मन्त्री भण्डारीले ल्याए कविता संग्रह

सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कविता संग्रह प्रकाशन गरेका छन् । उनको कविता संग्रह ‘शाश्वत सत्य’ को शनिवार वीरेन्द्रनगरमा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरे, कवि डा. नवराज लम्साल, ओम रिजाललगायतका साहित्यकारहरूले संयुक्तरूपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।

विमोचन कार्यक्रममा लेखक भण्डारीले आम नागरिकका रूपमा आफूले भोगेका र देखेका वास्तविकततालाई कवितामा उतारेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन घिमिरेले शाश्वत सत्य कविताले नेपाली साहित्यमा एउटा इट्टा थपिएको धारणा राखे । कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजीएको भन्दै सर्जक र समाजसेवी भावनाले भरिएको उल्लेख गरे ।

लेकख एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको बताए । त्यस्तै अर्का साहित्यकार ओम रिजालले कविता संग्रहले जीवनका अंध्यारा पक्षहरूलाई पन्छ्याउँदै उज्यालोतर्फ हुनुपर्ने सन्देश दिएको बताए । उनले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरू समेटिएको भन्दै शरीर र आत्माबीच भ्रमित रहेको बताए ।

कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक वासुदेव पाण्डेले शाश्वत सत्य आञ्चलिक कविता संग्रह भएको बताए । कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरिएको बताए । उनले मानव जीवनका हरेक कालखण्डहरूलाई सुन्दर रूपमा उतारिएको, नयाँ पुस्ताले कला र संस्कृतलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे ।

विमोचन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्का, रणसिह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालय निमित्त सचिव जहवारलाल हमालसहित विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १४ मंसिर २०८२, आईतवार ०९:५४