उम्मेदवारमा पुरानै अनुहार
आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनपछि संसद् विघटन भयो । नयाँ नागरिक अन्तरिम सरकार बन्यो । सोही सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको हो । निर्वाचनका लागि धमाधम तयारी अघि बढिरहेको छ । सरकार निर्वाचनको वातावरण बनाउन लागिरहेको छ भने राजनीतिक दलहरु चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् । नेपाली कांग्रेसले त उम्मेदवार छनोट प्रक्रिया नै अघि बढाइसकेको छ । अघिल्ला निर्वाचनहरुमा सबैभन्दा ढिलो उम्मेदार टुँग्याउने कांग्रेस यसपटक भने सबैभन्दा अघि देखिएको छ । तल्लो तहबाटै प्रस्तावित उम्मेदवारहरुको नाम सिफारिस भइरहेको छ । नयाँ राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस भने अधिकांश पुरानै उम्मेदवारहरुका साथमा चुनाव लड्ने संकेत देखिएको छ ।
कर्णाली प्रदेशका अधिकांश जिल्लामा कांग्रेसका उम्मेदवार छनोट प्रक्रिया चलिरहेको छ । पहिलो चरणमा हरेक निर्वाचन क्षेत्रबाट प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरिएका छन् । क्षेत्रीय समितिले निर्णय गरेर जिल्लालाई नाम पठाउँदा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । पुराना नेताहरुलाई नै प्राथमिकतामा राखेर उम्मेदवारका लागि सिफारिस गरिएको छ । जस्तो कि प्रतिनिधिसभातर्फ सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । दुवै क्षेत्रबाट अघिल्ला निर्वाचनमा उम्मेदवार रहेका नेताहरु नै आगामी निर्वाचनका लागि सिफारिस भएका छन् । क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ क्षेत्रीय कार्यसमितिले पूर्णबहादुर खड्काको एकल नाम जिल्लालाई सिफारिस गरेको छ । कांग्रेसको कार्यबाहक सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । २०४८ यता खड्का नै यो क्षेत्रबाट लगातार चुनाव लड्दै आएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी चुनाव लडेनन्, समानुपातिकतर्फबाट सांसद भए । त्यसबाहेक सबै चुनाव उनले यही क्षेत्रबाट लडेका छन् । जसमा एक पटक २०७४ मा पराजित भएका थिए । २०४८, २०५१, २०५६, २०७० र २०७९ मा भने निर्वाचन जिते । उनी पाँचौँ पटक संसदीय निर्वाचन लड्ने भएका छन् ।
यसैगरी सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि पुरानै नेता हृदयराम थानी आगामी उम्मेदवारका लागि सिफारिस भएका छन् । यद्यपि, यसपटक थानीको एकल नाम भने सिफारिस गरिएको छैन । उनीसहित अन्य पाँचजना पनि सिफारिसमा परेका छन् । जसमा थानी सबैभन्दा पुराना नेता हुन् । कांग्रेसको पूर्वकेन्द्रीय सदस्य उनले ६ पटक संसदीय चुनाव लडिसकेका छन् । सुर्खेतमा मात्रै होइन कर्णालीका सबैजसो क्षेत्रबाट पुराना नेतालाई नै उम्मेदवार सिफारिस गरिएको छ । अहिलेको बदलिँदो राजनीतिक परिवेशमा पनि कांग्रेसले पुरानै अनुहार लिएर चुनावमा जाने तयारी गरेको बुझ्न सकिन्छ ।
प्रकाशित मितिः २६ मंसिर २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।