संसदीय दलबाट शर्माको राजीनामा

सुर्खेत: नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । उनले बुधवार राजीनामा घोषणा गरेका हुन् ।

माओवादी र नेकपा (एकीकृत समाजवादी )सहितका दलहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जनार्दन शर्माले माओवादी त्यागेका थिए । उनी निकट रहेका कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले पनि संसदीय दलको जिम्मेवारी छोडेर जनार्दनतिर जाने चर्चा छ । यद्यपि, उनले संसदीय दलको नेताबाट राजीनामा दिएपनि आफ्नो आगामी राजनीतिक यात्राबाट केही बताएका छैनन् ।

यसैबीच साविकका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशसभा संसदीय दलबीच एकीकरण भएको छ । बुधवार दुई दलको संयुक्त बैठक बसेर एकीकरणको निर्णय गरेका छन् ।

माओवादी र समाजवादीसहितका वामपन्थी दलहरूबिच पार्टी एकता भएपछि प्रदेशसभाका संसदीय दलबीच पनि एकता गरिएको हो । अब दुवै दलको एउटै संसदीय दल हुनेछ । अब ‘नेपाली कम्युनिष्ट पार्टी’ कर्णाली प्रदेशसभा संसदीय दलको रूपमा रहने साविक माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । कर्णालीमा माओवादी केन्द्रका १३ र समाजवादीका एक जना गरी अब एकीकृत दलको सदस्य संख्या १४ पुगेको छ । यद्यपि, संसदीय दलबाट राजीनामा दिएका शर्मा कारबाहीमा परेमा भने नेकपाको सांसद संख्या घट्नेछ ।

संसदीय दल एकीकरणसँगै पदाधिकारी चयन नहुँदासम्मका लागि एकीकरण लगायतका निर्णय, आवश्यक समन्वय र दलको काम कारबाही सञ्चालन गर्ने जिम्मेवारी साबिकको माओवादी केन्द्रका प्रमुख सचेतक जिसीले नै पाएका छन् ।

प्रकाशित मितिः   १८ मंसिर २०८२, बिहीबार ०९:५५