उम्मेदवारको दौडमा पुरानै अनुहार
सुर्खेत: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार हुने भएका छन् । पुराना नेताहरूलाई नै प्राथमिकतामा राखेर उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
कर्णाली प्रदेशका अधिकांश जिल्लामा कांग्रेसका उम्मेदवार छनोट प्रक्रिया चलिरहेको छ । पहिलो चरणमा हरेक निर्वाचन क्षेत्रबाट प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरिएका छन् । क्षेत्रीय समितिले निर्णय गरेर जिल्लालाई नाम पठाउँदा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।
प्रतिनिधिसभातर्फ सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । दुवै क्षेत्रबाट अघिल्ला निर्वाचनमा उम्मेदवार रहेका नेताहरू नै आगामी निर्वाचनका लागि सिफारिस भएका छन् । क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ क्षेत्रीय कार्यसमितिले पूर्णबहादुर खड्काको एकल नाम जिल्लालाई सिफारिस गरेको छ । कांग्रेसको कार्यवाहक सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।
२०४८ यता खड्का नै यो क्षेत्रबाट लगातार चुनाव लड्दै आएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी चुनाव लडेनन्, समानुपातिकतर्फबाट सांसद भए । त्यसबाहेक सबै चुनाव उनले यही क्षेत्रबाट लडेका छन् । जसमा एक पटक २०७४ मा पराजित भएका थिए । २०४८, २०५१, २०५६, २०७० र २०७९ मा भने निर्वाचन जिते । १५औँ महाधिवेशनबाट कांग्रेसको सभापति भएर देशको प्रधानमन्त्री हुने दाउमा रहेका खड्काको एकल नाम सिफारिस भएसँगै सुर्खेतको क्षेत्र नं. १ बाट पाँचौँ पटक संसदीय निर्वाचन लड्ने भएका छन् ।
यसैगरी सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि पुरानै नेता हृदयराम थानी आगामी उम्मेदवारका लागि सिफारिस भएका छन् । यद्यपि, यसपटक थानीको एकल नाम भने सिफारिस गरिएको छैन । उनीसहित अन्य पाँच जना पनि सिफारिसमा परेका छन् । जसमा थानी सबैभन्दा पुराना नेता हुन् ।
कांग्रेसको पूर्वकेन्द्रीय सदस्य उनले ६ पटक संसदीय चुनाव लडिसकेका छन् । २०५१ यताका सबै संसदीय निर्वाचनमा उनी सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसको उम्मेदवार बनेका छन् । जसमा तीन पटक जितेका थिए भने तीन पटक पराजित भए । पछिल्लो पटक २०७९ मा भएको निर्वाचनमा उनी विजयी भएका थिए । थानी सातौँ पटक उम्मेदवार हुने तयारीमा छन् ।
त्यसो त थानीसँगै क्षेत्रीय समितिले यसपटक केही नयाँ अनुहार पनि सिफारिस गरेको छ । जसमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल र बसन्ती बस्नेत छन् । सिफारिसमा परेपनि अन्तिममा थानीले नै टिकट पाउने चर्चा कांग्रेसमा छ ।
सुर्खेतमा जस्तै कर्णालीका अन्य जिल्लाहरूमा पनि धमाधम उम्मेदवार सिफारिस भइरहेका छन् । दैलेखका दुईवटै निर्वाचन क्षेत्रका लागि नाम टुँगो लगाइएको नेपाली कांग्रेस दैलेख जिल्ला सभापति मणीराम रेग्मीले बताए । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ का लागि १३ जनाको नाम सिफारिस गरिएको छ । जसमा सभापति मणीराम रेग्मीसहित खेमराज ओली, खेमराज केसी, गणेश उपाध्याय, नरसिंह मल्ल, पदम मल्ल, नगेन्द्रबहादुर मल्ल, मनोज थापा, सुशिल देउजा, बासना थापा, देवेन्द्र थापा, बखतबहादुर कटुवाल र भुपेन्द्रबहादुर शाही छन् । समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । गणेश श्रेष्ठ, दुर्गा श्रेष्ठ, निर्मला खड्का, मिना थापा, मोहनमाया प्याकुरेल, कुलबहादुर विक र दिपक सोनीलाई सिफारिस गरिएको छ ।
यस्तै, दैलेखकै निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस भएको छ । सिताकुमारी राना, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल र रञ्जना शाहीको नाम सिफारिस गरिएको हो । समानुपातिकतर्फ जानकी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लिलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्यबहादुर विकलाई सिफारिस गरिएको प्रदेश सभापति टंकप्रसाद रिमालले बताए । ठूलो संख्यामा नाम सिफारिस गर्दा दैलेखबाट भने केही नयाँ पुस्ताका र युवाहरूलाई पनि समेटिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुगुबाट प्रत्यक्षतर्फ ऐनबहादुर शाही र खड्गबहादुर शाहीलाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ मिनबहादुर भाम, भीम तिरुवा र केशरकला मल्ललाई सिफारिस गरिएको छ ।
जाजरकोटले बिहीवार जिल्ला कार्यसमितिको बैठकमार्फत उम्मेदवार सिफारिस गर्ने तयारी गरेको जिल्ला सभापति बेदराज सिंहले बताए । हुम्ला र कालीकोटमा पनि उम्मेदवार सिफारिसका लागि छलफल भइरहेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकका साथसाथै राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोहीअनुसार अहिले धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । बिहीवारसम्म जिल्ला–जिल्लाहरूबाट सिफारिस गरेर प्रदेशमा पठाइसक्नुपर्ने नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले जनाएको छ ।
प्रकाशित मितिः २५ मंसिर २०८२, बिहीबार ०५:०५

साझा बिसौनी ।