बालविवाह रोक्न विमर्श

सुर्खेत: कर्णालीमा बालविवाह रोक्न विमर्श गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालविवाह तथा यसका मुद्दाहरूमा प्रदेशस्तरीय विचार विमर्श गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले चेतनाको अभावका कारण बालविवाह थप बढ्दो क्रममा रहेको बताए । स्थानीय सरकारसँगको सहकार्यमा सचेतना अभियानका कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन लागिएको उनले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर हुनु, रहन–सहन र देखासिकीका पनि कारण बालविवाह बढिरहेको पाइएको उनले बताए । अहिले समाजको यथार्त चित्रण हुनेगरी बालविवाह न्यूनिकरण गर्न रणनीति योजना निर्माण गरिएको समेत मन्त्री भण्डारीले जानकारी दिए ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सरकारले गरेका हरेक कार्यक्रम टोलटोलसम्म पु¥याउनुपर्नेमा जोड दिए । जसका लागि नीति बनेको छ उसैले जानकारी नपाउँदा सरकारका कार्यक्रम प्रभावकारी बन्न नसकेको उनको भनाइ थियो ।
प्रदेश मामिला समितका सभापति कल्याणी खड्काले बालविवाहका कारण घरेलु हिंसा बढेको बताइन् । बनेका नीतिबारे नागरिक अनविज्ञ हुँदा बालविवाहको कहाली लाग्दो दृश्य देखिन थालेको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य रनसिंह परियारले दलित समुदायमा बालविवाहको दर डरलाग्दो देखिएको बताए । पछिल्लो समय प्रविधिका कारण थप बालविवाह बढिरहेको उनको भनाइ छ । अधिकारकर्मी बसन्त श्रेष्ठले बालविवाह न्यूनिकरण गर्न सबैको ऐक्यवद्धता आवश्यक रहेको बताए । बनेका ऐननियमबारे नागरिकलाई सचेतनामूलक कार्यक्रम गरेर जानकारी दिनुपर्नेमा उनको जोड थियो ।
बालविवाह विरुद्ध साझा अभियानका कार्यक्रम संयोजक चेतन गिरीले बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान गरिरहेको बताए । प्रदेश सरकारले निर्माण गरेको बालविवाह विरुद्धको रणनीति योजना अनुरूप प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नेगरी योजना निर्माण गरिएको उनको भनाइ छ । कार्यक्रममा विज्ञ मधुसुधन दवाडीले बालविवाहको अवस्था र अन्त्यको पाटो विषयमा प्रस्तुति दिएका थिए । सामाजिक विकास मन्त्रालयको आयोजना, कर्णाली प्रदेश सभा तथा युएन युमन र आवाजको सहकार्यमा बालविवाह रोक्न प्रदेश स्तरीय छलफल गरिएको हो ।
प्रकाशित मितिः १२ मंसिर २०८२, शुक्रबार १०:५४
साझा बिसौनी ।