चुनावी चर्चाः नयाँ प्रतिनिधि छान्न आतुर नागरिक
सुर्खेत: आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आ–आफ्ना तयारी तीव्र बनाइरहेका छन् । निर्वाचन सफल पार्न सरकार, निर्वाचन आयोग र यससँग सरोकार राख्ने व्यक्तिले उत्तिकै चासोका साथ काम अघि बढाइरहेका छन् भने राजनीतिक दलहरूले समेत आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् ।
यो पटकको निर्वाचनमा नागरिक पनि उत्तिकै चनाखो बनिरहेका छन् । कस्ता जनप्रतिनिधि चयन गर्ने ? कुन उमेर समूहको व्यक्ति चुन्दा देशको विकास हुन्छ ? भन्ने जस्ता विषयले अहिले चोक–चौताराहरूमा चर्चा पाइरहेको छ । शुक्रवार वीरेन्द्रनगरमा भेटिएका हुम्लाको खार्पुनाथ गाउँपालिकाका जनकबहादुर शाहीले युवा नेतृत्व आजको आवश्यकता भएको बताए । पुराना दल तथा नेताहरूले नागरिकको गुनासो सम्बोधन गर्न नसकेको, भष्ट्राचार मौलाएको र नीति अनुरूपको नेतृत्व गर्न नसकेको उनको आरोप रहेको छ ।
यस्तै, कालीकोटका नरेन्द्रबहादुर शाहीले आउँदो निर्वाचन अग्नी परीक्षाको रूपमा सावित हुने बताए । स्वतन्त्र तथा युवा नेतृत्व छनोट गर्नुपर्ने भन्दै उनले जनता पनि सचेत हुनेबेला आइपुगेको जनाए । उनले भने, ‘आजसम्म जुनजुन दललाई आस्था र विश्वास गरेर आफ्नो वा देशको भाग्य सुम्पेका थियौँ, प्रायः सबैले हाम्रो भाग्यसँग खेलबाड गर्न कहिल्यै छाडेनन्, त्यसैले यो पटक मनले छानेको व्यक्तिलाई मतदान गर्ने हो ।’
वीरेन्द्रनगरका कमलप्रसाद उपाध्यायले सक्षम व्यक्तिलाई यो पटक मत दिने बताए । अघिल्ला निर्वाचनमा पार्टीसम्बद्ध दललाई मतदान गर्दा देशनै संकटमा पर्ने अवस्था सिर्जना भएकाले युवा तथा सक्षम व्यक्ति छनोट गर्ने योजना रहेको सुनाए । उनले भने, ‘जनताले दिएको आस्था र विश्वासमाथि घात भयो, जनताको निरीहपनबाट भरपूर फाइदा उठाएर आफू र आफन्तका लागि भोगवलास जुटाउने काम भयो, अब भने सक्षम नेतृत्व छान्ने छौँ ।’
सकिना विकले यसपटक राजनीतिक दललाई नभएर स्वतन्त्र व्यक्ति रोज्ने बताइन् । पुराना पार्टी तथा दलहरूले जनताको समस्या सम्बोधन गर्न नसकेको भन्दै उनले युवा शक्ति अब नेतृत्वमा आउनेपर्ने बताइन् । अहिलेको निर्वाचन जेन–जी आन्दोलनको परिणाम भएको भन्दै युवा नेतृत्व छनोट हुनुपर्ने उनको बुझाइ छ ।
जेन–जी आन्दोलनलाई संस्थागत र लोकतन्त्र सुदृढ गर्नुपर्ने म्यान्डेट फागुन २१ को निर्वाचन भएको सपना भट्टराईले बताइन् । जेन–जीको आन्दोलन संस्थागत र लोकतन्त्र सुदृढ गर्न निर्वाचनमा योग्य उम्मेदवारलाई मत दिने योजना बनाएको उनको भनाइ छ । यो पटकको निर्वाचनमा युवा प्रतिनिधि चयन गर्ने मतदाताहरूले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले पनि आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलहरूले पार्टीका गतिविधिलाई चुनावकेन्द्रित गराउने योजना बनाएका छन् ।
यसपटक कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका हुन् । यसअघिको चुनावमा प्रदेशभर दश लाख ६ हजार आठ सय ३४ पुराना मतदाता थिए । प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि २६ हजारभन्दा बढी नयाँ मतदाता थप भएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मंसिर ५ गतेसम्म रहेको थियो । समय सकिएसँगै नयाँ मतदाताको विवरण सार्वजनिक गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताए । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक) मार्फत २६ हजार ६ सय ३५ मतदाता थपिएको उनले जनाए । यसअघि कर्णाली प्रदेशमा दश लाख ६ हजार आठ सय ३४ मतदाता रहेका थिए ।
प्रकाशित मितिः २० मंसिर २०८२, शनिबार ०५:०६
साझा बिसौनी ।