‘सडक मानव’मुक्त प्रदेश बनाउन आश्रम
सुर्खेत: मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
प्रदेश सरकारबाट निर्माण हुने भवनको लागत अनुमान दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । सरकारले गत आर्थिक वर्षमा पनि सोही हाराहारीमा बजेट विनियोजन गरेको थियो । प्रदेशलाई सडक मानवमुक्त बनाउन लागिएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए । मानवसेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने उनको भनाइ छ । आश्रम भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गरिदिन निर्माण कम्पनीलाई उनले आग्रह गरे । यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता समेत मुख्यमन्त्री कँडेलले जनाएका छन् । कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने कँडेलले बताए । सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको उनको भनाइ छ ।
मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञमार्फत दान संकलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । आश्रमको समयमै भवन निर्माण गर्न सहयोग गर्न अपिल उनले गरेका छन् । भवन निर्माण स्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई उनले अनुरोध गरे । ज्येष्ठ नागरिक हरूका लागि सामुदायिक भावनासहितको मनोरन्जनत्मक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेशलाई ६ वर्षअघि नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो । बेसाहारा, अभिभावकविहीन भइ सडकमा माग्दै जीविकोपार्जन गरिरहेकाहरूलाई घरपरिवार वा आश्रममा पुनस्र्थापित गरेर सहयोगापेक्षी सडक मानवरहित घोषणा गरिएको हो । यो घोषणाको प्रभावकारी कार्यान्वयनका लागि आश्रमको आवश्यकता परेको भन्दै सरकारले भवन निर्माण गर्न लागेको छ । सुर्खेतमा मानव सेवा आश्रम सञ्चालनमा छ । तर यसलाई विस्तार गरेर ठूलो बनाउन लागिएको हो । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगरको वडा नं. ११ को चारकुनेमा सडक मानवको लागि छाना, नाना तथा खानाकोे सुनिश्चितता गर्न भवन निर्माण गर्न लागिएको हो । चारकुनेमा १४ कठ्ठा जग्गा खरिद गरेर भवन निर्माणको काम थालिएको हो । विभिन्न क्षेत्रबाट उठेको सहयोगबाट नै भवन निर्माण गरिनेछ ।
आश्रमको लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पनि पूर्वाधार निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटेर मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको हो । डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने छ । सुरुवातीका वर्षहरूदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । आश्रमको पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ । प्रदेश र स्थानीय सरकारले बजेट नै विनियोजन गरेका छन् ।
मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको थियो । आश्रमले गतवर्ष वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो । जसमा अन्य सरकारी तथा निजी क्षेत्रको सहयोगसहित आश्रम निर्माण हुनेछ । जसले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २० मंसिर २०८२, शनिबार ०५:०१
साझा बिसौनी ।