रैथाने बाली संरक्षण गर्न ‘बीउ बैंक’

सुर्खेत: रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक स्थापना गरिने भएको छ । पछिल्लो समय स्थानीय जातका बाली लोप हुने अवस्थामा पुगेपछि कर्णाली प्रदेश सरकारले सामुदायिक बीउ बैंकमार्फत संरक्षणको योजना बनाएको हो ।

कर्णालीका सबै पालिकामा यो कार्यक्रम कार्यान्वयनको योजना अघि सारिएको छ । रैथाने तथा उन्नत जातका बीउ संरक्षण र उत्पादन प्रवद्र्धनका लागि ‘एक पालिका–एक सामुदायिक बीउ बैंक’ को अवधारणा ल्याइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कर्णालीका ७९ वटै पालिकालाई बाली तथा खाद्यन्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखिएको मन्त्रालयका योजना महाशाखा प्रमुख बखत खड्काले बताए । अहिले कार्यक्रममा सामुदायिक बीउ बैंकको वर्तमान अवस्था, आवश्यकता र प्रदेशभर विस्तारबारे विभिन्न सरोकारवालाहरूसँग छलफल भइरहेको उनको भनाइ छ । सबै पालिकामा बीउ बैंक स्थापना आवश्यक देखिएको प्रदेश सरकारले जनाएको छ ।

रैथाने बाली संरक्षणको योजना अनुरूप कार्यक्रम विस्तार गर्न लागिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले एक पालिका–एक सामुदायिक बीउ बैंक अवधारणालाई व्यावहारिक रूपमा लागू गर्न लागिएको बताए । साविक कर्णालीका जिल्लाहरूमा अहिले पनि रैथाने बाली उपलब्ध भइरहेको भन्दै उनले यसबारे थप अध्ययन अनुसन्धान गरेर योजना कार्यान्वयन गरिने बताए । मन्त्री शाहले सरकारका प्रयास मात्र पर्याप्त नहुने भन्दै स्थानीय तह, सहकारी, समुदाय र गैरसरकारी निकायहरूको संयुक्त प्रयासबाट कार्यक्रम अघि बढाइने जनाए ।

दुई बीउ बैंक संघमा आवद्ध

सामुदायिक बीउ बैंक संघका अनुसार देशभर २९ सामुदायिक बीउ बैंकमध्ये कर्णालीमा दुईवटा मात्र संघमा आबद्ध अवस्थामा छन् । रैथाने बीउको अभिलेखीकरण, संरक्षण र उपभोग वृद्धि आवश्यक रहेको संघका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले बताए । बीउ बैंकले किसानको आयआर्जन तथा स्थानीय जैविक विविधता संरक्षणमा ठूलो योगदान गरिरहेको उनको भनाइ छ । अहिले कर्णालीका बीउ बंैक संघमा आवद्ध भएको भन्दै यसको विस्तारमा सरकारले जोड दिनुपर्ने जनाए ।

जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित हाँकु सामुदायिक बीउ बैंक कर्णाली प्रदेशकै नमुना बीउ बैंकका रूपमा परिचित बनेको छ । यसले लोपोन्मुख स्थानीय जातहरूको संरक्षण, रातो कोदो र ‘लाल मार्से’ धानको पञ्जीकरण गराउँदै समुदाय तथा बजारमा बीउ आपूर्ति गरिरहेको छ । बीउ बैंककी अध्यक्ष कविता जैसी पराजुलीले संस्थाले बीउ उत्पादन, खरिद–वितरण, समुदायमा आय वृद्धि, कुटानी–पिसानी सेवा र साना कर्जासहितका बहुआयामिक गतिविधि सञ्चालन गर्दै आएको बताइन् ।

बैंकले वार्षिक झन्डै २० लाखभन्दा बढीको कारोबार गर्दै आएको छ । यसको विस्तार गर्न सकेमा निकै लाभ हुनसक्ने उनको भनाइ छ । बंैक स्थापना गरेसँगै ठूलो आर्थिक लाभ हासिल भएको उनको भनाइ थियो । उनले भनिन्, ‘अहिले यसबारे जानकारी दिन थालेको छ, कर्णालीका सबै पालिकामा यसको विस्तार गर्न सके निकै लाभ हुनेछ ।’

यस्तै, दैलेखको दुल्लू पञ्चकोशी समाज सुधार सहकारीले उन्नत तरकारी बीउ उत्पादन गरेर ‘पञ्चकोशी ब्रान्ड’ मा बिक्री–वितरण गर्दै आएको छ । सहकारी अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार यसबाट सदस्यको आय वृद्धि, बचत परिचालन र स्थानीय बाली संरक्षणमा सकारात्मक प्रभाव परिरहेको छ । सहकारीले दुल्लू नगरपालिकाभर कार्यक्षेत्र विस्तार गर्दै नमुना बीउ बैंकका रूपमा विकसित हुने लक्ष्य राखेको उनको भनाइ छ ।

यी कर्णालीमा रहेका दुईवटा बीउ बंैक हुन् । अहिले सरकारले ७९ वटै पालिकामा बीउ बंैक विस्तार गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना अघि बढाइएको हो । अर्गानिक प्रदेशको अवधारणा अनुरूप उक्त योवजना कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०८२, आईतवार ०९:५३