अलपत्र पूर्वाधार निर्माणलाई प्राथमिकता

सुर्खेत: प्रदेश सरकारले अलपत्र बनेका शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । बेला–बेला भइरहने सरकार परिवर्तन तथा बजेट अभावमा अलपत्र बनेका पूर्वाधार निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना ल्याएको छ । एउटा सरकारले निर्माण थालेका योजना अर्को सरकारले निरन्तरता नदिने हुँदा सयाैँ शैक्षिक पूर्वाधार अलपत्र बनेका छन् । विगतमा प्रदेश सरकारले सुरु गरी निर्माण सम्पन्न हुन नसकेका सामुदायिक विद्यालयका अधुरा भवन पहिचान गरी निर्माण गर्न लागिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । आवश्यकता र निर्माणको अवस्था हेरेर यो वर्ष अधुरा भवन पहिचान गर्न लागिएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । विगतमा सरकारले निर्माण सुरु गरेका धेरै विद्यालय भवन अलपत्र बनेका छन् । अध्ययन गरेर ती काम अघि बढाइने खड्काले जानकारी दिए । अधुरा भवन अलपत्र हुँदा सरकारको लगानी खेर जाने भएकाले पहिचान गरेर शैक्षिक लपूर्वाधार निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समेत विभिन्न जिल्लामा पुगेर सरकारले निर्माण थालेका भवन निर्माण योजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने नीती सरकारले बनाएको बताए । अधुरा भवन पहिचान गरेर सामाजिक विकास मन्त्रालयमा विवरण पठाउन मुख्यमन्त्री कँडेलले जिल्लास्थित कार्यालयलाई भनेका छन् । बढी नै आवश्यक भएका भवन निर्माणको काम सरकारले अघि बढाउने भएको हो । मुख्यमन्त्री कँडेलले समेत अपुरा आयोजना निर्माणमा सरकारले चासो दिएको बताएका छन् । सरकारको लगानी खेर जान नदिन अपुरा आयोजना पुरा गर्ने नीति सरकारले लिएको उनले जनाएका छन् । स–साना आयोजना निर्माणको काम समेत अघि बढाउन सरकारले सहयोग गर्ने उनले बताए ।
यस्तै, कर्णाली प्रदेश सरकारले यो वर्ष तीन सय ९० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागेको छ । यो वर्ष पनि शैक्षिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम अघि बढाइएको छ । यो वर्ष प्रदेशभर साना ठूला गरेर तीन सय ९० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागिएको हो । यसअघि बजेटको स्रोत सुनिश्चितता नहुँदा विद्यालयका भवन अलपत्र पर्ने गरेका थिए । यो वर्ष भने बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने जनाइएको छ । तीन सय ९० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ । आवश्यकताका आधारमा शैक्षिक पूर्वाधार निर्माण गरिने जनाइएको छ । सोही योजनाअनुसार नै ठाउँ–ठाउँमा शैक्षिक पूर्वाधार निर्माण थालिएको छ ।
दर्जनभन्दा बढी क्याम्पसहरूको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । गत वर्षहरूमा बजेटको स्रोत सुनिश्चितता नगरेर पूर्वाधार निर्माणका काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप पूर्वाधार निर्माणको काम सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दर्जनभन्दा बढी क्याम्पसहरूका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सुर्खेतका विभिन्न पालिकाहरूमा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले बताइन् । पछिल्लो समय शैक्षिक पूर्वाधार योजना प्रभावकारी बन्दै गइरहेको छ । सरकारले अपुरा शैक्षिक पूर्वाधारलाई समेत सम्पन्न गर्ने भएको छ । सरकारको लगानी पूरा गर्ने नीति अनुरूप अधुरा योजनालाई पूरा गर्न लागेको हो । मुख्यमन्त्री कँडेलले समेत यस विषयमा चासो दिएका छन् ।
प्रकाशित मितिः १९ मंसिर २०८२, शुक्रबार ०९:५२
साझा बिसौनी ।