च कर्मचारीहरू नै कार्यालयमा अनुपस्थित रहेको पाइए पछि सरकारी कार्यालयको अवस्था छताछुल्ल भएको हो । अनुगमनका क्रममा क्षेत्रीय अनुगमन कार्यालयका प्रमुख विनोदकुमार अग्रवाल, क्षेत्रीय अस्पतालका प्रमुख डाक्टर मिश्रीलाल शाह र विनोदकुमार खेतान, क्षेत्रीय शिक्षाका उपनिर्देशक भक्तबहादुर खड्का, क्षेत्रीय कृषिका पुष्पराज वेल्वासे, मेघराज थापा, भरतबहादुर बस्नेत र क्षेत्रीय वनका उप–सचिव अनिरुद्र ठाकुर गयल भएको पाइएको थियो ।
अधिकांश कर्मचारीहरू काजमा गएको पाइएको छ । जनतालाई सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीहरूले यो सरासर लापरवाही हो । सतर्कता केन्द्रले गरेको अनुगमनले सरकारी कार्यालयका कर्मचारीहरूलाई सचेत बनाएको छ । यद्यपि यत्तिले मात्रै पुग्दैन जिम्मेवारी पूरा नगर्नेहरूलाई ऐन नियमले तोके बमोजिमको कारवाही हुनैपर्दछ । अब केन्द्रले यसका लागि कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ । यद्यपि उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिने जनाएको छ । यो सँगसँगै अनुगमन कार्यलाई समेत निरन्तरता दिन जरुरी छ । समय–समयमा गरिने यस्ता निरीक्षण र अनुगमनले आफ्नो जिम्मेवारी भुलेर गैरजिम्मेवार बनेका कर्मचारीहरूलाई नियमन गर्न सहयोग पुग्दछ ।
साझा बिसौनी संवाददाता ।