करार कर्मचारी कटौतीले स्वास्थ्य केन्द्र नै बन्द
सुर्खेत: स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका १२ वटा स्वास्थ्य संस्था बन्द भएका हुन् ।
नगरपालिकाले साउन १ देखि करार सेवाका कर्मचारीको म्याद थपिदिएन । म्याद नथप्दा नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् । नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकाका कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐन अनुरूप करारका कर्मचारी हटाइएको नगरप्रमुख लालविर भण्डारीले बताए । जसको प्रभावले नगरपालिकाका १२ वटा स्वास्थ्य सेवा केन्द्र बन्द भएको उनले जानकारी दिए ।
नगरपालिकाको आन्तरिक आन्दानी न्यून हुँदा करारका कर्मचारी हटाउनुपर्ने बाध्यता बनेको उनको भनाइ छ । उनले भने, ‘प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐनले स्थानीय सरकारले नियुक्ती गरेका कर्मचारीको सेवा सुविधा सम्बन्धित पालिकाले दिने भनेको छ, पालिकाको आन्तरिक आम्दानी न्यून छ, त्यसैले हामीले पालिकामा कार्यरत करारका कर्मचारी हटाउनु परेको हो ।’ कर्मचारी हटाउँदा कार्यसम्पादनमा निकै समस्या भएको भण्डारीले बताए । शिक्षा र स्वास्थ्यतर्फका कर्मचारी नभएपछि कार्यसम्पादनमा निकै समस्या भइरहेको भन्दै भण्डारीले अहिले नगरपालिकाले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न लागेको जनाए । पालिकाको आन्तरिक आम्दानीले कायम गर्न सकिने गरी ओएनएमको काम अघि बढाइएको उनको भनाइ छ ।
गाउँ–गाउँमा स्वास्थ्य सेवा पू¥याउने उद्देश्यले खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले निकै सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले बताए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।
नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाँउ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे, वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई र वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी बन्द भएका छन् । यस्तै, वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नंं. १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका छन् ।
घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं. १ का धर्मजीत थापाले बताए । घरआगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउनेगरेको उनले सुनाए । गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं. १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।
कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाएका छन् । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारी पालिकाहरूले हटाएका हुन् । धमाधम कर्मचारी हटाउँदा कार्यसम्पादनमा भने असर देखिन थालेको छ । पञ्चपुरी नगरपालिका प्रतिनिधि पालिका मात्र हो । यहाँको जस्तो समस्या कर्णालीका अन्य पालिकाहरूमा पनि देखिन थालेको छ । आन्तरिक आम्दानी न्यून हुँदा पालिकाहरूले आफ्नै श्रोतबाट कर्मचारी राख्न सकेका छैनन् ।
प्रकाशित मितिः १ पुष २०८२, मंगलवार १६:२९

साझा बिसौनी ।