दशौँ खेलकुदको तयारी
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक निर्धारण गरिएको छ । पूर्वनिर्धारित मितिमै गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्षअघि नै सम्पन्न भइसक्ने थियो । २०८१ को मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय भएपनि एक वर्ष बितिसक्दासम्म प्रतियोगिता आयोजना हुन समेत सकेको छैन । पटक–पटक सर्दै आएको प्रतियोगिता आयोजनाका लागि पछिल्लो समय भए वातावरण तयार हुँदै गएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषदले आगामी फागुन पहिलो साता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ । चौथो पटक तोकिएको मितिअनुसार आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि चासो दिएपछि कर्णाली प्रदेश सरकारले पनि सक्रियता देखाउन थालेको छ । लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिएपनि प्रतियोगिता आयोजना हुने प्रदेशकै खेलकुद निकाय पदाधिकारीविहीन रहेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । चौतर्फी दबाबपछि प्रदेश सरकारले खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएको छ । विगत ११ महिनादेखि खेलकुद परिषद् पदाधिकारीविहीन छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको चार वर्षे कार्यकाल २०८१ पुस ६ गते सकिएको थियो । त्यसयता नयाँ पदाधिकारी नियुक्त नहुँदा परिषद् कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । सरकार फेरबदल र राजनीतिक भागबण्डा नमिल्दा परिषद पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबीच भागवण्डाको लडाइँले लामो समयसम्म परिषद् पदाधिकारीविहीन भयो भने परिषद्का प्रशासनिक कामहरु ठप्प हुन पुगे । कतिसम्म भने अन्तिम चरणमा पुगिसकेको वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको काम नै रोकियो । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकेको हो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि चाहिने प्रमुख संरचनाले नै पूर्णता नपाएपछि संघीय सरकारले पनि पूर्वाधारको कमजोरी देखाउँदै पटक–पटक प्रतियोगिता सारेको थियो । अब भने सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरेको छ । परिषद्को सदस्य सचिव छनोटका लागि दरखास्त आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएमा प्रदेश गौरवको रंगशालासहित अन्य खेलपूर्वाधार निर्माणले तीव्रता पाउने अपेक्षा गरिएको छ । जसले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको वातावरण समेत निर्माण गर्नेछ ।
प्रकाशित मितिः १२ मंसिर २०८२, शुक्रबार १०:५५
सम्पादकीय ।