एमाले सचिवमा कँडेलको उम्मेदवारी

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा (एमाले)को सचिव पदमा उम्मेदवारी दिएका छन् । एमालेको जारी ११औँ महाधिवेशनमा कँडेलले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् । कर्णालीबाट एमालेको पदाधिकारीमा उम्मेदवार हुने उनी पहिलो नेता बनेका छन् ।
कँडेल यसअघि स्थायी कमिटी सदस्य थिए । दशौँ महाधिवेशनमा पनि उनले सचिवमा आकांक्षा देखाएका थिए । तर ओलीले आफ्नो टिममा सचिवको उम्मेदवार नबनाएपछि उनी केन्द्रीय सदस्य बने । यसपटक भने ओली समूहबाटै सचिवको उम्मेदवार भएका छन् ।
कँडेलको प्रस्तावकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटा समर्थक छन् । चुनाव जितेमा कँडेल कर्णालीबाट एमालेको पदाधिकारी तहमा पुग्ने पहिलो नेता हुनेछन् । यसअघि कर्णालीबाट कोही पनि एमालेको पदाधिकारी तहमा पुगेको छैन । कँडेलले नै सबैभन्दा सिनियर नेता हुन् । हुम्लाका गोरख बोगटी पनि स्थायी कमिटी सदस्य छन् ।
बोगटीले पनि सचिवमा दावी गरेका थिए । तर ओलीले कँडेललाई उम्मेदवार बनाएपछि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसअघि अन्य सबै प्रदेशबाट पदाधिकारीमा प्रतिनिधित्व हुँदा पनि कर्णालीबाट नभएको भन्दै एमाले नेतृत्वको आलोचना हुने गरेको थियो । यसपटक पदाधिकारी सुनिश्चित गर्न कर्णालीका एमाले नेताहरूले पटक–पटक अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई भेटेर दबाब दिएका थिए । अन्ततः नौ जना सचिव पदका लागि ओली समूहबाट कँडेलले उम्मेदवार हुने अवसर पाएका छन् ।
यसैबीच एमालेको नेतृत्व चयनका लागि दुई प्यानलबीच मतदान हुने भएको छ । अध्यक्षमा ओलीसँग ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् । महाधिवेशनले अध्यक्षसहित १९ जना पदाधिकारी र तीन सय एक जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन् । महासचिवमा शंकर पोखरेल छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुविर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् । सचिवमा यामलाल कँडेलसहित पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत रहेका छन् ।
ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा अरुण नेपाल, परशुराम मेघी, गोकर्ण विष्ट, रघुजी पन्त, विन्दा पाण्डे छन् । महासचिवमा सुरेन्द्र पाण्डे छन् भने उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ भट्टराई छन् । सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठलगायत छन् । यो महाधिवेशनले १९ जना पदाधिकारी र तीन सय एक जना केन्द्रीय सदस्य चयन गर्नेछ । आज (मंगलवार) मतदान हुँदैछ ।
प्रकाशित मितिः १ पुष २०८२, मंगलवार १६:३०
साझा बिसौनी ।